महोत्सवमा ६४ वृत्तचित्र

काठमाडौं । सन् १९९७ देखि हरेक दुई वर्षमा हुँदै आएको ‘फिल्म साउथ एसिया–२०१९’ को १२आँै संस्करण बिहीबारदेखि सुरु हुने भएको छ । वृत्तचित्रमार्फत् दक्षिण एसियाका निर्देशक, दर्शक तथा आमसरोकारलाई जोड्ने लक्ष्य राखेर सुरु गरिएको महोत्सव पाटनको यलमाया केन्द्रमा सुरु हुँदैछ । ‘ह्वेयर द माइन्ड इज फ्रि’ नाराका चार दिनसम्म चल्ने महोत्सव २८ कात्तिकदेखि मंसिर १ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

उक्त महोत्सवमा ६४ ओटा वृत्तचित्र प्रदर्शन हुँदैछन् । आयोजकका अनुसार यसपटक अफगानिस्तान, नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, भुटान, म्यानमारलगायतका देशबाट २५ सयभन्दा बढी वृत्तचित्र प्राप्त भएका थिए । महोत्सवका सहायक निर्देशक तथा छनोट समितिका सदस्य आलोक अधिकारीले पहिलोपटक अनलाइनबाटै फिल्म पठाउन मिल्ने भएकाले यस पटक २५ सयभन्दा बढी फिल्म प्राप्त भएको जनाए ।

उनले तीन चार चरण पार गरी छानिएका उत्कृष्ट ६४ वृत्तचित्रमध्ये ‘मेन सेलेक्सन’ मा ५२ र ‘स्टुडेन्ट फिल्म’ अन्तर्गत १२ प्रदर्शन हुने जानकारी दिए । उनले भने, ‘६४ वृत्तचित्रमध्ये ५२ वटाले उत्कृष्ट पुरस्कारको लागि प्रतिस्पर्धा गरेका छन् । प्रतिस्पर्धामा उत्कृष्ट हुने वृत्तचित्रले रामबहादुर ट्रफीसहित दुई हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।’

त्यसैगरी, द्वितीय हुने वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार र ‘डेब्यु’ निर्देशकतर्फ उत्कृष्ट वृत्तचित्रले ‘तारेक मसूद पुरस्कार’अन्तर्गत एक हजार अमेरिकी डलरको पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, बालबालिकाको विषयमा केन्द्रित रही बनेका वृत्तचित्रमध्ये उत्कृष्टले ‘युनिसेफ पुरस्कार’ स्वरूप एक हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । ‘स्टुडेन्ट फिल्म’ तर्फ उत्कृष्टले पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।

यस पटक महोत्सवमा तीनवटा नेपाली वृत्तचित्र मात्रै प्रदर्शनका लागि छानिएका छन् । जसमा डा. गोविन्द केसीबारे बनेको वृत्तचित्र ‘आइ एम विथ डाक्टर केसी’ पनि समावेश छ । महोत्सवको निर्णायक टोलीमा पत्रकार कुन्द दीक्षित, श्रीलंकन निर्देशक सुमाथी शिवामोहन र भारतीय भिजुअल आर्टिस्ट आयशा अब्राहम छन् ।

प्रतिक्रिया