‘पानीपत’ को पोस्टर सार्वजनिक

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त तथा अर्जुन कपुर अभिनीत चलचित्र ‘पानीपत’ का तीनवटा पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले पहिला अभिनेता सञ्जय दत्तको पोस्टर सार्वजनिक गरेको थियो । त्यसपछि अभिनेत्री कृति सेननको र अन्त्यमा अर्जुन कपुरको पोस्टर सार्वजनिक गरेको छ ।

सञ्जयले सामाजिक सञ्जाल ट्विटर तथा इन्स्टाग्राममार्फत् उक्त पोस्टर सार्वजनिक गरेका थिए । सो पोस्टरमा अभिनेता सञ्जय लडाकुको रूपमा प्रस्तुत भएका छन् । जसमा उनलाई निकै प्रभावशाली रूपमा देखाइएको छ । त्यस्तै, दोस्रो पोस्टरमा अभिनेत्री कृतिलाई पार्वती बाईको चरित्रमा प्रस्तुत गरिएको छ । अभिनेता अर्जुन रहेको अर्को पोस्टरमा उनलाई सदाशिव रावको भूमिकामा देखाइएको छ । सार्वजनिक तीनवटै पोस्टर मंगलबार सार्वजनिक गरिएको हो ।

चलचित्रमा सन् १७६१ मा मराठी तथा अफगानिस्तानका सुल्तान अहमद शाह अब्दालीका सेनाबीच पानीपतमा भएको लडाइँलाई उधिनिएको छ । पानीपतको तेस्रो लडाइँमा आधारित यो चलचित्र अर्जुन कपुरले सदाशिव रावको भूमिका निर्वाह गरेका छन् । उनी अर्थात् सदाशिव पेशवा बाजीराव प्रथमका भतिजा तथा मराठा सेनाका कमान्डर इन चिफ थिए । त्यसैगरी, सञ्जय दत्तले अफगान सुल्तान अहमद शाह अब्दालीको भूमिका निर्वाह गरेका छन् । अभिनेत्री कृतिले सदाशिव रावकी दोस्री श्रीमती पार्वती बाईको चरित्रमा प्रस्तुत भएकी छन् ।

सार्वजनिक पोस्टरका बारेमा अभिनेता सञ्जय दत्तकी छोरी त्रिशालाले प्रशंसा गर्दै लेखेकी छन्, ‘लभ यु ‘तपाईं निकै शानदार देखिनुभएको छ ।’

यसबीच यस चलचित्रको ट्रेलर पनि सार्वजनिक गरिएको छ । ६ डिसेम्बरमा प्रदर्शनमा आउने तयारीम रहेको यो चलचित्रले भारतका लागि हुने लडाइँको कथालाई प्रस्तुत गरेको छ । आशुतोष गोवारिकरले निर्देशन गरेको यो चलचित्रमा अर्जुन कपुर, संजय दत्त, कृति सेननलगायतका कलाकारको अभिनय छ । सार्वजनिक चलचित्रको ट्रेलरका केही दृश्य चलचत्रि ‘पद्यमावत’ सँग मेल खाने खालका छन् । यो चलचित्र अभिनेता अर्जुन कपुरको करिअर निरन्तररूपमा ओरालो लागिरहेका वेलामा सार्वजनिक हुने भएको छ ।

प्रतिक्रिया