अतिक्रमण हटाउन ‘अकुपाइ टुँडिखेल’

काठमाडौं । राजधानीको टुँडिखेललाई अतिक्रमणमुक्त गर्न ‘अकुपाइ टुँडिखेल’ अभियान सञ्चालन गरिने भएको छ । टुँडिखेलमा भइरहेको अतिक्रमणबाट मुक्त गरेर सार्वजनिक पार्कमा परिणत गर्नका लागि सो अभियान सञ्चालन गर्न लागिएको हो ।  सम्पदा संरक्षणका अभियन्ताले पटकपटक दबाब दिइरहँदा पनि खुला क्षेत्र मास्नेक्रम घटेको छैन । ६ महिनाअघि मात्र खुलामञ्चमा पसल राख्न ५२ वटा सटर राखिएको थियो । त्यसको चौतर्फी विरोध भएपछि काठमाडौं महानगरापालिकाले डोजर लगाएर टहरा भत्कायो । खुलामञ्च कब्जा गर्नेक्रम ०७१ सालदेखि सुरु भएको हो । यसरी पटकपटक कब्जा गर्दा खुल्ला स्थान नै नरहनेस्थिति आएको भन्दै जोगाउनका लागि अभियानकै रूपमा अगाडि बढेको अभियान्ता गणपतिलाल श्रेष्ठले बताए ।

खुल्लामञ्च जोगाउन २३ कात्तिकमा भनेको विश्व स्वतन्त्रता दिवसको अवसर पारेर यस्तो अभियान सञ्चालन गर्न लागिएको अभियन्ता गणपतिलाल श्रेष्ठले जानकारी दिए । राजनीतिक, आर्थिक, सामाजिक तथा ऐतिहासिक महत्व बोकेको टुँडिखेललाई अतिक्रमण हटाएर सार्वजनिक उपयोगमा ल्याउनुपर्ने अभियन्ताहरूले माग गर्दै आएका छन् । सार्वजनिक जग्गा खुल्लै राख्न दबाब दिन अभियान सञ्चालन गर्न लागिएको अभियन्ताको भनाइ छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो विषयमा जानकरी दिइएको थियो । सो कार्यक्रममा बोल्दै सांसद विराज भट्ट श्रेष्ठले टुँडिखेल तीन करोड नेपालीको सम्पत्ति भएकाले यसलाई जोगाउनु पर्ने धारणा राखेका थिए । जनता नउठेसम्म कुनै कुरा टुंगोमा नपुग्ने भन्दै एकजुट भएर अगाडि बढ्नु पर्ने उनको धारणा थियो ।

‘हामीले टुँडिखेललाई जनताको स्वामित्वमा ल्याउने नागरिक अभियान सुरु गर्ने निर्णय गरेका छौँ । यो हाम्रो विरोध होइन, स्वतन्त्र अभियान हो’, अभियन्ता श्रेष्ठले भने । अभियानका क्रममा २३ गते बिहान ८ बजे टुँडिखेलमा जम्मा भएर मानव साङ्लो बनाएर टुँडिखेल घेरिने जनाइएको छ । अभियन्ताहरूले यसमा विभिन्न राजनीतिक दलका नेता, सांसद तथा हजारौँ सर्वसाधारणको सहभागिता रहने जनाएका छन् ।

‘पहिलो चरणमा बसपार्क हटाउन, खुलामञ्च खाली गर्न दबाब दिन्छौँ,’ अभियान संयोजक विजय श्रेष्ठले भने, ‘अन्तिम चरणमा सेनाले बनाएका संरचना हटाउन शान्तिपूर्ण दबाब दिन्छौँ ।’ ‘एसियाकै ठूलो परेड मैदान’ का रूपमा परिचित टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने नागरिक अभियान चलाएर खुला स्थानमा पार्क बनाउन सरकारलाई दबाब दिने र सर्वसाधारणलाई सहरी क्षेत्रमा पार्कको महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अभियन्ताहरूको भनाइ छ ।

टुँडिखेलको लगभग आधा भागमा सेनाको हेडक्वार्टर र खेल मैदान रहेको छ । सेनाले टुँडिखेलकै जग्गामा आर्मी अफिसर्स क्लब’ बनाएको छ । जसलाई सेनाले भाडामा लगाएर आम्दानीको स्रोतका रूपमा उपयोग गरिरहेको छ । रत्नपार्क र सैनिक मञ्चबीचको खुलामञ्चमा काठमाडौं महानगरपालिकाले पार्किङ स्थल बनाएको छ । केही वर्षअघिसम्म राजनीतिक दलका आमसभा हुने खुलामञ्चसमेत अतिक्रमणमा पर्दै आएको छ । अभियानबाट सबै प्रकारका अतिक्रमण हटाएर पुरानै स्वरूपमा फर्काउने र सार्वजनिक हित र आपत्विपद्मा उपयोग गर्न सकिने बनाउने उद्देश्य अभियानको रहेको अभियन्ताले बताएका छन् ।

संरक्षण अभियन्ताहरू भन्छन् , ‘भृकुटीमण्डप र वागमती किनार सुकुम्बासीले कब्जा गरेजस्तै खुलामञ्च पनि कब्जा गर्ने रणनीति हो, तर हामी दबाब दिन छाड्दैनौँ ।’ ०७१ फागुन २२ गते महानगरका तत्कालीन कार्यकारी अधिकृत रुद्रसिंह तामाङको पालामा पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर बनाउने सम्झौता भएको थियो । अर्को व्यवस्था नभएसम्म खुलामञ्चमा बसपार्क सार्ने अनुमति महानगरले दियो । अस्पतालको वातावरणमा प्रभाव पर्छ भन्दै त्यसबेला वीर अस्पतालले आपत्तिसमेत जनाएको थियो ।

‘अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि’ भनिए पनि त्यहाँबाट सारिएन । बसपार्क सञ्चालन गर्दा औषधि पसल, शौचालय, टिकट काउन्टर विश्रामस्थल गरी चारवटा संरचना बनाउने सहमति थियो । ठेकेदार कम्पनी स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले आफ्नै खर्चमा अस्थायी बसपार्क बनाउने, फोहोरमैला व्यवस्थापन गर्नेलगायतका बुँदा पनि समेटिएका थिए । अस्थायी बसपार्क प्रयोग गरेबापत काठमाडौं महानगरपालिकालाई वार्षिक ५० लाख रुपैयाँ राजस्व बुझाउने सहमति थियो । भ्यु टावर निर्माण अवधि तीन वर्ष तोकिए पनि पाँच वर्षमा बल्ल निर्माणको काम सुरु भएको छ । यसले गर्दा खुलामञ्चको बसपार्क तत्काल हट्ने अवस्था देखिँदैन ।

खुलामञ्च जनताको मञ्च भएकाले यसलाई जसरी पनि जोगाउनुपर्ने धारणा राख्दै अभियान्ता सञ्जय अधिकारी भन्छन्, ‘०४६ सालमा प्रजातन्त्र आउँदा हाम्रा नेताहरूले यही मञ्चमा विजयसभा गर्नुभयो,’ उनी भन्छन् ‘०६३ सालमा लोकतन्त्र आउँदा पनि यही मञ्चमा सभा भयो । जनताले आफ्नो मत राख्ने ऐतिहासिक थलो हामी मास्न दिँदैनौँ ।’

प्रतिक्रिया