पोलियो उन्मुलन अभियानको ३० वर्ष

काभ्रे । रोटरी इन्टरनेसनलले संसारबाटै पोलियो उन्मुलन गर्ने अभियान चलाइरहेको ३० वर्ष पूरा भएको छ । १ सय २२ राष्ट्रका पाँच वर्षमुनिका २ अर्ब ५० करोड बालबालिकालाई खोपका लागि रोटरीले सघाइरहेको छ । यसका निम्ति रोटरीले हालसम्म १ अर्ब ८० करोड अमेरिकी डलर सहयोग गरिसकेको छ ।

रोटरीकै यही पहलले आज अफगानिस्तान, नाइजेरिया र पाकिस्तानबाहेकका मुलुकहरूमा करिब शतप्रतिशत पोलियो रोग उन्मुलन भइसकेको छ । यदि अहिले भइरहेका सबै प्रयासहरूमा रोकावट आएको खण्डमा आगामी १० वर्षभित्रमा पोलियोकै कारण अपांग हुनसक्ने बालबालिकाहरूको संख्या बर्सेनि दुई लाखका दरले बढ्दै जाने रोटरीले चेतावनी पनि दिएको छ । रोटरीले एक बालबालिकालाई पोलियो खोपको सबै मात्रा पूरा गराउनका लागि औसत तीन अमेरिकी डलर खर्च गर्दै आएको जनाएको छ ।

रोटरी क्लब अफ पनौतीले २४ अक्टोबर अर्थात विश्व पोलियो दिवस–२०१९ को अवसरमा बिहीबार पनौतीमा एक कार्यक्रमको आयोजना गरेको छ । विश्वबाटै पोलियो रोग उन्मूलनका लागि मुख्य सहयोग गर्दै आएको रोटरी इन्टरनेसनलको आह्वानमा क्लबले कार्यक्रम गरेको हो । ‘विश्व पोलियो दिवसका साथै तिहार, नेपाल सम्बत–११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेका हौँ’, क्लबका अध्यक्ष प्रकाश कुइकेलले जानकारी दिए ।

सो अवसरमा पनौती मानेश्वरी पार्कबाट निस्केको प्रभातफेरी इन्द्रेश्वर मन्दिर प्रांगणमा पुगेर समापन गरिएको थियो । समापन कार्यक्रममा पनौती नगरपालिका–७ का अध्यक्ष रामचन्द्र नासननी, वडा सदस्य पुरुषोत्तम कर्माचार्य, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जारा लगायतका महानुभावहरूले विश्वबाटै पोलियो रोग उन्मूलनका लागि रोटरीले गर्दै आएको सहयोग र अभियानको प्रशंसा गरेका थिए । सो अवसरमा नेपालीहरूको चाड तिहार, नेपाल सम्वत र छठ पर्वको उपलक्षमा शुभकामनासमेत आदानप्रदान गरिएको थियो । कार्यक्रममा रोट्र्याक्ट क्लब अफ पनौती, इन्टरएक्ट क्लब अफ सिद्धार्थ वनस्थलीको सहकार्य रहेको थियो ।

प्रतिक्रिया