प्रधानमन्त्री ओलीको तेस्रो ‘हेमोडायलासिस’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको ‘हेमोडायलासिस’ गरिएको छ । काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको तेस्रोपटक हेमोडायलासिस गरिएको हो ।

यसअघि पनि ग्रान्डी अस्पतालमा नै दुई पटक हेमोडायलाइसिस गरिएको थियो । गत कात्तिक १२ र १३ मा क्रमशः पहिलो र दोस्रो पटक हेमोडायलासिस गरिएको थियो । अस्पतालले शनिबारै जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाह, ग्रान्डी मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रा.डा. प्रेमराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । चिकित्सकहरूले जारी गरेको विज्ञप्तिअनुसार उपचारपश्चात प्रधानमन्त्री ओली शनिबारै निवास फर्किने बताइएको छ ।

गत कात्तिक १२ र १३ मा गरिएको डायलाइसिसका क्रममा राखिएको स्टेन्ट निकाल्नका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे मन्त्रीहरूलाई जानकारी गराएका थिए । शनिबार अस्पतालमा उक्त डायलाइसिसका क्रममा राखिएको स्टेन्ट निकालिएको छ । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा फेरेको मिर्गौला फलोअप यसअघि भारत र सिंगापुरमा गर्दै आएका थिए ।

स्वास्थ्य राज्यमन्त्री वीरको भिआइपी क्याबिनमा
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव वीर अस्पतालमा भर्ना भएका छन् । ढाडको नसासम्बन्धी समस्या बढेपछि उनलाई शुक्रबार बेलुकाबाटै वीर अस्पतालको भिआइपी क्याबिनमा राखिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार राज्यमन्त्री यादवको स्वास्थ्य उपचारमा डा. राजीज झा नेतृत्वको टिम खटेको हो । एक हप्तादेखि सामान्य ढाड दुख्ने समस्या खेपेका राज्यमन्त्री यादव शुक्रबार भने असाध्यै दुखेपछि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । उक्त अस्पतालमा भएको परीक्षणले नसामा समस्या देखिएपछि वीरमा पुगेका हुन् ।

प्रतिक्रिया