जीवन उकास्दै पानीघट्ट

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका–६ का धनरुप आचार्यले पानीबाट चल्ने मिल सञ्चालनमा ल्याएका छन् । मिल सञ्चालनमा ल्याएदेखि धनरुप मात्र हैनन् गाउँका सबैलाई सहज वातावरण बनेको छ । बिहानको झिसमिसे उज्यालोमा मिल चलाउन गएका आचार्य साँझसम्म मिल चलाएर बस्छन् ।

मिल चलाउन थालेदेखि आचार्य भारत जानुपर्ने वाध्यता हटेको छ । परिवार पाल्न, बालबालिका पढाउनेलगायत अन्य आइपर्ने आर्थिक खर्चको जोह उनले यही मिलबाटै गरेका छन् । स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोच राखेका धनरुपले २ लाख ५० हजार आफ्नो र टिडिएच बिएमजेटको सहयोग एवं मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरुन्डेक नेपाल कालिकोटको प्राविधिक सहयोग÷समन्वयमा आचार्यले मिल सञ्चालन गरेका हुन् ।

नौ जनाको परिवार रहेको आचार्यको घरमा अरू परिवारले खेतबारीको काम गरे पनि उनी भने रातदिन मिलमा व्यस्थ देखिन्छन् । स्थानीय ऋषिराम आचार्यले भने, ‘पहिला ओखल, ढिकीमा धान कुट्दा हातभरी फोका आउथे, कामको चटारोले गर्दा स्थानीय उत्पादनका धान बेचेर खाद्य संस्थानको चामल खान्थ्यौँ तर अहिले मिल सञ्चालनमा आएदेखि समयको पनि वचत भएको छ भने काममा पनि सहज वातावरण भएको बताए । ऋषिरामको मात्र यो पीडा होइन मिल सञ्चालन नहुनुभन्दा पहिले शुभकालिका गाउँपालिका–६ का करिब २ सय ७५ घरधुरी संख्यालाई दुःख भएको थियो तर अहिले यी सबै घरधुरीहरू मिलमा गएर सस्तो मूल्यमा कुटानीपिसानी गर्दछन् ।

हालसम्मको विवरण हेर्दा यस मिलबाट १७ सय ९४ जना यस व्यवसायबाट लाभान्वित भएका छन् । डिजल, पेट्रोलबाट सुधारिएको मिल व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूले एक केजी बराबर नौ रुपैयाँ लिने गर्दछन् । आचार्यले पानीबाट चल्ने मिल सञ्चालनमा ल्याएपछि एक केजीको तीन रुपैयाँ मात्र लिने गरेका छन् ।

मिलको एक छेउमा चामल, अर्को छेउमा धानको धुलो आएको देख्दा सेवाग्राहीलाई रहर लाग्ने स्थानीय कुल आचार्यले बताए । काम छिटो छरितो र समयको वचत हुने भएपछि सबैजना सहयोगी संस्था टिडिएच बिएमजेट जर्मन र हुरुन्डेक कालिकोटलाई धन्यवाद दिँदै आगामी दिनमा नयाँ प्रविधि जडान गर्न संस्थालाई मागसमेत गरेका छन् ।

मानवअधिकार तथा वातावरण विकास केन्द्र ९हुरुन्डेक० नेपाल कालिकोटका अध्यक्ष जजराज शाहीले भने, ‘सुधारिएको चुलो, सुधारिएको पानी घट्ट, गोबर ग्यास, सुधारिएको मिल, सौर्य ऊर्जा प्रालिलगायतका विषयमा स्थानीयसँग मिलेर कामगर्दै आएको र यसले गर्दा वातावरण प्रदूषण हुनबाट जोगाउने भन्दै वातावरण संरक्षणका लागि गैरसरकारी संस्थाले खेल्ने भूमिका अहिले आएर स्थानीयले बुझेको बताए ।’ टिडिएच बिएमजेट जर्मन नेपालका प्रमुख श्यामकृष्ण श्रेष्ठले यस संस्थाले भूकम्पपीडितदेखि स्थानीय तहमा रहेका नागरिकलाई विभिन्न स्रोत साधनबाट सहयोग गरेको बताउँदै आगामी दिनमा झन प्रतिफल पाउने गरी सहयोग गर्ने बताएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया