‘उपप्रमुखज्यू विद्यालयको छाना चुहिन्छ’

सुर्खेत । वीरेन्द्रनगरपालिका–११ मा नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयमा मंगलबार नगरपालिकाका उपप्रमुख मोहोनमाया ढकाल कक्षाकोठा अवलोकन तथा विद्यार्थीसँग साक्षात्कार गर्न पुगिन् । तर, अधिकांश विद्यार्थीले उनी को हुन् भनेर चिनेनन् । ढकालले आफ्नो परिचयका साथसाथै स्थानीय सरकारको बारेमा कक्षा नै लिएपछि विद्यार्थीहरू उत्साहित बनेका थिए ।

बारम्बार स्थानीय सरकार तथा विकास निर्माणका सवालका बारेमा, व्यवस्थापकीय संरचनाका बारेमा प्रश्न सोध्ने र उपप्रमुखले जवाफ दिने क्रम झण्डै एक घण्टा नै चल्यो । ‘पहिलोपटक नगरउपप्रमुखसँग खुलेर कुराकानी गर्न पायौँ । अहिलेसम्म हाम्रो कक्षामा कोही पनि आएका थिएनन् । हामीले त खुलेर नै कुरा राख्न पायौँ’, कक्षा १० का छात्र विनोद पौडेलले भने, ‘यसरी नै सधैँ उहाँहरू विद्यालयमा आइदिएको भए हामी सबैको लागि उत्साह थपिन्थ्यो । अध्ययन गर्न र थप बाह्य कुरा सिक्न हामीलाई अवसर प्राप्त हुने थियो ।’

अवलोकनमा हिँडेकी उपप्रमुख ढकाले कक्षाकोठामा विद्यार्थीमाझ ‘तपाईंहरूका नगरपालिकासँगका अपेक्षा के हुन् ? के भएको भए तपार्इंहरूलाई अध्ययन गर्न थप सजिलो हुन्थ्यो ?’ जस्ता प्रश्न सोधेकी थिइन् । उपप्रमुख ढकाललाई त्यसपछि विद्यार्थीले थुप्रै प्रश्न राखेका थिए । ‘विद्यालयको टिनको छानो चुहिएको, शौचालय नभएको, अतिरिक्त क्रियाकलाप निरन्तर गर्नुपर्ने, पुस्तकालयको व्यवस्था गरिनुपर्ने, कम्प्युटर ल्याबको व्यवस्था नभएकोले व्यवस्था गरिदिनुपर्ने माग राखेका थिए । शिक्षकले जस्तो विद्यार्थीका माग उपप्रमुखले ह्वाइटबोर्डमा टिप्दै गइन् । विद्यार्थीले माग राख्दै गए ।

‘स्वच्छ खानेपानीको व्यवस्था छैन । राम्ररी अन्य विषयको अध्ययन गर्ने वातावरण बनेको छैन । विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरिँदैन । छात्रामैत्री संरचना अभाव भयो । सेनेटरी प्याड पाएनौँ’, विद्यार्थीको गुनासा र प्रश्नहरू थिए । विद्यार्थीहरूको मागहरू सुनेर उपप्रमुख ढकालले विद्यार्थीहरूका मागहरू क्रमागत रूपमा पूरा गर्ने प्रतिबद्धता जनाइन् । ‘तपाईंहरू देश बनाउने उच्च सोचका साथ पढिदिनुस्, भौतिक संरचनादेखि अन्य आवश्यक संरचना तथा व्यवस्थापन गर्छौं । बस तपाईंहरू अध्ययन गर्नुस् सबैभन्दा टप भइदिनुस्’, उपप्रमुख ढकालको भनाइ थियो । उनको भनाइबाट उत्साहित बनेका विद्यार्थीले उनलाई तालिका साथ विद्यालयबाट बिदाइ गरेका थिए ।

विनासूचना विद्यालयमा निर्वाचिन भएको करिब साढे दुई वर्षपछि नगरउपप्रमुख आएको देखेर शिक्षकहरू पनि दंग परे । ‘उहाँ किन आउनु भएको हो, के कामले आउनुभएको हो ?’ शिक्षकहरूले पंक्तिकारसँग प्रश्न गरिरहेका थिए । ‘उहाँले राम्रो अभियानको सुरुआत गर्नुभएको रहेछ ।

यस्ता अभियान हरेक विद्यालयमा गर्न जरुरी छ’, शिक्षक नवराज खड्काले भने, ‘उपप्रमुख नै कक्षा कोठामा आउँदा विद्यार्थीमा सकारात्मक भावना पैदा हुने र राजनीतिप्रति उनीहरूको आस्था बढ्ने, उनीहरूको सोचमा परिवर्तन हुने, जननिर्वाचित प्रतिनिधिलाई नजिकबाट नियाल्न र कुरा गर्न पाउने हुँदा उनीहरूले राजनीतिक व्यवस्थाप्रति रुचिलिने सम्भावना बढी हुन्छ ।’ उनी भन्छन्, ‘उनीहरूको हौसला बढ्ने, जनप्रतिनिधिको उपस्थितिले शिक्षकहरूको कर्तव्यप्रति थप दायित्व बढ्ने र त्यसले सकारात्मक सन्देश तथा प्रतिफल दिनेछ ।’

उनले विद्यालयमा राजनीतिक आस्थाका आधारमा शिक्षक नियुक्त नगर्ने, क्षमता भएकालाई मात्रै नियुक्त गर्ने परिपाटी कायम गरिनुपर्ने, कामको मूल्यांकन तथा अनुगमन गर्ने र पुरस्कार तथा दण्डको व्यवस्था गर्नुपर्ने सुझाब नगरपालिकालाई दिए ।

यता, उपप्रमुख ढकालले आधारभूत शिक्षा स्थानीय सरकारको हेर्ने जिम्मेवारी भएको बताउँदै अहिले विद्यार्थीले कस्तो शिक्षा खोजिरहेका छन्, उनीहरूका माग के हुन् ? उनीहरूको क्षमता विस्तार गर्न के गर्न सकिन्छ जस्ता प्रश्नहरूको उत्तर खोज्न कक्षाकोठामा नै आएको बताइन् ।

‘विद्यार्थीका स्थानीय सरकारसँग के अपेक्षा छन् र ती अपेक्षालाई कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा जानकारी लिन र दिन यो अभियानको सुरुवात गरेकी हुँ ।’ उनी भन्छिन्, ‘सुखी नेपाली समृद्ध नेपाल बनाउन देशप्रति माया गर्ने सोच बढाई विद्यार्थीमा मेरो देश म बनाउँछु भन्ने भावनाको सञ्चार गराउन म कक्षाकोठामा आएकी हुँ ।’

प्रतिक्रिया