जातीय मुक्ति कि घृणाको खेती ?

नेपालको ‘जातीय आन्दोलन’ दिग्भ्रमित भई देश जातीय घृणायुद्धको चपेटामा पर्न सक्ने खतरा बढ्दो छ । जातिवादी घृणाको खेतीले संसारमा कसैको हित भएको छैन भन्ने तथ्य थाहा पाएर पनि त्यही विषवृक्षलाई मलजल गर्ने कार्य भइदिनु देश समाजको स्वास्थ्यका लागि हितकारी पक्कै हैन 

०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अवसान गराएपछि अनेकखाले जातीय संस्था, संगठन, मोर्चा तथा राजनीतिक पार्टीका सक्रियताले जातीय आन्दोलनमा प्रशस्त बहस, छलफल तथा अन्तक्रिर्याको थालनी भयो । त्यस यताको समयमा ‘जनजाति’, ‘आदिवासी’ तथा ‘दलित’ शीर्षकमा विविध गतिविधिहरू संख्यात्मक रूपमा बढेका छन् । ‘मधेसी आन्दोलन’ को सन्दर्भ पनि यस कालखण्डमा नेपाली राजनीतिको एक सवालका रूपमा रहिरह्यो । मूल प्रवाहबाट बाहिर पर्न गएका, अवसरहरूबाट वञ्चित समुदायले राज्यका हरेक तहमा भागिदारी खोज्ने जायज मागलाई सम्बोधन गर्नै पर्छ भन्नेमा मतैक्य बढ्दो छ । यद्यपि, यसै सन्दर्भमा नेपाली समाजमा कि त जातीय सवालमा पटक्कै थाहा नभएझैं चुपचाप बसिदिने, कि त्यसलाई अनावश्यक हदसम्म उराल्ने प्रवृत्तिहरू पनि नदेखिएका होइनन् ।

समाजलाई यथास्थितिमा राख्नु पर्छ भन्ठान्नु वैज्ञानिकतायुक्त दृष्टिकोण होइन र त्यो स्वीकार्य पनि छैन । कसैले चाहँदैमा समाज यथास्थितिमा टक्क रोकिएर बस्ने पनि होइन । त्यसो हुँदा नेपालमा जातीय सवालमा नयाँ (नयाँ दृष्टिकोणहरू आउनु र ‘जनजाति’, ‘आदिवासी’, ‘मधेसी’ र ‘दलित’हरूले आफ्ना भूमिकालाई पुनः परिभाषा गर्न चाहनु स्वाभाविक हो । अनि, नेपालजस्तो बहुजातीय भनिने देशमा जातीय सवालमा बहस, छलफल तथा अन्तक्रिर्याको थालनी हुनु राम्रो हो किन भने वादको विवादलाई सम्वादमा परिणत गरेर समाजका लागि उपयुक्त निकास निकाल्न सकिएमा यस्ता बहस, छलफल तथा अन्तक्रियाले अपूर्व अवसर समेत प्रदान गर्न सक्छन् ।

तर, यस्ता सवाललाई बुद्धिमत्तापूर्वक सम्बोधन र तिनले उठाएका सवाललाई सही तरिकाले समाधान गर्न नसक्दा परिणाम त्रासदीपूर्ण हुने खतरालाई पनि बिर्सन मिल्दैन । कुनै पनि सवालको जरोसम्म पुग्न सबै पक्ष हेर्नुपर्ने हुन्छ । जातीय सवालका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन् । सकारात्मक तत्व ग्रहण र नकारात्मक तत्व निराकरण नगरी ‘जातीय आन्दोलन’ सही दिशामा अघि बढ्न सक्दैन ।

अनेक खालका व्यक्ति तथा संस्थाको सहभागिता रहेको यो ‘आन्दोलन’ मा कस्ता व्यक्ति वा समूह नेतृत्वदायी भूमिकामा छन् भन्ने कुराले जातीय सवालका बहस, छलफल तथा अन्तक्रिर्याको सकारात्मक वा नकारात्मक कुन दृष्टिकोणले प्रधानता पाउँछ भन्ने निक्र्योल हुन्छ । ‘जातीय आन्दोलन’ मा सहभागिताको स्वरूपबारेमा हामी तल चर्चा गर्ने छौँ, यहाँनेर कम्तीमा यति चाहिँ भन्न सकिन्छ कि आफूलाई ‘आदिवासी’ वा ‘जनजाति’ तथा ‘दलित’ का प्रतिनिधिका रूपमा दाबी गर्नेमध्ये अधिकांशको प्रयत्न मूल प्रवाहबाट बाहिरिएकाहरूलाई समेटेर समष्टि एकतालाई बल पु¥याउनेपट्टिपट्ट छ भनेर ढुक्क हुने स्थिति छैन ।

कतिपयको प्रवृत्ति घृणाको खेती गर्नेतर्फ लहसिएको स्पष्ट देखिन्छ । यतिखेर देशमा जातीय ध्रुवीकरण प्रक्रिया अनावश्यक हदसम्म बढाउन खोजिएको छ । यसरी नेपालको ‘जातीय आन्दोलन’ दिग्भ्रमित भई देश जातीय घृणायुद्धको चपेटामा पर्न सक्ने खतरा बढ्दो छ । जातिवादी घृणाको खेतीले संसारमा कसैको हित भएको छैन भन्ने तथ्य थाहा पाएर पनि त्यही विषवृक्षलाई मलजल गर्ने कार्य भइदिनु देश समाजको स्वास्थ्यका लागि हितकारी पक्कै हैन ।

यस्तो स्थितिमा जातीय आधारमा सुरु गरिएका ‘आन्दोलन’ वा अभियान यथाशीघ्र सही दिशा निर्देशन हुन सकेन भने देश तथा समाजलाई अकल्पनीय हानि पुग्नेछ । तर, यदि हामीले यो जातीय आन्दोलनमा परिचालित उर्जालाई सही किसिमले परिचालन गरेर आ–आफ्नो विशिष्ट जातीय पहिचानका साथमा ‘एक नेपालीजाति’ का रूपमा विकास भइसकेको हाम्रो साझा आत्मचेतमा अझ दृढतापूर्वक एकताबद्ध हुन सक्यौँ भने, अर्थात् वृहद् नेपाली जातीय अवधारणा आत्मसात् गर्न सक्यौँ भनेचाहिँ हाम्रो भविष्य उज्यालो छ ।

विखण्डनको निमित्त निहुँ खोज्ने हो भने त्यस्तो निहुँ जहिले पनि जहाँ पनि भेटिनेछ र एकताको निमित्त आधार खोज्ने हो भने पनि पाइला–पाइलामा पाइनेछ । घृणालाई सम्बन्धको आधार बनाउने हो वा प्रेमलाई ? निर्णय त हामीले गर्नुछ कि के हो हाम्रो अभीष्ट । सहृदयी एकताले उज्यालो भविष्यतिर डो¥याउनेछ र विद्वेषपूर्ण विखण्डनले विनाशलाई निम्त्याउनेछ । विनाश रोज्ने हो वा उज्यालो भविष्यका साथमा सुरुचिपूर्ण वर्तमान रोज्ने ? हामीले यसको निर्णय गर्ने वेला आइसकेको छ ।

हाम्रो समाज यतिखेर चौबाटोमा किंकर्तव्यविमूढ उभिएको छ । हाम्रा अगाडि धेरै समस्या र सवालहरू छन् । तीमध्ये जातीय सवाल पनि एक हो । यसलाई सम्बोधन तथा यसले उठाएका समस्याहरूलाई समाधान नगरी अघि बढ्न चाहनु भनेको घाउलाई छोपेर बेवास्ता गरेजस्तै हो । घाउलाई छोप्नु क्षणिक विस्मृतिका लागि एउटा उपाय हुन सक्ला, तर यो घाउको उपचार पक्कै होइन ।

