‘माछी मार्न जाउँ है दाजै कालापानीमा’

माछी मार्न जाउँ है दाजै कालापानीमा,
माछी मार्न जाउँ है दाजै कालापानीमा,
छेकीवारि दुवाली महाकालीमा,
माछी मार्न जाउँ है दाजै कालापानीमा ।

केही दिन अघि भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र भारतीय भूभागमा पारिएपछि यो गीत फेरि एकपटक चर्चामा आएका छ । विधान श्रेष्ठ, रीता उपाध्याय र जे पापीले गाएको यो गीतमा भौगोलिक हिसाबले सानो राष्ट्र नेपालको पीडाको चित्रण गरिएको छ । गीतमा भरपूर राष्ट्रिय भावना अभिव्यक्त भएको छ ।

उक्त गीतले चारैतिरबाट नेपालको सीमामाथि हुने गरेको र भइरहेको अतिक्रमणको चित्रण गर्न खोजेको रचनाकार तथा संगीतकार विजय श्रेष्ठ बताउँछन् । ०५५–५६ सालतिर सार्वजनिक भएको सो गीत केही समयपछि नै सरकारी सञ्चारमाध्यममा नबजाउन निर्देशन दिइएको हुनसक्ने रचनाकार श्रेष्ठको दाबी छ ।

राष्ट्रिय भावनाले ओतप्रोत भएको उक्त गीतको रचना गर्नमा टेलिभिजनकर्मी भूषण दाहालको हात रहेको श्रेष्ठ बताउँछन् । सुनसरी इनरुवाका रचनाकार श्रेष्ठ भन्छन, ‘कालापानीको विषयमा गीत भएको भनेर छोरा विधानसँग कुरा गरेका रहेछन् । त्यो कुरा मलाई विधानले सुनायो ।’ ‘गीतै लेख्छु भन्ने त सोचेको थिइन तर मनमा कहीँ कतै कालापानीको बिषय गडेको थियो । पछि गीतकै रूपमा फुर्दै गयो ।’ उनले गीत लेखनका बारेमा प्रष्ट पारे ।

‘यसमा मेरो फरक वा विशेष सोच थिएन । यी शब्द मनबाट आएका हुन् ।’ त्यसैलाई लिपिबद्ध गरेपछि गीत बनेको उनको भनाइ छ । श्रेष्ठका अनुसार आफ्नै घरको कोठामा छिर्दै गर्दा ‘माछी मार्न जाउँ है दाजै कालापानीमा’ बोल फुरेको हो । स्थायी भेटिएपछि त्यसकै आधारमा अन्तरा भर्दै गएको उनी बताउँछन् । ‘छेकी वारि दुवाली महाकालीमा’ जस्ता गीतका केही अंश भने लोकभाकाबाट लिइएको हो ।

उक्त गीतले चारैतिरबाट नेपालको सीमामाथि हुने गरेको र भइरहेको अतिक्रमणको चित्रण गर्न खोजेको रचनाकार तथा संगीतकार विजय श्रेष्ठ बताउँछन् । ०५५–५६ सालतिर सार्वजनिक भएको सो गीत केही समयपछि नै सरकारी सञ्चारमाध्यममा नबजाउन निर्देशन दिइएको हुनसक्ने रचनाकार श्रेष्ठको दाबी छ

कालापानी वा अन्य सीमा नाकाका बारेमा धेरै जानकारी नभए पनि आफूलाई नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेको राष्ट्र भएको थाहा भएकै आधारमा गीतले स्वरूप लिँदै गएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘त्यसैकारण गीतमा उल्लेख गरिएको कालापानी शब्द खासमा संकेत हो ।’ उनले आफूभित्रको राष्ट्रिय भावनालाई प्रष्ट पारे ।

उनको गीत रचना भएर गाएको बखत पनि चर्चा बुटुलेको थियो । ०५५–५६ मा गीत सार्वजनिक भयो त्यसको दुई वर्षअघि ०५३ सालमा निकै चर्चामा रहेको एकीकृत महाकाली सन्धि संसद्बाट पास भएको थियो । त्यति बेला पनि महाकाली सन्धिसँगै कालापानीमा भारतीय सेना रहेको विषयले निकै चर्चा पाएको थियो । त्यसैले पनि उनको गीतले स्थान पाउनुको साथै राम्रो चर्चा बटुलेको थियो । आज फेरी कालापानी र लिम्पियाधुरामा रहेको भारतीय सेना र भारतले जारी गरेको नयाँ नक्साका कारण यो गीत समय सान्दर्भिक बनेको छ ।

श्रेष्ठको पारिवारिक पृष्ठभूमिः राष्ट्रिय भावनाका गीत लेखेका श्रेष्ठ पारिवारिक वातावरणका कारण आफूमा राजनीतिक चेत रहेको बताउँछन् । उनका बुवा दिलबहादुर श्रेष्ठ पञ्चायतकालमा गृहमन्त्री भएका थिए । परिवारका अन्य सदस्य पनि मन्त्री रहेको उनी बताउँछन् । ‘राष्ट्रिय भाव भित्रैबाट गढेर होला देशभित्रै बाट घेरामा पर्दै गएको छ भन्ने मेरो बुझाइ थियो । र त्यो बुझाइको पाटा गीतबाट बाहिरियो, श्रेष्ठले भने ।

‘बनको काँडाले कहिले नि कोरेन फलामे काँडाको तार अहिले’ गीतमा भएको यी शब्द त्यसवेला समाचारमा भारतीय सैनिकले कालापानीमा रहेको तार काटेको भन्ने कुरा पढेको आधारमा लेखेको उनी बताउँछन् । यसरी हेर्दा उनको गीतमा प्रसस्तमात्रामा राष्ट्रिय भावना देखिन्छ ।

कालापानीमा रहेको भारतीय सेनाका विषय अहिले निकै चार्चामा छ । यस बारेमा सबै नेपालीको एउटै भनाइ छ । ‘कालापानी नेपाली भूमि हो, भारतले ब्रिटिस इन्डियाले बनाएको नक्सा मान्नुपर्छ ।’ भारत भने ‘कालापानी आफ्नो नक्सामा पारेपछि ७० वर्षदेखि चलेको सीमा हो’ भन्न थालेको छ । यो बिषयले सडक तताइ रहेका छ भने सबै राजनैतिक दलको आवाज एउटै छ । कालापानीलगायतका नेपाली भूमिबाट भारतीय सेना फिर्ता जानुपर्छ ।

प्रतिबन्ध ?
श्रेष्ठका अनुसार उक्त गीतका शब्दले सर्वसाधारण नेपालीको मन छुन सफल भयो । नेपालीहरूले संगीत, भावना र लयमा पनि आफ्नो शैली र राष्ट्रियताको भाव पाएकाले गीत हालसम्म रुचाइएको उनको बुझाइ छ । हुन पनि एक ताका हरेकजसो नेपानीको मुखबाट स्वस्फूर्त निस्कन्थ्यो, ‘माछी मार्न जाउँ है दाजै कालापानीमा’ भन्ने शब्द । अहिले फोरी त्यही गीतले नेपालीको मन छुँदै छ र गाउँदै छन् त्यही गीत । तर उक्त गीत सार्वजनिक भएको केही समयपछि सरकारी सञ्चार माध्यममा बज्न छोड्यो । त्यसको कारण के थियो भन्ने प्रश्नको स्पष्ट उत्तर श्रेष्ठसँग छैन । न उनले आफ्नो गीत नबज्नका कारण खोजे न त्यसको कारण थाहा पाए ।

उनका अन्य केही गीत प्रतिबन्धमा परेका छन् । ‘ए छोरा, तिमीहरू हुँदाहुँदै म कसरी घेरामा’ बोलको गीत पनि प्रतिबन्धमा परेको उनको दाबी छ । उनी भन्छन्, ‘रमाइलो कुरो के छ भने नेपालको राष्ट्रियताविरुद्ध तपाईँ जे पनि बोल्न पाउनु हुन्छ । तर नेपालको पक्षमा बोल्न भने प्रतिबन्ध छ । अनौठो मान्छै भने उनले । ‘त्यसैले मेरा गीतमाथि प्रतिबन्ध लगाइएको होला ।’ अनुमान लगाउँदै उनले भने ।

उनको भनाइ र अनुमानमा निकै कटाक्ष लुको पाइन्छ । के साँच्चै राष्ट्रिय भावना भएको गीत गाउन र बजाउन पाइँदैन त ? होइन भने परिवारका सदस्यसँग सँगै बसेर हेर्न पनि सरम लाग्ने गीत, नित्य र दृश्यचाहिँ किन बज्छ सरकारी सञ्चार माध्ययमा ? प्रश्न यहाँ पनि छ ।

जे भए पनि राष्ट्रियता संकटमा परेका वेला मातृभूमिमा अरूले धावा बोलेका वेला स्वस्फूर्त रूपमा लेखकले लेख्नु गायकले गाउनु राम्रो पक्ष हो । यसलाई सबै क्षेत्रबाट सहयोग र साथ दिनुपर्छ । आज फेरि सान्दर्भिक बन्दैछ ‘माछी मार्न जाउँ है दाजै कालापानीमा’ बोलको गीत । जसलाई विजय श्रेष्ठले रचना गरी विधान श्रेष्ठले गाएका थिए । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया