प्रतिष्ठानको सहकोषाध्यक्षमा इश्वरी भुषालको उम्मेदवारी

काठमाडौं । वाद्यवादक इश्वरीप्रसाद भुषालले आगामी मंसिर ६, ७ र ८ गते पोखरामा हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय ७औँ महाधिवेशनको लागि सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित प्रगतीनगर भगवती टोलमा जन्मिएका बाद्यबादक भुषाल बिगत १७ बर्ष अघिदेखि यस कलाकारिता क्षेत्रमा क्रियाशील रहेर काम गरेको जानकारी दिए ।

त्यसै गरी २०५९ सालदेखि यसै प्रतिष्ठानमा आवद्ध रही वरिष्ठ लोक गायक प्रजापती पराजुलीको कार्यकाल र दुर्गा रायमाझीको कार्यकालमा संस्थाको कार्यालय सचिव भएर पनि काम गरेको उनले बताए । त्यस्तै भुषाल ०६२ सालबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको स्थापनाकालदेखि दुई कार्यकाल संस्थापक सदस्य हुँदै एक कार्यकाल सह–कोषाध्यक्ष र कोषाध्यक्ष हुँदै संस्थाको छैठौँ महाधिवेशनबाट केन्द्रिय सदस्यमा प्रवेश गरेका हुन् ।

त्यस्तै कलाकारहरुकै संस्था प्रस्तोता समाज नेपालको पनि निवर्तमान कोषाध्यक्ष रहेको बाद्यबादक भुषालले जनाए । गाउँघरमा हुँदा सानैदेखि हरेक पूजाआजामा भजन, कीर्तन, आरती, नाटक, सांस्कृतिक कार्यक्रममा मजुरा, खैजेरी, मादललगायत विभिन्न बाद्यबादन बजाउँदै र नाच्दै जीवनलाई नै मादलभित्र समाहित गरी यस क्षेत्रमा होमिएका उनि प्रतिष्ठानको हरेक सांस्कृतिक कार्यक्रमहरुमा पनि आफैले बाद्यबादकको संयोजन गरेर कार्यक्रम अघि बढाएकोसमेत भुषालले जिकिर गरे ।

बिगतदेखि नै यस क्षेत्रमा क्रियासिल रहेर जिम्मेवारीको काम सम्हाल्दै आएका उनले एकैपटक ठूलो पदभन्दा क्रमसः सानैबाट अघि बढ्ने बिचारले सह–कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको जानकारी दिए । लामो समयसम्म सांगीतिक क्षेत्रमा रहेर काम गरेकाले प्रतिष्ठानको केन्द्रिय सह–कोषाध्यक्षमा रहेर जिम्मेवारीका सबै काम सम्हाल्न सक्ने पनि भुषालले दाबी गरे ।

‘म यो क्षेत्रमा लामो समयदेखि संस्थाको ठूला जिम्मेवारी काम सम्हाल्दै आएको छु, त्यसैको आधारमा अहिलेको महाधिवेशनमा उठेको हुँ, ‘उनले भने । लोक, आधुनिक र शास्त्रीय विधामासमेत क्रियाशील रहँदै आएका भुषालले दर्जनभन्दा बढी गीतमा नृत्य गरेको पनि जनाए । उनि हाल इमेज टेलिभिजन एवं इमेज एफएममा वाद्यवादक संयोजकको रुपमा पनि कार्यरत छन् ।

प्रतिक्रिया