आम मानिसलाई स्वस्थ राख्ने अभियन्ता मधुसूदन

शारीरिक, मानसिक, समाजिक र अध्यात्मिकरूपमा स्वस्थ्य मानिस नै पूर्ण रूपमा स्वस्थ्य हुने विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनको यो परिभाषा अनुसार एउटा स्वस्थ्य मानिस त्यो हो जो आफ्नो शरीर स्वस्थ्य राख्नुका साथ साथै मानसिक, सामाजिक र आध्यातिमक रूपमा स्वस्थ्य छ । यही पूर्ण स्वास्थ्यका लागि हाम्रा पूर्वजहरूले हजारौं वर्ष अघि प्रतिपादन गरेको सुत्र हो योग तथा आयुर्वेद । हाम्रा पूर्वजहरूले पूर्ण स्वास्थ्यका लागि प्रतिपादन गरेको योग तथा आयुर्वेद आज संसारभरि लोकप्रिय भएको छ । कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रूपमा हिन्दू, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो योग भने आयुर्वेदतर्फ पनि यतिवेला आकर्षण बढदो छ ।

स्वस्थ्य, निरोगी, दीर्घजीवि कसरी हुने ? यसको सबैभन्दा सरल र प्राकृतिक विधी हो, योग । न हामी उपचार गरेर निरोगी हुन्छौँ, न औषधि सेवन गरेर नै । यद्यपि, स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ, जसले हामीलाई निरोगी, जवान, उर्जावान् बनाउँछ । पछिल्लो समय भारतमा रामदेवले यसलाई अझ सहज र सरल तरिकाबाट जनजनमा ल्याउने काम गर्नुभयो । नेपालमा पनि योगको महत्व र योगबाट स्वास्थ्यका लागि विभिन्न व्यक्ति वा संस्थाहरूले कार्यसञ्चालन गरिरहनुभएको छ । यस्तै मध्येका एक हुनुहुन्छ मधुसूदन भेटवाल । उहाँ डिभाइन योग सेन्टर, हिमालयन योग एकेडेमी, इन्स्टिच्युट अफ नेचुरल मेडिसिन, कैवल्य योगलगायतमार्फत आफ्ना ज्ञानहरू स्वास्थ्य जीवनयापनका लागि बाँडिरहनुभएको छ ।

अहिले बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरूलाई स्वस्थ रहन पनि योग आवश्यक छ’, उहाँ भन्नुहुन्छ ‘जब मानिस व्यक्तिगत, शारीरिक, मानसिक, सामाजिक रूपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।

०४४ साल फागुन २मा नुवाकोटको ककनी–८मा बुबा शिवराम भेटुवाल र भगवती भेटुवालको पहिलो सन्तानका रूपमा यस धर्तिमा आउनुभएका मधुसूदन यतिवेला योगका कारण देश विदेशमा चर्चामा हुनुहुन्छ । कठोर तपस्या, साधना र अध्ययनले आफूलाई योगीका रूपमा नेपाल र नेपालबाहिर चर्चा पाउनुभएका मधुसूदन वर्षमा ६ महिना हिमालयकै सेरोफेरोमा बस्नुहुन्छ । त्यसैले उहाँ ‘हिमालय योगी’का रूपमा चिरपरिचित हुनुहुन्छ । आफ्नै साधनाका लागि त्यहाँ बस्ने उहाँ यसका अतिरिक्त हिमालमा रहेर योग गर्न चाहने विभिन्न मुलुकका योगप्रेमी पर्यटकलाई पनि प्रशिक्षण दिनुहुन्छ ।

कलिलै उमेरदेखि आध्यात्मिक चिन्तनतर्फ हेलिनुभएका मधुसूदनले ०६१ सालदेखि योग गर्न थाल्नुभएको हो भने ०६४मा औपचारिक रूपमा रामदेवको पतञ्जली योग आश्रममार्फत जोडिनुभयो । योगमा लागेको यो १५–१६ वर्षको यात्रामा उहाँका सयौँ स्वदेशी तथा विदेशी अनुयायीहरू रहेका छन् । नेपाल संस्कृति विश्वविद्यालयबाट योग–प्राकृतिक चिकित्सा विषयसमेत अध्ययन गर्नुभएको उहाँले भारत, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्सलगायतका देशमा गएर योग प्रशिक्षण दिनुभएको छ भने उहाँकै सक्रियतामा योगले खेलकुदको रूपमा राष्ट्रिय खेलकुद् परिषद्भित्र प्रवेश पाएको हो ।

