परम्परागत कला कार्यशाला

दोलखा । नेपालमा प्रचलित थाङ्का तथा पौभा कलाको विकास, संरक्षण तथा संवद्र्धन गर्ने लक्ष्यका साथ ६ दिने कार्यशाला सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत शिल्पकला विभागको आयोजनामा शुक्रबारदेखि चरिकोटमा कार्यशाला सुरु भएको हो ।

कार्यशालाको उद्घाटन गर्दै दोलखाका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले नेपालको मौलिक कलाको विकासमा राज्यले ठोस काम गर्नुपर्ने धारणा राखे । उनले भने, ‘कला र संस्कृति देशको मौलिक पहिचान भएकाले यसको विकास, प्रवद्र्धन र पुस्तान्तरणमा राज्यका सबै निकाय सजगताका साथ लाग्नुपर्दछ ।’ उनले आफूले कलाको मर्मलाई नबुझे पनि आफ्ना सन्तानलाई कलाकार बनाउने विचार गरेको सुनाए ।

उनले भने, ‘मैले मेरा बच्चालाई आर्टिस्ट बनाउनुपर्छ की भन्ने लागेको छ । मेरो पनि कलाप्रति निकै झुकाव छ । तपाईहरूसँग जुन क्षमता छ त्यसको म सम्मान गर्न चाहन्छु ।’ उनले आगामी दिनमा दोलखामा यस्ता कार्यक्रमलाई स्थानीय सरकारसँग समन्वय गरेर ल्याउन पनि आग्रह गरे ।

कलाकार लोक चित्रकारले कलालाई जीवनपद्धतिको रूपमा व्याख्या गर्दै समाजलाई सचेत, गतिशील र समृद्ध बनाउन कलाको भूमिका विशिष्ट हुने बताए । उनले भने, ‘वास्तवमा कलाले हामीलाई जीवनपद्धति कसरी सुखमय बनाउने भनेर सिकाइरहेको हुन्छ । यो सँगसँगै धर्मसंस्कृति कसरी चलाउने र अघि बढाउने भनेर समेत सिकाइरहेको हुन्छ । तसर्थ कलाकारिता कलामात्र नभएर जीवनपद्धति पनि हो ।’

उनले राज्यले कलालाई उपेक्षित गरेको गुनासो गर्दै यसलाई व्यापक बनाउनका लागि कला शिक्षामा विशेष ध्यान दिनुपर्ने बताए । उनले थपे, ‘शिक्षामा यसको प्रवेश छैन । शिक्षामा लगानी भएन भने त्यसले भविष्यमा राम्रो गर्दैन ।’

प्रदेश ३ की प्रदेशसभा सदस्य हिमाली गोलेले आफ्नो देश तथा समाजलाई चिनाउने कार्यलाई निरन्तरता दिइरहेका कलाकारप्रति राज्यले सधै सम्मान गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो देशको धर्म र संस्कृतिलाई स्रष्टाले कला तथा साहित्यमार्फत चिनाइरहनुभएको छ । यस देशको मौलिक पहिचानलाई कलाकारले जुगजुगसम्म जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको छ ।’

उद्घाटन समारोहमा बोल्दै कलाकार निमा लामाले परम्परागत कलाले सांस्कृतिक तथा सामाजिक विषयलाई कलात्मकरूपले उठाउने बताए । प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य तथा शिल्पकला विभाग प्रमुख प्राज्ञ बुद्धि गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा परम्परागत चित्रकला क्षेत्रका स्रष्टाले स्थलगत रूपमा पौभा तथा थाङ्का बनाउने छन् ।

कार्यक्रममा प्राज्ञ गुरुङले देशका विभिन्न ठाउँमा यस्ता गतिविधिलाई समयसापेक्ष ढंगले लैजाने बताए । उनले भने, ‘परम्परागत कला भनेको हाम्रो शास्त्रीय कला हो । पहिले त हामीले संस्कारका लागि परम्परागत कला बनाउँथ्यौँ । समयक्रमसँगै नेपालमा विदेशीको आगमनमा बढोत्तरी हुँदै जान थालेपछि यसको विश्वव्यापी प्रचार हुन थालेको हो । साथै उनीहरूले सांस्कृतिक पहिचान बोकेका थाङ्का, पौभा रुचाउन थाले ।’ प्राज्ञ गुरुङले नेपाली थाङ्का, पौभाको संरक्षण, संवद्र्धन, प्रचारप्रसार गरी जनतामाझ पु¥याउने उद्देश्यले नेपालका ख्यातिप्राप्त कलाकारको कार्यशाला गरिएको बताए ।

कार्यशाला अवधिभर प्रत्येक दिन बेलुकी सहभागी कलाकारको ‘अनुभव र अनुभूति’ विषयमा गोष्ठीसमेत हुनेछ । उक्त कार्यशालामा लोक चित्रकार, उदयचरण श्रेष्ठ, पूर्णप्रसाद ह्योजु, मुक्तिसिंह थापा, शंकरकुमार जोशी, सुन्दर सिंख्वाल, न्हुच्छेकाजी बज्राचार्य, रत्नगोपाल सिंख्वाल, पाल्साङमो लामा, निमा लामा, देवेन्द्र सिंख्वाल, रामप्रकाश श्रेष्ठ, भुमीराज चौलागाईंलगायतका कलाकार सहभागी छन् ।

प्रतिक्रिया