यदि, राष्ट्रलाई जातीय विद्वेषको भुंग्रोबाट बचाउने हो भने अब राज्य तहबाट साथै जनस्तरबाट पनि नेपालको जातीय सवाललाई ध्यान दिनु र समस्या समाधान गर्नेतर्फ इमान्दार कदम चाल्नु जरुरी भइसकेको छ । जुनसुकै कुराको पनि एउटा वेला हुन्छ र त्योवेला भड्किएपछि पछुताउनु बाहेक अरू उपाय काम लाग्दैन । भोलि पछुताउनु नपरोस् र जातीय सवाल सहजै समाधान गर्न सकियोस् । यसको लागि जातीय ‘आन्दोलन’ वा अभियानमा परिचालित उर्जालाई समय छँदैमा सही ढंगले परिचालन गर्न सक्नुपर्छ ।

‘जातीय आन्दोलन’ मा सहभागिताको स्वरूप

नेपालमा अचेल अनेक प्रकारका संगठनहरू रहेका छन् । संघ–संस्था खोल्न पाउनु मानवअधिकार मानिन्छ र यसलाई मौलिक हकका रूपमा राज्यले संवैधानिक प्रत्याभूति दिएको पनि छ । ०४६ सालको जनआन्दोलनले ल्याएको परिवर्तनपश्चात् राजनीतिक दल, पार्टी र तिनका जनवर्गीय वा भ्रातृ संगठन, धार्मिक, सांस्कृतिक, सामाजिक संस्था, गैरसरकारी संस्था एनजीओ, क्लब, गुठी, साहितीयक संस्था, ट्रेड युनियनलगायतका पेशागत संघ(संगठन आदिको संख्यामा ठूलो मात्रामा बढोत्तरी भएको छ । ती बाहेक विभिन्न जात, जाति वा ‘जनजाति’ को नाममा पनि संगठनहरू खुलेका छन् । अझ सूक्ष्म तहमा गएर थर तथा गोत्रका आधारमा समेत संगठन स्थापना भएका देखिन्छ ।

ब्राह्मण–क्षेत्री समुदायमा थर–गोत्रका आधारमा संस्था बनाएको देखिन्छ । अध्ययनबाट देखिएको छ– ‘थर तथा गोत्रका आधारमा स्थापना भएका संगठनहरू मूलतः वंशवृक्ष पत्ता लगाउने र वंशावली छाप्ने काममा रुचि राख्छन् ।’ वार्षिक (वा कुनै निश्चित समयावधिमा) भेला गरी एउटा औपचारिक नेतृत्व चयन गर्नु, कुलपूजा मनाउनु र आफ्नो थर–गोत्रका केही व्यक्तिलाई पुरस्कार, सम्मान, अभिनन्दन दिनु आदि सामाजिक–सांस्कृतिक गतिविधिमा सन्तुष्ट हुने यस्ता संगठनको कुनै राजनीतिक उद्देश्य देखिँदैन ।

ब्राह्मण–क्षेत्री नेपालको सामाजिक मूलप्रवाहका अग्रणी समुदाय भएकाले राजनीतिक उद्देश्यका लागि जातीय संगठन खोलेर ‘भोट ब्यांक’ को चाल चल्नु हुँदैनथ्यो । संक्षेपमा भन्नु पर्दा, ब्राह्मण–क्षेत्रीले जात वा थर वा गोत्रका आधारमा खोलेका संगठनको उद्देश्य हेर्दा यिनीहरूलाई ‘जातीय आन्दोलन’ अन्तर्गत राख्नु पर्ने कुनै कारण देखिँदैन । जुन ‘जातीय आन्दोलन’ को चर्चा हुने गरेको छ, त्यसमा सक्रिय प्रायः जातीय संगठनहरू ‘जनजाति’, ‘आदिवासी’, ‘दलित’ भनिने गरेका समुदायसँग सम्बद्ध देखिन्छन् ।
( बाँकी अर्को अंकमा)

प्रतिक्रिया