मधुमेही समाजको आफ्नै भवन बन्ने

काठमाडौँ । नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र–सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

महानगरपालिकाले जमिन र चिकित्सक पाण्डेले भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । समाजको स्थानीय नबहिल, ओमबहालमा समाजको कार्यालय रहेको छ । सोही कार्यालयबाट चिनी रोग (मधुमेह)का बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

समाजद्वारा बिहीबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजका लागि आवश्यकपर्ने जमिन उपलब्ध गराउने जानकारी दिँदै यसका लागि जमिन खोज्न आग्रहसमेत गरे ।

उनले भने, ‘महानगरले स्वास्थ्य सेवा सहजरूपमा उपलब्ध गराउन घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । चिनी रोगविरुद्धको अभियानमा महानगरपालिका साथमा रहेको छ ।’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न एक करोड रुपैयाँको आर्थिक सहयोग गर्ने जानकारी दिँदै चिनी रोगीको संख्या बढ्दो क्रममा रहेको हुँदा सचेतनाका कार्यक्रम सञ्चालन गर्न जोड दिए ।

समाजका अध्यक्ष शिव श्रेष्ठले समाजको आफ्नै भवन नहुँदा चिनीरोग सेवा उपलब्ध गराउन समस्या परेको गुनासो गर्दै जमिन उपलब्ध गराउन महानगरपालिकासँग आग्रह गरे । कार्यक्रममा चिनीरोग विशेषज्ञ चिकित्सक प्रदीपकुमार श्रेष्ठले जीवनशैली परिवर्तनसँगै चिनीरोगीका संख्या बढिरहेको बताए ।

के हो चिनीरोग ?

वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ प्रा. चिकित्सक पुकार श्रेष्ठका अनुसार शरीरमा चिनी (सुगर)को मात्र बढी हुनुलाई चिनीरोग भनिन्छ । शरीरमा चिनीको मात्रा आवश्यक मानिन्छ । तर, आवश्यकभन्दा बढी भएमा मुटु, मिर्गाैला र आँखालाई यसले असर पु¥याउँछ ।

चिकित्सकका अनुसार चिनी रोग दुई प्रकारका हुन्छन् । छिन् छिनमा पिसाब लाग्ने, मुख सुक्ने, पानीको प्यास लाग्ने, तौल घट्ने, थकान महसुुस गर्ने, शरीरमा घाउचोट देखिने तर निको नहुने चिनीरोगका लक्षण हुन् ।

नेपालमा कति चिनीरोगी रहेका छन् भनेर हालसम्म कुनै अध्ययन भएको छैन । नेपालमा विश्व स्वास्थ्य संगठनले कुल जनसंख्याको चार प्रतिशतमा चिनीरोगको समस्या हुनसक्ने प्रक्षेपण गरेको छ । तीमध्ये आधा पनि उपचारको पहुँचमा आएका छैनन् ।

‘चिनीरोग दुई प्रकारका हुन्छन् । टाइप एक र टाइप दुई । टाइप एक विशेष गरी २० वर्षमुनि र टाइप दुई विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुने गर्दछ ।’ चिकित्सक श्रेष्ठ भन्छन् । यस वर्षको चिनीरोगको नारा ‘चिनीरोग र परिवार’ रहेको छ । चिनी रोगबाट बच्न विशेषगरी खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया