झिल्टुङमा महाकविको सम्झना

नुवाकोट । महाकवि लक्ष्मीप्रसाद देवकोटाको वैचारिक दृष्टिकोणका बारेमा बहस भएको छ । महाकवि देवकोटाको १११औँ जन्मजयन्तीको सन्दर्भ पारेर देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान तथा देवकोटा साहित्य प्रतिष्ठान नुवाकोटको आयोजनामा भएको कार्यक्रममा नेपाली साहित्यमा देवकोटाले पुर्याएको योगदानमाथि चर्चा गरिएको हो ।

बेलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा भएको कार्यक्रममा माक्र्सवादी सौन्दर्यचिन्तक तथा देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले ‘देवकोटाको वैचारिक दृष्टिकोण’ विषयक कार्यपत्र प्रस्तुत गरे । उनले देवकोटा मूलतः युग र यथार्थप्रति अत्यन्त इमानदार र यही क्रममा आफ्नो चिन्तनलाई पनि परिमार्जित गर्दै अघि बढेका साहित्यकार भएको बताए ।

चापागाईंले भने, ‘कविका रूपमा सार्वजनिक प्रकाशनमा आएकै वर्ष (१९९१) देखि उनले नेपालका गरिब र विपन्न जनताप्रति सहानुभूति र धनी, सम्पन्न तथा विलासी जीवनप्रति विरोधका साथै श्रमप्रति सम्मान प्रकट गर्न थालेका हुन् । यो मूल भावनामा उनी आजीवन अविचल रहे । गरिब जनताको भलाइकै निम्ति उनी राणाशासन विरोधी बने, पूँजीवादी लोकतन्त्र र मानवतावादको समर्थन गर्दै यसको सक्रिय कार्यकर्ता बने ।’ चापागाईंले देवकोटामा ज्ञान र अनुभवको विस्तार हुँदै गएपछि त्यसबाट नेपाली जनताको भलाइ नहुने रहेछ भन्ने निचोडमा पुगेको जिकिर गरे ।

उनले यसपछि महाकवि देवकोटा माक्र्सवाद र समाजवादी मानवतावादको समर्थक बन्न पुगेका धारणा राखे । उनले भने, ‘गरिब जनताप्रति सहानुभूति र सम्पन्न वर्गप्रतिको विरोधी भावनाबाट थालनी गरेर विकास गर्दै माक्र्सवादको प्रभावसम्म पुगेका भावनाप्रवण साहित्यकार देवकोटाको विकासक्रमलाई बुझ्न नसकेकाहरूले उनलाई सिद्धान्तहीन भनेर आक्रमण गर्दै आएका छन् । यसो गर्नु उनीमाथि सरासर अन्याय गर्नु हो । निश्चय नै वैचारिक दृष्टिले देवकोटा आफ्नो साहित्यिक जीवनमा एक समान छैनन् । उनमा प्रशस्त विरोधाभास र अन्तर्विरोध छन् ।’

कार्यक्रममा प्रा. रमेश भट्टराईले देवकोटाको राजनीतिक यात्राको चर्चा गर्दै शिक्षा र समाजलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देवकोटाले जनताको नाडी छामेर साहित्य सिर्जना गरेको बताउँदै भने, ‘महाकवि देवकोटाको सोच, सिर्जना र व्यवहार वर्तमानमा देखिएको छैन । हुनत देवकोटाको सिर्जनाले सीमान्तकृत तथा दबिएका नागरिकका कुरालाई सशक्त ढंगले उठान गरेको पाइन्छ ।’ प्रा. भट्टराईले देवकोटाको साहित्यिक र राजनीतिक यात्राले नेपालमा परिवर्तनको अपेक्षा गरे पनि चाहेजस्तो राजनीतिक परिवर्तन आउन नसकेको बताए ।

महाकवि देवकोटाले नुवाकोटको झिल्टुङमा लेखेको ‘कुञ्जिनी’ र ‘पहाडी जीवन’ ले यस क्षेत्रको जनजीवन र प्रकृति बुझ्न निकै मद्दत मिलेको बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुंगानाले बताइन् । उनले भनिन्, ‘महाकवि देवकोटाले यही क्षेत्रमा बसेर चर्चित कृति लेखेको स्थानलाई साहित्यिक तथा पर्यटकीय क्षेत्र बनाउन नगरपालिकाले काम गर्ने विश्वास दिलाउन चाहान्छु ।’ उनले देवकोटा बसेको घरलाई भूकम्पले क्षति पु¥याएकाले त्यस घरको निर्माणमा नगरपालिकाले काम गर्ने प्रतिबद्धता जनाइन् । उपप्रमुख ढुंगानाले देवकोटालाई अमर राख्न कोल्पुटारदेखि उनी बसेको घरसम्मको सडकको नाम ‘देवकोटामार्ग’ राखिएको जानकारी दिइन् ।

उनले साहित्यिक तथा सांस्कृतिक कार्यक्रमले सामाजिक जागरण ल्याउन महत्वपूर्ण सघाउ पुग्नेमा विश्वास व्यक्त गर्दै आगामी दिनमा नगरपालिकाले देवकोटाले साहित्य सिर्जना गरेको स्थानको संरक्षण र प्रवद्र्धधनमा हातेमालो गरेर अगाडि बढ्ने बताइन् ।

कार्यक्रममा प्रलेसका पूर्वअध्यक्ष मातृका पोखेरलले नेपाली साहित्यमा महाकवि देवकोटाले महत्वपूर्ण योगदान दिएको बताउँदै उनका कृति सामाजिक जागरणमा कोशेढुंगा रहेको धारणा राखे । उनले देवकोटाले मानवतावादलाई केन्द्रमा राखेर साहित्य रचना गरेकाले जनताका मनमनमा बस्न सफल भएको जिकिर गरे । त्यस्तै, लेखक खेम थपलियाले सामाजिक रुपान्तरणमा देवकोटाका कृतिले महत्वपूर्ण भूमिका खेलेका बताए ।

उक्त अवसरमा लेखक नारायण नेपालद्वारा लिखित ‘कञ्चना’ काव्यको माक्र्सवादी सौन्दर्यचिन्तक तथा साहित्यकार चापागाईं र उपमेयर ढुंगानाले संयुक्तरूपमा विमोचन गरे । उक्त कृतिमाथि टिप्पणी लेखक अभय श्रेष्ठले समाज परिवर्तनमा बलिदान दिने सहिदलाई काव्यमा उतारिएको बताए ।

सो अवसरमा साहित्यकार सुनिल पौडेल, बाबा बस्नेत, प्रगतिशील लेखक संघ नुवाकोटका अध्यक्ष राजकुमार पुत्ला, प्रमिला परी, भगवती लामा, गायत्री भट्टराई, अग्निराज पौडेल लगायतले सिर्जनावाचन गरेका थिए । जनगायक ढुण्डीराज अधिकारीले देवकोटाको योगदानको चर्चा गर्दै ‘भिख माग्दिनँ’ बोलको गीत गाए ।

नेपाली साहित्य तथा संस्कृतिका क्षेत्रमा योगदान दिएको भन्दै देवकोटा साहित्य प्रतिष्ठान झिल्टुङ दुईपिपलले हरेक वर्ष गर्दै आएको स्रष्टा सम्मान यो वर्ष कवि निभा शाह, लेखक अभय श्रेष्ठ र चलचित्रकर्मी लव प्याकुरेललाई प्रदान गरियो । त्यसैगरी लेखक कृष्णहरि भट्टले समाजलाई सचेत ढंगले झक्झकाउन महाकवि देवकोटाले महत्वपूर्ण योगदान दिएको बताए ।

महाकवि देवकोटाले झिल्टुङमा बसेर ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’ निबन्ध लेखेकाले एक दशकदेखि बेलकोटगढीको यस क्षेत्रमा देवकोटा जन्मजयन्ती विविध कार्यक्रम गर्दै आएको नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालले बताए । उनले देवकोटाले वि.सं १९९७ तिर नुवाकोटको झिल्टुङमा मामा ससुराली आएको बेला उक्त कृति लेखेको जानकारी दिए । अध्यक्ष नेपालले भने, ‘कुञ्जिनी खण्डकाव्य र पहाडी जीवन निबन्ध लेखी यहाँको परिवेशलाई समेटेकाले हरेक वर्ष देवकोटाको जन्मजयन्तीको अवसर पारेर झिल्टुङमा कार्यक्रम गर्दै आएका छाैँ ।’

उक्त कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष चन्द्रबहादुर लामा (जनम), ५ का वडाअध्यक्ष अनन्तराम नेपालले देवकोटाको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया