अब प्रादेशिक अस्पतालमा पनि ‘बर्थिङ सेन्टर’

विराटनगर । नर्सिङ सेवा स्वास्थ्यको मेरुदण्ड भएकाले गुणस्तरीय हुनु आवश्यक रहेको आइतबार आयोजित एक कार्यक्रममा सेवाग्राहीले बताएका छन् ।

नवजात शिशु र मातृ मृत्युदर घटाउन र साधारण प्रसूतिको दर वृद्विका लागि नर्सिङ सेवालाई ‘मिडवाइफ’ सम्बन्धी विशेष तालिम दिनु पर्ने आजको आवश्यक्ता रहेको उनीहरूको जोड थियो ।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महासंघ काठमाडौंद्वारा आइतबार यहाँ आयोजित प्रदेशस्तरीय नर्सिङ ‘मिडवाफ फ्री’ सेवासम्बन्धी नीति तथा संवाद कार्यक्रममा सेवाग्राहीहरूले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रादेशिक अस्पताल (कोशी) विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा गुणराज लोहनीले केही समयभित्र सय शै्ययाको बर्थिङ सेन्टर सञ्चालन गर्ने जानकारी दिँदै दुई वर्षभित्र अस्पतालले राष्ट्रियस्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अठोट व्यक्त गरे ।

हरिनगरा गाउँपालिकाका प्रमुख गफ्फुर अन्सारीले यसक्षेत्रका महिलालाई गर्भवती भएदेखि नै पोषणसहितको स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको बताए ।

स्वास्थ्य कार्यालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, प्रदेश स्वास्थ्य सेवाप्रमुख सुरेश मेहता, अमृता पहाडी, बाला राई, रोशनी लक्ष्मी तइतुई, कविता पाण्डे, कृष्णप्रसाद भण्डारी र पदम सरदारले मिडवाइफमा लगानी गरेमा समुदायमा १६ गुणा प्रतिफल प्राप्त हुने धारणा व्यक्त गरे ।

कार्यक्रमबाट प्राप्त सुझावका आधारमा नर्सिङ मिडवाइफ फ्री सेवासम्बन्धी रणनीति तयार गर्न सहयोग पुग्ने उद्देश्यले सातै प्रदेशमा यस प्रकारको कार्यक्रम आयोजना गरिने भएको छ ।

नेपालमा मिडवाइफसम्बन्धी स्नातकोत्तर तहमा तीन विश्वविद्यालयले तीन स्थानमा विगत तीन वर्षदेखि अध्यापन गर्दै आइरहेका छन् । हाल नेपालमा ८९ हजार ८ सय ४५ नर्सिङ तथा अनमी दर्ता रहेका छन् ।

नेपालमा एक सय ८९ शिक्षण संस्थाबाट प्रतिवर्ष चार हजार सात सय नर्सिङ र एक हजार अनमी उत्पादन भइरहेको सोही अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया