सरिफको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘रगतमा प्लेटलेटको कमी भएका कारण उनको उपचार भइरहेको छ । के कारणले यो अवस्था आयो भन्ने अझै यकिन हुन सकेको छैन’, सरिफका डाक्टर अदनान खानले अलजजिरासँग कुरा गर्दै भनेका छन् । ट्युमरको कारण यस्तो भएको हुनसक्ने डा खानले आंशका व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्रीको उपचारका लागि खानसहित ६ सरकारी डाक्टरहरु खटिएका छन् । ब्लड प्लेटलेट यस्तो कोष हो जसले घाउ चोट लागेको अवस्था रगतलाई जम्न मद्दत गर्छ । यस्तो मात्रा कम हुँदा आन्तरिक वा वाह्य रक्तश्रावको खतरा बढ्छ । पाकिस्तानको प्रमुख प्रतिपक्षी दल पीएमएल–एनका प्रमुखसमेत रहेका शरिफको किड्नीमा पनि समस्या देखिएको छ भने रगतमा सुगरको मात्रा पनि कम रहेको डाक्टहरुले बताएका छन् ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका डाक्टरले उनको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’ रहेको बताउँदै उनी जीवनका लागि संघर्षरत रहेको जानकारी दिएपछि पाकिस्तानको एक अदालतले सरिफको सजायलाई अस्थायी रुपमा निलम्बन गरेको छ । ६९ वर्षीय सरिफको लाहोरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । भ्रष्टाचारको आरोपमा उनलाई गत वर्ष जेल चलान गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अदालतले उनलाई अनिश्चितकालिन जमानत दिएको थियो ।

मङ्गलबार इस्लामाबादको अदालतले उनको सात वर्षको जेल सजायमा ८ हप्ताको सजाय निलम्बन गर्ने निर्णय गरेको थियो । सोह दिन सरिफका डाक्टर डा। अदनान खानले ट्वीटरमा लेख्दै तीन पटक प्रधानमन्त्री बनिसकेका सरिफ ‘स्वास्थ्य तथा जीवनका लागि लडिरहेको’ जानकारी दिएका थिए । एजेन्सी

प्रतिक्रिया