सत्यमोहन सम्मानित, डिआरका एकसाथ ७ एल्मब

काठमाडौं । गीतकार डा. डिआर उपाध्यायले एकसाथ ७ एल्बम बजारमा ल्याएका छन् । कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित समारोहमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, गायिका ज्ञानु राणा, हास्यकलाकार बसुन्धरा भुसाललगायतले ती एल्बमको संयुक्तरूपमा विमोचन गरे ।

सार्वजनिक एल्बममा ‘अन्जान तिर्खा’, ‘सुधारस’, स्वर्गघर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभुतिको मझेरीमा’ रहेका छन् । सो अवसरमा गीतकार डिआरका एक उपन्यास ‘सपनाकी रानी’ र ८ उपन्यासहरूको सँगालो एउटै पुस्तकसमेत सार्वजनिक गरियो ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीलाई ५१ हजार नगदसहित दोसल्ला र ‘जन्मशताब्दी अभिनन्दन २०७६’ ताम्रपत्रद्वारा ‘सम्मान गरिएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ५१ हजार नगदसहितको ‘शतवार्षिकी अभिनन्दन २०७६’ उनकै निवासमा गएर प्रदान गरिएको आयोजकले जानकारी दियो ।

उक्त कार्यक्रममा हास्यकलाकार बसुन्धरा भुसाल र गायिका ज्ञानु राणालाई समेत सम्मान गरिएको थियो । वाङ्मय शताब्दी पुरुष जोशीले डा. डिआरले नेपाली गीत संगीतलाई विश्वमा चिनाउने महत्वपूर्ण काम गरेको बताए । उनले डिआरलाई बधाई दिँदै लेखनमा जोशजाँगर अझै बढाउँदै लैजान शुभकामना दिए । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै डिआरको सांगीतिक यात्राका बारेमा चर्चा गरे । सांगीतिक प्रस्तुतिका साथ आयोजित कार्यक्रममा गायक गायिका सागर अधिकारी ‘शरद’, नरहरि प्रेमी, योगेश काजी, राज सगर, मनोज राज र सारिका घिमिरेले एल्बममा रहेका गीत सुनाएका थिए ।

त्यसैगरी कार्यक्रममा युथ क्रिएसन म्युजिक प्रालिको तर्फबाट डा.उपाध्यायलाई सम्मान गरियो । ०७५ साल मंसिरमा एकसाथ ७ गीति एल्बम सार्वजनिक गरेका डा. डिआरका यसअघि ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ गरी ११ एल्बम सार्वजनिक भएका छन् । उनका हालसम्म ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’ र ‘सपनाकी रानी’ प्रकाशित कृति हुन् ।

प्रतिक्रिया