उहाँ सन् २०१७ मे ६–९मा सम्पन्न प्रथम साउथ एसियन योग स्पोर्टस् च्यान्पियनसिपमा उमेर समूहबाट दोस्रो हुनुभयो भने सन् २०१८ जनवरी १७–१८मा सम्पन्न प्रथम नेसनल योग स्पोर्टस च्यान्पिनसिप खेलमा पनि दोस्रो हुनुभयो । यसैगरी, २०१९ जुन ८–९मा भएको सेकेन्ड नेसनल योग स्पोर्टस् च्यान्पिनसिपमा आफ्नो उमेर समूहबाट प्रथम र सबै उमेर समूहको प्रथमबाट उत्कृष्ट हुन सफल हुनुभयो । त्यस्तै २०१८ मे ४–६मा सम्पन्न प्रथम साउथ एसियन योग स्पोर्टस च्याम्पियनसिपमा नेपाल प्रथम हुनुभयो ।

त्यसैले त देशको गरिमा बढएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले उहाँलाई प्रोत्साहनपत्रसँगै स्वर्ण पदकबाट सम्मान ग¥यो । त्यस्तै प्रथम माउन्ट एभरेस्ट इन्टरनेसनल योग फेष्टिबल–२०१८मा उहाँ प्रथम हुनुभयो । यसका अतिरिक्त उहाँले क्षेत्रीय, जिल्ला, अञ्चल एवम् राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न सभा, सम्मेलन र प्रतियोगितामा भाग लिएर आफ्नो कला प्रदर्शन गर्दै सम्मान, अभिनन्दन तथा पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले साउथ एसियन कप योगा कम्पिटिसन–२०१८ र २०१९मा जुरी (निर्णायक)को भूमिकासमेत निर्वाह गर्नुभएको छ ।

योग मानिसको सम्पूर्ण स्वास्थ्यका लागि भएको बताउनुहुने मधुसूदन नेपालमा मानिसहरू विभिन्न रोगबाट ग्रसित भएको बताउँनुहुन्छ । उहाँ पहिले पहिले रासायनिक मल थिएन, खानामा विषादिको प्रयोग थिएन, जसले गर्दा खाना स्वस्थ्य थियो । अर्को कुरा त्यतिवेला यातायातको सुविधा थिएन । मानिसहरू श्रम गर्थे । खानपान राम्रो थियो, जसले गर्दा उनीहरूलाई रोग लाग्दैनथ्यो । तर, अहिले मानिसहरूसित सुविधा छ, पैसा छ तर श्रम छैन । अहिलेको खाना स्वस्थ्यकर छैन । खाना विशाक्तले भरिपूर्ण छ । मानिसहरूलाई शरीरमा भएको विशाक्तता फाल्नका लागि पनि अहिले योगको आवश्यक्ता छ भन्नुहुन्छ ।

योगमा बाबा रामदेवले सहजीकरण गरिदिएको बताउने उहाँ पहिले पहिले योग भनेको साधु सन्तले गर्ने भन्ने हुन्थ्यो । अहिले योग जो कोहीले गर्न सक्छन् भन्ने जनचेतना मानिसमा आइसकेको छ भन्नुहुन्छ । ‘परापूर्वकालमा ऋषिमुनि तथा योगीहरू अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योग गर्थे । अहिले बद्लिँदो जीवनशैली तथा खानपानका कारण मानिसहरूलाई स्वस्थ रहन पनि योग आवश्यक छ’, उहाँ भन्नुहुन्छ ‘जब मानिस व्यक्तिगत, शारीरिक, मानसिक, सामाजिक रूपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।’

प्रतिक्रिया