राष्ट्रपति हमिदसँग देउवाको भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी कांग्रेस नेता डा नारायण खड्काले जानकारी दिए ।

भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरिद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी गरेका थिए । प्रत्युत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरिद गर्न पनि बंगलादेश तयार रहेको बताएको डा. खड्काले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमण कम भएको प्रसंग जोड्दै भ्रमण बढाउनुपर्नेमा पनि जोड दिएका थिए । बंगलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालले सहयोग गरेकामा उनले खुसी व्यक्त गर्दै योगदान पु¥याउने १३ नेपालीलाई सम्मान गरिएको जानकारी गराएका थिए । राष्ट्रपति हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका क्रममा नेपालमा छन् ।

यसअघि मंगलबार उनीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटवार्ता गरेका थिए भने बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन् । बुधबारै नेपाली समकक्षी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि राष्ट्रपति हमिदको भेटवार्ता हुँदै छ ।

भक्तपुर दरबार स्क्वायरको बुधबार अवलोकन भ्रमण गरेका उनले बिहीबार कास्कीको पोखरा र शुक्रबार काठमाडौंको चन्द्रागिरिको भ्रमण गर्ने कार्यतालिका छ । मंगलबार आएका राष्ट्रपति हमिद भ्रमण सम्पन्न गरी यही कात्तिक २९ गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया