कुराकानी पनि रेकर्ड गरिँदै

काठमाडौं । इँट्टाभट्टामा जिउँदै जलाएको अभियोगमा पूर्पक्षमा थुना पठाइएका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई नख्खु कारागारमा राखिएको छ । उनलाई सुरक्षा चुनौतिका रूपमा हेरिएपछि अदालतले नै सके गौर कारागार नभए अन्य ठाउँमा राख्न आदेश दिएको थियो ।

जिल्ला अदालत रौतहटको आदेश लगत्तै आलमलाई शुक्रबार राति नै काठमाडौं ल्याइएको हो । प्रहरीका अनुसार गौर कारागारमा सुरक्षा व्यवस्थामा चुनौति हुन सक्ने देखिएपछि राति नै गाडीमा राखेर उनलाई ललितपुरस्थित नख्खु कारागार पठाइएको हो । आलमलाई नख्खु ल्याएपछि अहिले त्यहाँको सुरक्षा व्यवस्था निक्कै कडा बनाइएको छ ।

सुरक्षा चुनौतिलाई मध्यनजर राख्दै कारागारले आलमका हरेक कुरा रेकर्ड गर्ने व्यवस्था मिलाएको छ । नख्खु कारागार प्रमुख सुरेन्द्र पौडेलले आलमको सुरक्षा व्यवस्था निक्कै कडा बनाइएको जानकारी दिए । ‘आलमले आफन्त तथा कारागारभित्र अन्य कैदीबन्दीसँंग गर्ने संवाद र कुराकानीको समेत रेकर्ड बस्ने गरी सुरक्षाव्यवस्था मिलाइएको छ’, उनले थपे, ‘आफन्त परिवारका सदस्य र निजी वकिलबाहेक कसैसँंग भेटघाट गर्न दिइएको छैन ।’

आलमसँंग आफन्त परिवारका सदस्य र उनकै वकिलबाहेक अन्यसँंग तत्कालका लागि भेटघाटमा समेत रोक लगाइएको छ । प्रमुख पौडेलले आलमलाई अन्य सामान्य कैदी जस्तै गरी राखिएको स्पष्ट पारे । नख्खुमा ज्यान मार्नेदेखि चोरीका घटनामा संलग्न कैदीहरू रहने गरेका छन् । उनलाई पनि सामान्य कैदीसरह राखिएको हो । आलमले जेलभित्र गर्ने हरेक गतिविधि सिसी क्यामेरामा कैद रहने छ भने संवादहरू रेकर्डबाट सुन्न सकिने व्यवस्था गरिएको छ ।

अदालतमा आलमका विरुद्ध साक्षी र बयान दिएकाहरूले आफूहरूलाई सुरक्षा चुनौति भएको उल्लेख गरेका थिए । उनीहरूले सुनुवाईका क्रममा पनि आलम पक्षका व्यक्तिहरूबाट पटक पटक ज्यानमार्ने धम्कीसम्म आएको भन्दै सुरक्षाको माग गरेका थिए । जसका कारण आलमबाट हुन सक्ने सुरक्षा खतरालाई मध्यनजर राखेर सो व्यवस्था गरेको प्रमुख पौडेलले बताए । करिब १२ वर्षअघि संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार आलमले चुनाव जित्नका लागि बम बिष्फोट गराई घाइते समर्थकहरूलाई उपचार गर्नुका सट्टा जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

सो आदेशपछि आलमलाई जिल्लाकै कारागारमा थुनामा राख्दा असुरक्षा हुने भएकाले नख्खु पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । नेपाल– भारत सीमाको १२ किलोमिटर नजिक रहेको राजपुर नगरपालिका वडा नम्बर–४ निवासी आलमको पक्राउसँंगै रौतहट सीमा नाकामा अराजकता तथा अपराधिक गतिविधि बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया