साउदी अरबमा स्पेनिस सुपर कप !

एजेन्सी, रियाद । स्पेनिस सुपर कप साउदी अरेबियामा हुने भएको छ । साउदी अरबले सोमबार प्रतियोगिताको घोषणा गर्दै अर्को वर्षको पहिलो महिनामा स्पेनिस सुपर कप साउदी अरेबियामा सञ्चालन गर्ने निर्णय गरेको हो । चार टिमहरू ६२ हजार दर्शक क्षमताको किंग्स अब्दुल्लाहा स्पोर्ट्स सिटी जेद्दाहामा खेल्ने पक्का भएको छ । त्यसमा बार्सिलोनासँगै रियल मड्रिड, एट्लेटिको मड्रिड र भ्यालेन्सिया रहेका छन् ।

स्पेनिस समाचार पत्रिका एभिसीले बताएअनुसार स्पेनिस फुटबल महासंघले २९ देखि ३४ मिलियन डलर वार्षिकरूपमा आम्दानी गर्नेछ । सम्झौता तीन वर्षको हुनेछ । तर, सरकारी अधिकारी र ला लिगाले भने यो कदमको आलोचना गरेका छन् । स्पेनका खेलकुदका जुनियर मन्त्री मारिया जोसेले भनेका छन्, ‘यो कदमको सरकारले सहयोग गर्नेछैन । जुन देशमा महिला अधिकारलाई सम्मान गरिँदैन, त्यहाँ यो प्रतियोगिता हँुदैछ ।’ एम्नेस्टि इन्टरनेस्नलले समेत साउदी अरबको मानव अधिकार हननको विषयलाई गम्भीर चासोको रूपमा लिँदै आएको छ ।

साउदी राजकुमार प्रिन्स मोहमद विन सलमानले सामाजिक सुधारका कार्यक्रमहरू अघि सार्दै सन् २०१७ मा महिलालाई फुटबल खेलमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गरेका थिए । यस्तै साउदीले महिलालाई सवारी चालक अनुमती दिने जस्ता सामाजिक सुधारको कार्यक्रम लागू गरेको छ । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुईस एबिएल्सले साउदीमा हुने स्पेनिस सुपर कप हेर्न महिला समर्थकलाई कुनै अवरोध नहुने बताएका छन् । अघिल्लो सिजनको ला लिगाका शीर्ष दुई टिम र कोपा डेल रेका विजेता र उपविजेता दुई टिमले प्रतियोगिता खेल्नेछन् ।

यस्तै लिगको तेस्रो र चौथो क्लब समेत प्रतियोगितामा छनोट हुन सक्नेछन् । तालिकाअनुसार बार्सिलोनाले एट्लेटिको मड्रिड र भ्यालेन्सियाले रियल मड्रिडसँग जनवरी ८ देखि १२ सम्म खेल्नेछन् । दुवै खेलको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । गत सिजनको इटालीको सुपर कोपा समेत साउदी अरबमै भएको थियो । एसी मिलानलाई हराउँदै युभेन्ट्सले प्रतियोगिताको उपाधि जितेको थियो ।

प्रतिक्रिया