‘पाहा’ पालन व्यवसायको प्रवद्र्धन गर्दै प्रदेश सरकार

हेटौँडा । पशुपक्षी तथा मत्यपालन सँगसँगै प्रदेश ३ सरकारले ‘पाहा’ पालन व्यवसायको प्रवद्र्धन गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मकवानपुरको भीमफेदी, कैलाशलगायत औषधीय गुणले भरीपूर्ण ‘मनपाह’ नामक पाह हुर्कनसक्ने उपयुक्त वातावरण भएको प्रदेशका अन्य जिल्लामा उपयुक्त स्थान छनोट गरेर पाहाको व्यावसायिक पालन गर्ने भएको हो ।

पाहा पालनका लागि हाल मन्त्रालयले अध्ययन अनुसन्धान अगाडि बढाएको छ । मन्त्रालयले अनुसन्धानका लागि मकवानपुरको भीमफेदी र कैलाश गाउँपालिकाको उच्च पहाडी क्षेत्रबाट पाहाको संकलन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रदेश ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिए ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको सहयोगमा स्थानीय शिकारीको प्रयोग गरी कयौँ दिनको मेहनतमा केही थान मनपाह सङ्कलन भएका तथा कैलाशका छेकु लामाले केही थान संकलन गरी पाठाएको मन्त्री लामाले जानकारी दिनुभयो । मन्त्री लामाका अनुसार सङ्कलन गरिएका पाहा महावीर सिंह पुनको आविस्कार केन्द्रमा अनुसन्धनाका लागि पठाइएको छ ।

आविस्कार केन्द्रमा जलचर विशेषज्ञ प्राध्यापक डा माधव श्रेष्ठले अध्ययन गर्नेछन । आफूले बाल्यकालमा मनपाहको औषधीयगुणका बारेमा सुनेको र हाल यसको व्यावसायिक उत्पादन गरेर नेपाली किसानको आम्दानी बढाउन सकिने ठानेर प्रवद्र्धनको योजना अगाडि सारेको उन बताए । भीमफेदीका केही भेगमा परम्परागत रुपमा पाहा मार्ने र औषधीय प्रयोजन एवं मासु खान प्रयोग गरिने भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । भीमफेदीको धार्के, महाभीर, अघोरलगायतका क्षेत्रमा प्रशस्त पाइने यो पाहा तीनदेखि पाँच मिटरसम्म उफ्रन सक्छ ।

हाडजोर्नीका दुखाइमा, दम, बाथ, रक्तमा सीमा तथा काटिएको अङ्ग जोड्न पनि पाहा खाने चलन रहेको अध्यक्ष लामाको भनाइ छ । तामाङ भाषामा ‘लुपेङ्ग’ पनि भनिने पाहालाई जडीबुटी व्यापारीले प्रतिगोटा रु एक हजारसम्ममा खरीद गर्ने गरेको पाइएको छ । पाहाको मासु थोरै भए पनि पकाउँदा धरै हुने र अति स्वादिलो हुने अध्यक्ष लामाले बताए । बूढापाकाले यसलाई चारखुट्टे पक्षीका रुपमा व्याख्या गर्छन् । टाढाटाढासम्म पनि उफ्रने र उफ्रिँदा जालीदार खुट्टा फिजाएर गति तथा दिशा परिवर्तन गर्ने भएकाले पनि यसलाई चरीपाहा पनि भन्ने गरिन्छ ।

लेकतिर पाइने पहेँलो चिप्ले किरा र त्यसको अण्डा खाने तथा विभिन्न जडीबुटी खाने हुँदा यसलाई जडीबुटी र औषधीय गुणले भरिपुर मानिन्छ । हेर्दा भ्यागुताजस्तो देखिए पनि यसको शरीरभित्र चराको जस्तो अंग हुने मन्त्री लामा बताए । सानो जीव भए पनि ठूला र विकसित जनावरको जस्तो पूर्ण विकसित मुटु, कलेजो, पित्त, फोक्सो आदि हुने उनले जानकारी दिए ।

शिकारीले पक्रन खोज्दा पाँच मिटरसम्म पनि उफ्रिएर भाग्न सक्ने क्षमता भएकाले पनि यसलाई पक्षी भनिएको हुनसक्ने मन्त्री लामाको भनाइ छ । अध्ययन पछि ठूलो क्षेत्रफलमा यसको पालन गर्ने योजना रहेको उनले बताए । निश्चित क्षेत्र घेरेर उपयुक्त वातावरण निर्माण गरी पाहापालन गर्न सकिने उनले बताए । पाहाको बच्चालाई संरक्षण गर्ने हो भने उत्पादन बढाउन सकिने उनको भनाइ छ ।

मकवानपुरका पाहा चितवनमा

मकवानपुरको भीमफेदी तथा कैलाशका लेकका केही पाहा अहिले अनुसन्धानका लागि चितवनमा राखिएका छन् । चितवनमा जलचर बिशेषज्ञ प्राध्यापक डा श्रेष्ठले पाहालाई राख्न सानो बासस्थान बनाएका छन । पानीको कुवा, माटोको भाग, बालुवा र ढुङ्गाको चेप बनाएर पाहालाई राखिएको छ । खानाका लागि माछाका जीवित भुरा, झारपात व्यवस्था गरिएको छ । लेकमा बस्ने जात भएकाले वातावरणलाई चिसो बनाउन प्रयास भएको छ । डा श्रेष्ठका अनुसार नेपालमा पाहा खाने र औषधिका रुपमा प्रयोग गर्ने चलन भए पनि यसका बारेमा खासै अध्ययन भएको छैन । पाहाको खाना, रहनसहन, प्रजननलगायत धेरै कुराको अध्ययन गरिने उनले बताए ।

प्रदेश सरकारको माछापालन प्रवद्र्धन कार्यक्रम प्रदेश ३ सरकारले १३ वटै जिल्लामा माछापालन व्यवसायलाई पनि प्रवद्र्धन गर्ने भएको छ । माछापालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेशका १३ वटै जिल्लामा सो कार्यक्रम ल्याइएको हो । प्रदेशको भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयले ताल, तलैया निर्माण तथा सम्वद्र्धन गरी मत्स्य उत्पादन प्रवद्र्धन कार्यक्रम गर्न लागेको हो । यो कार्यक्रमले माछापालन गर्ने किसानलाई सबैभन्दा बढी फाइदा पुग्ने बताइएको छ । मत्स्यपालन कार्यक्रमको प्रवद्र्धनका लागि मन्त्रालयलले माछा प्रवद्र्धन कार्यक्रम भनेर चालू आवमा मात्र तीन करोड २५ लाख बजेट छुट्याएको छ । माछापालनका क्षेत्रमा प्रदेश सरकारले विशेष जोड दिएको मन्त्री लामाले बताए ।

प्रतिक्रिया