रौतहट हत्याकाण्ड प्रकरण : आलम राज्यमा निवदेक नै प्रभावमा

रौतहट । ‘राज्यका पदमा बस्नेहरूका विरुद्ध गाउँका सामान्य मानिसले न्याय माग्न त कठिन रहेछ’, रौतहट बमकाण्डको घटनाको मुद्दामा वादीको पक्षमा बहस गरिरहेका वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको भनाइ हो यो । ‘आलमजीको दबदबा त गजबै लाग्यो…बहस सुरु हुनु अगाडि नै एकजना साथी बयान बदल्न बेन्च आइपुगे’, उनले इजलासभित्रको अवस्था बयान गर्दै भने, ‘पहिलो चोटी प्रहरीको सुरक्षामा बसेर बहस गर्नुपर्ने अवस्था । वकिलहरू बसेको वरिपरि सबैतिर प्रहरी ।’ उनका यी भनाइबाट थाहा लाग्छ, पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध बहस गर्न कति कठिन छ । भएको पनि यस्तै छ । प्रहरीमा उजुरी दिने नै अहिले सोही उजुरीविरुद्ध अर्को निवेदन लिएर अदालत पुगेका छन् । निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा जस्तै यो मुद्दामा पनि पिडित भनिएकाले नै पिडक पक्षलाई फाइदा पुग्ने गरी उजुरी लिएर पुगेपछि नयाँ मोडमा पुगेको हो । १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद आलमको थुनछेक बहस शुक्रबार पनि सकिएन ।

रौतहटका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमलाई थुनामै राखेर मुद्दाको पुर्पुक्ष (मुद्दाको सुनुवाइ प्रक्रिया) अघि बढाउने कि थुनाबाहिर राखेर भन्नेबारे बहस जारी छ । शुक्रबार सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाहरूका वकिलले सुरु गरेका थिए । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता युवराज संग्रौला, दिनेश त्रिपाठी, कुमार शर्मा, अधिवक्ता गोविन्द बन्दी, आशिकराम कार्की, पुष्पराज पौडेल, ओमप्रकाश अर्याल र मनीषकुमार श्रेष्ठले बहस गरेका थिए । सोमबार आलमका वकिलहरूले बहस गर्नेछन् ।

आलमका तर्फबाट भने वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे, प्रेमबहादुर खड्का, अधिवक्ता सुनिल पोखरेल र योगेन्द्र बहादुर अधिकारीले बहस गर्नेछन् । बहस सकिएपछि आलमलाई थुनामै राखेर मुद्दाको पुर्पुक्षअघि बढाउने कि थुनाबाहिर राख्ने अदालतले निर्णय गर्नेछ । १२ वर्षसम्म घटना लुकाउन सफल आलमराजको कति दबदबा छ भनेर शुक्रबार देखिएको छ ।

पीडितलाई आर्थिक आश्वासन
मुख्य अभियुक्त आलमको दबदबा अदालतमा भइरहेको थुनछेक बहससम्म पुगेको देखिएको छ । कानुनीरूपमा कठघराबाट छुट्ने असम्भव जस्तै देखेका आलमले पीडितलाई प्रलोभनमा पार्ने प्रयास गरेको अडियो रेकर्डिङ फेला पारेको छ ।  आलमले घटनामा मारिएका ओसी अख्तर मियाँकी श्रीमतीसहितका प्रत्यक्षदर्शी र साक्षीलाई प्रलोभनमा पार्ने प्रयास गरेका हुन् । २७ चैत ०६४ मा संविधानसभा निर्वाचनको एक दिनअघि घटनामा मारिएका ओसी अख्तर मियाँकी श्रीमतीलाई प्रतिवादी पक्षले अदालतमा उपस्थित गराएर निवेदन दिन ल्याएको छ । ‘थुनछेक बहस भइरहँदा घटनामा मारिएका ओसी अख्तरकी श्रीमतीलाई अदालत ल्याइएको थियो’, स्रोतले भन्यो, ‘ती महिलाले दिएको निवेदन अदालतमा पेस भएको छ ।’ तर, इजलासले उक्त निवेदन दर्ता गरेन ।

घटनाको अनुसन्धानको क्रममा तत्कालीन समयमा मृतककी श्रीमती अमना खातुनले उनकी सासु रोक्साना खातुनकै भनाइ उद्धृत गरेर श्रीमान्लाई आलमका सहयोगीहरूले लिएर गएको र त्यहाँ भएको विष्फोटमा मारिएको भन्ने कागज गरिदिएकी थिइन् । तर, २१ कात्तिकमा आलमका सहयोगीहरूले उनलाई अदालतमा ल्याएर अर्को निवेदन दिन लगाएका छन् । मृतककी पत्नी अमना खातुनले तत्कालीन समयमा आफ्नो श्रीमान वैदेशिक रोजगारमा गएको र त्यहाँ मारिएको भन्ने व्यहोरा उल्लेख गरेर निवेदन दिएको स्रोतले बताएको छ । आलमका सहयोगीहरूको त्रासबाट केही प्रत्यक्षदर्शी र साक्षीसमेत डराएपछि प्रहरीले उनीहरूको सुरक्षामा ध्यान दिएको छ ।

आलमका सहयोगीहरूले मृतक ओसी अख्तरका छोरालाई पाँच कठ्ठा जमिन र पाँच लाख रुपैयाँ दिने प्रलोभन दिएको अडिओ समेत प्रहरीले फेला पारेको स्रोतले बतायो । पहिलो संविधानसभा निर्वाचनको एक दिनअघि २७ चैत २०६४ को बेलुकी साढे ६ बजे तत्कालीन राजपुर फरहदवा गाविसमा रहेको आलमका काका शेख इद्रिसको घरमा बनाउँदै गरेको बम पड्किएर पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्ति घाइते भएका थिए । त्यसपछि घटना सार्वजनिक हुने डरले घाइतेहरूलाई आलमसमेतले सुरक्षाकर्मीको सहयोग लिएर गाउँकै एक व्यक्तिको इँटाभट्टाको चिम्नीमा जलाएर मारेको अभियोग छ ।

पूर्वएसपी झिकाउन इन्टरपोल
सशस्त्र प्रहरीका तत्कालीन एसपी पनि तानिएका छन् । ती अधिकृतलाई इन्टरपोलमार्फत झिकाउन रौतहट प्रहरीले प्रक्रिया अघि बढाएको हो । प्रहरीले तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा रहेको खुलेपछि इन्टरपोल गुहारेको हो । लामालाई इन्टरपोलमार्फत उपस्थित गराउन अनुरोध गर्दै प्रहरी प्रहरी प्रधान कार्यालयले इन्टरपोल शाखालाई पत्राचार गरेको छ । २७ चैत ०६४ मा रौतहटमा भएको विस्फोटमा घाइते भएकाहरूलाई जलाएर मारेको घटनाका अनुसन्धान अधिृकत, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पपु नायकले १५ कात्तिकमा शाखालाई पत्रचार गरेर लामालाई उपस्थित गराइदिन भनेका छन् ।

ललितपुर उममहानगरपालिका–१३ निवासी सशस्त्र प्रहरीका पूर्वएसपी लामालाई झिकाउन रौतहट प्रहरीले सुरुमा महानगरीय प्रहरी वृत्त सातदोबाटोलाई पत्राचार गरेको थियो । तर, सातदोबाटो वृत्तले पूर्वएसपी लामा घरमा नरहेको र ६ महिनादेखि हङकङमा रहेको जानकारी पठाएपछि रौतहट प्रहरीले उनलाई झिकाउन इन्टरपोल शाखालाई पत्राचार गरेको हो । पत्रमा उक्त घटनाको अनुसन्धानको क्रममा ‘वारदातको समयमा घटनासँग जोडिएका जिम्मेवार उच्चपदस्थ अधिकारीहरू समेतलाई बुझ्न आवश्यक देखिएकोले’ भन्दै पूर्वएसपी लामालाई झिकाउन भनिएको छ ।

प्रतिक्रिया