लोप हुँदै गन्धर्वको पेसा

‘दुःखीलाई आएन कालः बाचुञ्जेली सधैँको यही चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाका चुराबहादुर गन्धर्वले सारंगी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो । सात वर्षको उमेरबाट गीत गाउन सिकेको उनी अहिले ६९ वर्षको भए । उनले जानेको पेसा भनेकै सारंगी रेट्नु र गीत गाउनु हो ।

उमेर घर्कंदै गएकाले होला शरीरमा पहिलेझैँ काम गर्ने जागर छैन । तर, आफ्नो गायन पेसाप्रति भने उनको रुचि घटेको छैन । आफ्ना बाउबाजेले गाउँगाउँमा गई गीत गाएरै जीविकोपार्जन गरेको परम्परालाई उनी कायम राख्न चाहानछन् । बाबुवाजेले गरेको कामलाई निरन्तरता दिन चाहने उनीको शरीरले साथ छोड्न थालेको । उनलाई उमेरले साथ छोडदै छ भने उनका छोराहरू उनी जस्तै बाबुको बिँडो थाम्ले पक्षमा छैनन् । त्यसैले उनको सन्तानले बाबुको रुची र पेसा प्रति ध्यान दिनसकेका छैनन् ।

पहिले–पहिले आजकाल जस्तो मोटर गुडने सडक थिएनन् । खाद्यान्न तथा दैनिक खर्च चलाउने सामग्री गाउँबाटै जुटाउनुपथ्र्यो । जसले गर्दा गन्धर्व जातिका मानिस गाउँगाउँमा गीत गाउन जाने गर्थे । गीत गाएपछि गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले आफ्नो जीविकोपार्जन चलाउँथे । समय फोरिएको छ, मान्छेको सोचाइ र जीवनशैली पनि फेरिएको छ । त्यसलै सारंगी सुन्ने र सुनाउने घट्दै छन् ।

चुराबहादुर पनि गाउनकै लागि जिल्लाका पूर्तिघाट, शान्तिपुर, रेमी, रिमुवालगायतका थुप्रै ठाउँ काधमा सारंगी बोकेर पुग्थे । ६२ वर्षसम्म उनले देशमा धेरै शासन–व्यवस्था परिवर्तन भएको देखे । थुप्रैले निर्वाचनमा भोट मागेको र महत्वपूर्ण आशा देखाएको उनीसँग अझै सम्झना ताजा छ । विडम्बना, उनले भने अझै पनि शासन–व्यवस्था परिवर्तन भएको महशुस गर्न पाएका छैनन् । तीनै शासन व्यवस्था र सामाजिक विकृतिका बारेमा उनले सारंगीको धुनसँगै धेरै गीत गाए, सुनाए ।

उनको गायन पेसा फष्टाउनुको सट्टा झन खुम्चदै गएको छ । आफूहरूको गायन पेसालाई छोरानातीले ध्यान नदिएको र राज्यले पनि संरक्षणमा चासो नदिएका कारण लोप हुँदै गइरहेको चुराबहादुरको गुनासो छ । ‘गाउँका मान्छे अझै पनि सारंगीको धुनसँगै गीत सुन्ने चाहना गर्छन्, तर उमेरले साथ दिएन’, उनले भने, ‘राज्यले हेर्ला भनेको हामीलाई हेरेन, छोराले सिकेनन् ।’ उनले आफ्ना समस्या र राज्यसँगको अपेक्षा सुनाए ।

उनका छिमेकी प्रेमबहादुर गन्धर्व उमेरले ५० वर्ष पुगे । उनले पनि नियमित गन्धर्व जातिको गीत गाएरै जीविकोपार्जन गर्न थालेको २६ वर्ष भयो । उनका १२ छोराछोरीमध्ये अहिले ११ जीवित छन् । उनी गीत गाउनकै लागि जिल्लाका विभिन्न स्थानसँगै पर्वत, बागलुङ, अर्घाखाँचीलगायतका स्थान पुग्ने गर्छन् । गीत गाएर सुन्नेले दिएको पैसा रासनबाटै परिवारको गुजारा गगर्दे आएका छन् । तर, उनका पनि जाँगर सेलाउँदै गएको छ । अहिले उनको गाउने जागर कम भएको छ, उमेरमा जस्तो उत्साह र जोश छैन उनमा ।

प्रेमबहादुरको जाँगर सेलाउनुको कारण हो, उनको पेसा सम्मानजनक नहुनु । ‘गाउँमा गीत गाउन जाँदा पहिलेजस्तो सम्मान हुँदैन, थोरैले घरखर्च चल्दैन,’ प्रेमबहादुरले भने, ‘बाध्य भएर गायन पेसाप्रति कम समय दिनुपरेको छ ।’ उनले आफ्नो बाध्यता सुनाए । हुन पनि कुराले चिउरा भिज्दैन भन्ने नेपाली उखान छ । उनलाई पनि त्यस्नै भएको छ, बाँच्नलाई आधारभूत आवश्यकता चाहिन्छ जुन उनले गाएर पाउन सकेका छैनन । पहिले–पहिले गीत गाइसकेपछि अन्न, नुनलगायतका सामग्री दिए पनि आजभोलि पैसा मात्र दिन थालेको उनले बताए । प्रेमबहादुरले गीत गाउने मात्र होइन, सारंगी बनाउन पनि जानेका छन् ।

आफै सारंगी बनाउने र बजाउने हुँदा केही रूपमा सहज छ उनलाई । तर समाजले नै नकारात्मक रूपमा हेर्दा आफूलाई दुःख लाग्ने गरेको उनी बताउँछन् । ‘कुनै–कुनैले राम्रो व्यवहार गरेपनि धेरैले खासै राम्रो मान्दैनन्,’ उनले भने, ‘गाउन जाँदा कतिको वचनसमेत सुन्नुपर्छ ।’ पेसा प्रति मान्छेको बुझाइ र हेराइबारे उनले भने ।

नयाँ पुस्ताले सिकेनन्
चुराबहादुरका चार छोरा छन् । तीमध्ये जेठो छोराले घर–गाउँमै मजदुरी गरी परिवारको गर्जो टार्दे आएका छन् । माइलो, साइलो र कान्छो रोजगारीको लागि भारतमा छन् । प्रेमबहादुरका पनि तीन छोरा छन् । तीमध्ये एउटा सानै छ । दुईमध्ये जेठाले गाउँमा ठेक्कापट्टाको काम गर्छन् भने अर्को रोजगारीका लागि विदेश जाने तयारीमा छन् । उनीहरू कसैले पनि बाबुबाजेले गर्दे आएको गाउने र सारंगी बजाउने कामलाई पेसा बनाएनन् ।

बम्घामा गन्धर्व जातिका ११ घर छन् । तीमध्ये तीनजना वृद्धले मात्र सारंगी रेट्दै गीत गाउने गर्छन् । चुराबहादुर, प्रेमबहादुर र बलबहादुर हुन् त मात्रै ती तीन जना । गीत गाउने अन्यको निधन भइसकेको छ । पुराना हराउँदै गए । नयाँ विदेश धाउन थालेपछि यो पेसा लोप हुँदै गएको छ ।

‘अहिलेसम्म जसोतसो पेसा थामिएको छ, तर अब धेरै नरहने भयो,’ चुराबहादुरले भने, ‘छोराहरूले सिक्नै खोज्दैनन् ।’ आफूले छोराहरूलाई सिक्न धेरै आग्रह गरेपनि उनीहरूले नमानेको उनको गुनासो छ । प्रेमबहादुरले पनि नयाँ पुस्ताले आफ्नो पेसा अनुशरण गर्न नसक्दा पेसा नै संकटमा परेको बताए ।

आफू रहुञ्जेल सारंगी बजाए पनि आफुपछि यो पेसा नै लोप हुनेमा चिन्ता व्यक्त गरे । ‘सारंगी रेटेरै मैले परिवार चलाए, तर अहिले कसैले सिक्न खोजेनन्, उनले भन, ‘रेडियो, टेलिभिनसँगै गायन पेसा पनि लोप हुँदै गएको छ ।’

प्रेमबहादुरका माइला छोरा शरण गन्धर्वले गायन पेसाबाट जीविकोपार्जन नचल्ने भएकोले आफूहरूले बढी चासो नदिएको बताएका छन् । गाउँगाउँमा आधुनिक मिडिया र प्रविधिको विकास भएसँगै मानिसले गायन पेसालाई त्यत्ति महत्व दिन छाडेकोले आफूहरूले पनि गाउन नसकेको उनले बताए । रोजगारीको लागि भारतमा रहेका शरण केही समयको लागि घर आएको बताए । ‘यही पेसाले हामी हुर्कियौँ, यसलई जोगाउन मन त लाग्छ,’ उनले भने, ‘तर आम्दानी हुँदैन ।’ यदी राज्यले व्यवसायीकरण गर्न सहयोग गरेको खण्डमा आफूहरू त्यसमा लाग्ने उनले बताए ।

प्रतिक्रिया