डोल्पाका स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या

हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा अहिले पनि विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान हुन सकेको छैन । अहिलेको युगमा अत्यावश्यक साधनको रूपमा रहेको विद्युत् र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकार नै यस्तो समस्यामा भोग्न बाध्य छन् ।

जिल्लाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । जिल्लाका अन्य स्थानीय तहभन्दा विकसित मानिने त्रिपुरासुन्दरी नगरपालिकामै विद्युत् र सञ्चारको चरम समस्या देखिन्छ । नगरपालिकाअन्तर्गत वडा नं ३ र ४ मा पर्ने जीउ, सुँ र रङ गाउँका स्थानीयमा एक दिन पालो पर्खेर छिकेकी नगरपालिकाको विद्युत् सेवा लिनुपर्ने बाध्यतामा छन् ।

उक्त वडामा रहेको टावरले राम्रोसँग काम गर्दैनन् । भरपर्दो टेलिफोन सुविधा नहुँदा जनताले वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएको वडा नं ४ का अध्यक्ष श्रीदल बुढाले बताए । त्यसैगरी वडा नं ५ र ६ मा पर्ने ल्हाँ, फुल्चिङ र खदाङका नागरिक वर्षांैअघिदेखि अन्धकारमा छन् ।

पालङ गाउँमा बनेको खातीखोला जलविद्युत् अवरुद्ध भइराख्ने र मर्मतका लागि कसैले चासो नदिने भएकाले जनता अहिले पनि अन्धकारमै रहेको स्थानीय मोती उपाध्यायले बताइन् । पटक–पटक अवरुद्ध भइराख्ने भएकाले टेलिफोन टावरको हालत पनि विद्युत्को जस्तै रहेकाले फोनमा राम्रोसँग कुरै गर्न नपाइने उनले बताए ।

नगर क्षेत्रको वडा नं ८ मा पर्ने खालीबन गाउँ र ११ मा पर्ने मुँ र बन्तडी गाउँमा टेलिफोनको चरम समस्या रहेको छ । ठूलीभेरी नगरपालिकाको जुफालमा राखिएको टावरले काम नगर्ने भएकाले त्यहाँका नागरिक वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएका छन् । ‘सिंगो गाउँमा कतै पनि फोन टिप्दैन, फोनमा कुरा गर्न हात घुमाउँदै गाउँदेखि दश मिनेट हिँडेर डाँडामा आनुपर्छ, घरमै फोन नलाग्दा साह्रै समस्या भएको छ,’ खालीवनका स्थानीय विष्णु गुरुङले गुनासो गरे ।

‘हामीलाई अन्य विकास चाहिँदैन, सरकारलाई टेलिफोन टावर बनाइदिन माग गर्छौं,’ उनले भने । गाउँको कोही बिरामी पर्दा, महत्वपूर्ण खबर रातिको समयमा गर्नुपर्दा साह्रै समस्या हुने गरेको स्थानीयको गुनासो छ । स्थानीयस्तरमै निकालिएको एक सय किलोवाटको लघु जलविद्युत्का कारण बत्तीको सुविधा राम्रो भएको स्थानीयको भनाइ छ ।

गरपालिका कार्यालय नै सञ्चार सम्पर्कविहीन
त्रिपुरासुन्दरी नगरपालिका कार्यालय रहेको वडा नं १ बगर क्षेत्रमा टेलिफोन लाग्दैन । नगरपालिको आफ्नै टावर नभएकाले छिमेकी नगरपालिकामा राखिएको टावरले काम नगरेपछि नगरपालिका कार्यालय नै सञ्चारविहीन छ । अझै पनि नगरपालिका आसपासका नागरिक फोन गर्नका लागि घरदेखि माथिपट्टि पुग्नुपर्ने बाध्यता छ ।

‘लाजमर्दो कुरा नगरपालिका कार्यालयमै टावर टिप्दैन तर पनि नगरपालिकाको ध्यान गएको छैन, नागरिक वर्षौंदेखि फोनको समस्या झेल्न बाध्य छन,’ स्थानीय पूर्णकेशर न्यौपानेले भने, ‘नगर क्षेत्रमा टावर राख्ने भनेर बोलपत्र भएर ठेकेदारले जिम्मा लिइसक्दासमेत टावर निर्माणमा शीघ्रताका लागि ताकेता भएको छैन,’ उनले भने । नगरपालिका कार्यालयनै सञ्चारविहीन भएको कुरामा बारम्बार ध्यानाकर्षण गराउँदासमेत कसैले चासो नदिएको स्थानीयको भनाइ छ ।

वडा नं १ र २ मा विद्युत्को पनि चरम समस्या छ । नगरपालिका कार्यालयको नजिकको दूरीमा रहेको छलगाड लघु जलविद्युत् आयोजना आज हो कि भोलि भन्ने अवस्थामा छ । कमजोर बाँध र कम क्षमताको उपकरणले गर्दा पटक–पटक अवरुद्ध हुने गर्दछ । हिँउदमा कम पानी भएर र वर्षातमा खोला बढेर अवरुद्ध हुने गर्दछ । यति धेरै समस्या हुँदा पनि सम्बन्धित निकायको ध्यान गएको छैन ।

नगरपालिकाले नै प्रयोग गर्ने विद्युत्को हालत नाजुक भइसक्दासमेत सुधारका लागि कसैले चासो नदिएको स्थानीय बताउँछन् । विद्युत्को अवस्था नाजुक भएकै कारण बेलुकी ६ बजेदेखि ११ बजेसम्म मात्रै बत्ती आउने गर्छ भने दिनमा बत्ती नै आउँदैन ।

ठूलीभेरीमा विद्युत्को चरम समस्या
सदरमुकाम दुनैसहित जोडिएको ठूलीभेरी नगरपालिकाको जैरीगाड जलविद्युत् आयोजनाको भर छैन । वर्षमा दर्जन धेरै पटक अवरुद्ध भइराख्ने भएकाले अधिकांश समय नागरिक अन्धकारमै बस्ने गर्दछन् । नहर निर्माण गरिएको भूगोल कमजोर भएकाले सुक्खा पहिरोले बारम्बार विद्युत् अवरुद्ध गर्ने गर्छ । स्थानीय प्रदेश हुँदै केन्द्रसम्म नगरप्रमुख, सांसददेखि मन्त्रीसम्म भए पनि विद्युत्को अवस्था सुधारका लागि कसैको पनि ध्यान नगएको दुनैका स्थानीयको सामूहिक गुनासो छ ।

जगदुल्ला मुड्केचुलामा सञ्चार र विद्युत्को समस्या
तल्लो डोल्पाअन्तर्गत पर्ने जगदुल्ला मुड्केचुला गाउँपालिकामा विद्युत् र सञ्चारको चरम समस्या रहेको छ । जगदुल्ला गाउँपालिकामा सञ्चारको सुविधा राम्रो भए पनि विद्युत्को चरम समस्या रहेको छ । विद्युत् नहुँदा गाउँपालिका कार्यालयनै सौर्य ऊर्जाको भरमा चलेको छ । बादल लाग्दा सोलारले काम नगर्ने भएकाले काम गर्न साह्रै समस्या हुने गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज पाण्डेले जानकारी दिए ।

हुरीकोटमा उत्पादन गरिएको विद्युत्ले हुरिकोट, थापागाउँ र चौरीकोट गाउँ झिलीमिली भए पनि नजिकै जोडिएका झ्याकोट र रिमी गाउँमा अन्धकारमा छन् । छिमेकी गाउँसम्म आएको विद्युत् विस्तारका लागि पहल गरे पनि विद्युत् समितिले नमानेको झ्याकोटका स्थानीयले गुनासो गरे । कादुरी नामको संस्थाले निश्चित गाउँका लागि मात्रै उत्पादन गरेकाले क्षमताले नभ्याउने बताउँदै विद्युत् विस्तार नगरिएको विद्युत् समितिले जनाएको छ ।

त्यसैगरी मुड्केचुला गाउँपालिकाको नर्कुबाहेक कालिका, शर्मी, ओक्ट होर्तलगायतका गाउँमा बत्तीको सुविधा छैन । गाउँपालिकाको अधिकांश क्षेत्रमा बत्तीको सुविधा नहुँदा हुनेखानेमात्र सोलारको उज्यालोेमा बसेका छन् भने आर्थिक अवस्था कमजोर नागरिक अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा उपलब्ध गराइदिन हिजोदेखि आजसम्म स्थानीय सरकार, माननीय मन्त्रीहरूलाई गुनासो गरे पनि सुनुवाइ नभएको शर्मीका स्थानीयको गुनासो छ । मुड्केचुलामा सञ्चारको अवस्था अझ भयावह छ । टेलिफोन सुविधा नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् ।

सूचना आदानप्रदान गर्न त्यहाँका नागरिक अग्लारूख र पहाड उक्लदै ठिक्क छन् । भएको टावरको स्याटलाइट चाइनाले बन्द गरिदिएपछि गाउँपालिका नै दुई सातादेखि सञ्चारविहीन भएको छ ।

काइकेमा सञ्चारको समस्या
त्यसैगरी काइको गाउँपालिकामा सञ्चारको चरम समस्या छ । भएको टेलिफोन टावर दुई सातादेखि अवरुद्ध भएपछि सञ्चारको समस्या भएको हो । चीनले स्याटलाइट बन्द गरेपछि यहाँको टेलिफोन टावर अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष अगंत रानाले बताए ।

काइकेमा गाउँपालिकामा विद्युत्को पनि चरम समस्या छ । लामो समयदेखि निर्माणाधीन ५० किलोवटाको ब्यासगाड लघु जलविद्युत्, पन्ध्र किलोवाटको छेयकाम लघुलविद्युत् आयोजना त्यसै अलपत्र परेका छन् । विद्युतको सुविधा नहुँदा सहरतारा, गुम्बातारा, टुप्पातारा, खानीकोलालगायतका गाउँ वर्षौंदेखि विद्युत् सेवाविहीन छन् । हुनेखानेले सोलार जोडेका छन् भने कमजोर आर्थिक अवस्था भएका स्थानीय अन्धकारमै बस्न बाध्य भएका छन् ।

उपल्लो डोल्पामा विद्युत्को समस्या
उपल्लो डोल्पाका स्थानीय तहमा सञ्चारको समस्या समाधान भएको छ । उपल्लो डोल्पाका फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ् गाउँपालिकामा विभिन्न ठाउँमा नमस्तेका मोबाइल टावर निर्माण भएपछि वर्षौंदेखिको टेलिफोन असुविधा हटेको हो ।

सञ्चारको सुविधा सुधार भए पनि विद्युत्को समस्या भने जिउँका तिउँ रहेको छ । उपल्लो डोल्पाका कुनै पनि स्थानीय तहमा विद्युत्को सुविधा छैन । विद्युत् नभएपछि सम्पूर्ण नागरिक सोलारको भरमा रहेका छन् ।

प्रतिक्रिया