‘भिडियो निर्देशन तथा मोडलिङबाट पाण्डेको सोचेभन्दा राम्रो आम्दानी’

देवेन्द्र पाण्डे

काठमाडौं । विगत लामो समयदेखि चलचित्र क्षेत्रमा आबद्ध देवेन्द्र पाण्डे सुरुमा कोरस नृत्य गर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । त्यसको केही समयपछि उनी चलचित्रमा सहायक निर्देशक, मुख्य सहायक निर्देशक हुँदै निर्देशक बने । चलचित्र र वृत्तचित्र निर्देशन गरिरहेका उनले म्युजिक भिडियोसमेत निर्देशन गर्दै आएका छन् ।

यस क्षेत्रबाट सोचेभन्दा राम्रो आम्दानी गरिरहेको बताउने पाण्डे भन्छन्, ‘पहिले चलचित्र क्षेत्र खासै राम्रो थिएन तर अहिले राम्रो उद्योगको विस्तारित भइरहेको छ । यस क्षेत्रबाट करिब एक लाखभन्दा बढीले प्रत्यक्षरूपमा रोजगारीप्राप्त गर्ने अवसर प्राप्त गर्दै आइरहेका छन् ।’  चलचित्र क्षेत्र दिनप्रतिदिन प्राविधिक रूपमा सक्षम हुँदै गएको उनले जिकिर गरे । उनले भने, ‘कतिपय नेपाली चलचित्र निकै राम्रा र स्तरीय बनेका छन् । तैपनि यसको विकास, सुदृढीकरण, प्रविधिको पहुँच लगायतका विषयमा राम्रो गर्नुको विकल्प हामीसँग छैन । साथै नेपाली चलचित्रमा प्रस्तुति र विषयमा अझैं मिहिनेतको खाँचो छ ।’

निर्देशक पाण्डेको नजरमा नेपाली चलचित्र उद्योगमा पछिल्लो समय निकै सम्भावना बढेर गएको छ । उनी भन्छन्, ‘यस क्षेत्रले मनोरञ्जनमात्रै नदिइकन रोजगारी समेत दिएको छ । सांस्कृतिक क्षेत्र भए पनि नेपालमा चलचित्र क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । साथै नेपाली चलचित्रले जनतालाई सन्देशमूलक जानकारीसमेत दिँदै आएको छ । जसले आममानिसलाई यस क्षेत्रप्रति भरोसामात्रै नभई विषय र समाजप्रति सचेत हुने वातावरण निर्माण गर्न सफल भएको छ ।’

सामाजिक कुरीति, कुसंस्कार तथा सकारात्मक परिवर्तनमा नेपाली चलचित्र जगतको विशिष्ट भूमिका रहेको बताउने पाण्डेले यस क्षेत्रमा लाग्नेले लगनशीलता र इमान्दारिता प्रस्तुत गर्नुपर्ने तर्क गरे । उनले नेपाली समाजप्रतिको दायित्वलाई बुझ्ने व्यक्तिको खाँचो चलचित्र क्षेत्रमा चाहिएको जिकिर गर्दै भने, ‘चलचित्रले व्यापार मात्र गरेर होइन, सामाजिक क्षेत्रमा समेत सकारात्मक परिवर्तन गर्न सक्नुपर्छ ।’

पाण्डेले चलचित्रले अन्य गतिविधिभन्दा छिटो जनमानसमा सन्देश प्रसार गर्न सक्ने भएकाले यसको विकासमा सरकारले समेत योजनाबद्ध ढंगले लगानी बढाउनुपर्ने बताए । उनले भने, ‘यसले ज्ञान दिन्छ, मनोरञ्जन दिन्छ र व्यक्तिको पीडा हटाउँछ । त्यस्तै, सामाजिक सद्भावलाई दिगो बनाउन पनि चलचित्रको अहम् भूमिका हुने भएकाले यो महत्वपूर्ण सांस्कृतिक क्षेत्र हो । यसमा राज्यले सचेत ढंगले लगानी बढाउनुपर्दछ । यसो हुनसकेमा मात्रै नेपाली चलचित्र जगतको विकाससँगै कला र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्न जान्छ ।’

चलचित्र क्षेत्रले नेपाली जनताको विचार निर्माणमा समेत सकारात्मक परिवर्तन ल्याएको दावी गरे । उनले भने, ‘चलचित्र जगतले समसामयिक घटनालाई कलात्मक रूपमा प्रस्तुत गरेर सामूहिकताको विकासमा टेवा पु¥याएको छ ।’

  नेपालमा चलचित्र क्षेत्रसम्बन्धी ज्ञान दिने संघ–संस्था तथा पाठशालाको कमी भएको उनले दुखेसो पोखे । उनले थपे, ‘हालसम्म करिब एक लाखभन्दा बढीलाई रोजगारी दिएको चलचित्र उद्योगको प्रवद्र्धनमा सरकारी पक्षबाट ठोस पहल गरिनु आवश्यक छ । गुणस्तरीय चलचित्र उत्पादन गर्न सिपालु जनशक्ति आवश्यक पर्छ, जसका लागि पाठशाला तथा सिक्ने ठाउँ सहजै उपलब्ध हुने व्यवस्था गर्नुपर्दछ ।’

प्रतिक्रिया