‘जिल्ला अस्पतालमा चिकित्सिकको परिपूर्ति हुन्छ’

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले रिक्त रहेका सबै जिल्ला अस्पतालमा तत्काल चिकित्सकको व्यवस्था गर्न लागेको बताएका छन् ।

प्रदेश–१ सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाको आयोजनामा विराटनगरमा मंगलबारदेखि सुुरु भएको ‘स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले कर्मचारी समायोजनका कारण प्रदेशका १७ वटा जिल्ला अस्पताल चिकित्सकविहीन भएकाले ती अस्पतालमा तत्काल करारमा चिकित्सको व्यवस्था गर्न लागेको बताए ।

मुख्यमन्त्री राईले जनतालाई सहज स्वास्थ्य सेवा पहुँचका लागि पनि करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अगाडि बढाइएको बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले स्वस्थ्य नागरिकबाट नै ‘समुद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा हुने बताउँदै नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुुपर्नेमा जोड दिए ।

उनले प्रदेशमा देखिएका डेंगु र उदयपुरमा शरीर काम्ने रोगबाट जनता ग्रसित रहेको भन्दै यस्ता चुनौती समाधान गर्न र छिटो छरितो जनतालाई स्वास्थ्य सेवा प्राप्तको अनुभूति गराउन स्वास्थ्यकर्मी तोकिएको अस्पतालमा जानुुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले सरकारी स्वास्थ्य संस्थामा आवश्यक भौतिक पूर्वाधार, आधुनिक उपकरण, दक्षजनशक्ति तथा, सर्वसुलभ औषधिको उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारी चिकित्सक काम छाडेर निजी क्षेत्रमा कार्य गर्नेलाई दण्डित गरिने बताए । उनले मापदण्डअनुुसार स्वास्थ्यसेवा प्रदान नगर्ने अस्पताललाई प्रदेश सरकारले कारबाही प्रक्रिया अगाडि बढाउन लागेको बताए । उनले न्यूनतम सुविधा उपलव्ध नगराउने निजी स्वास्थ्य संस्थामा अब ताला लगाउने भन्दै ट्रस्टको नाममा व्यापार गर्ने एम्बुलेन्स सेवामा विकृति फैलाउने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताए ।

प्रदेश योजना आयोगका सदस्य मीना भण्डारीले प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिएको चर्चा गरे । सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, जिल्ला समन्वय समितिका महासंघका अध्यक्ष बबि चाम्लिङ, निजी अस्पताल संघका प्रदेश अध्यक्ष डा. शंकरप्रसाद अधिकारीले जनताको स्वास्थ्य सेवामा सहज पहुँच हुनुपर्नेमा जोड दिए ।

गोष्ठीमा स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख चन्द्रदेव मेहताले प्रदेश तहका अस्पताल, आयुर्वेद तथा जनस्वास्थ्य कार्यक्रमको समग्र आवश्यकता, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश सरकारका स्वास्थ्य कार्यक्रम तथा भावी योजना र संघीय स्वास्थ्य तथा जनसख्या मन्त्रालयका डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य कार्यक्रमको समग्र अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रदेशका १४ जिल्ला अस्पतालका चिकित्सक, अस्पलाल विकास समितिका प्रमुख जनस्वास्थ्य कार्यालयका, आयुर्वेद औषधालय सामाजिक विकास मन्त्रालयका कर्मचारी, जिल्ला समन्वय समितिका अध्यक्ष र निजी अस्पतालका प्रतिनिधिहरूको सहभागिता रहेको सो गोष्ठी तीन दिनसम्म सञ्चालन हुुनेछ ।

प्रतिक्रिया