समय अगावै काम सक्न निर्देशन

काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्री, सचिव र अन्य कर्मचारीसँग बसेका थिए । जहाँ ठूला–ठूला टिभी स्क्रिनहरू राखिएका छन् । ती स्क्रिनमा राष्ट्रिय गौरवका आयोजनाका निर्माणधीन दृश्यहरू देखिरहेका थिए ।

करिब एक घण्टाको समयमा प्रधानमन्त्री ओलीले सात वटा राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण गरे । आफैँ निर्माणाधीन स्थलमा गएर हेरेको भए कम्तीमा पनि दुई दिन लाग्ने थियो । तर, प्रत्यक्ष दृश्य हेर्न र त्यहाँ रहेका कर्मचारीलाई निर्देशनसमेत दिन मिल्ने एक्सन रूमबाट त्यो काम एक घण्टामै सकियो ।

एक समयको बचत भयो भने अर्कोतर्फ कसरी काम भइरहेको छ सबै हेर्न पनि पाइयो । दृश्य हेर्दा काम सन्तोषजनक भए पनि सोचे अनुरूपले अगाडि नबढेको भेट्टाइएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रूम’ बाट बुधबार विभिन्न सात आयोजनाको प्रधानमन्त्रीले प्रत्यक्ष जानकारी लिई अनुगमन गरिएको हो ।

ऊर्जा, जलस्रोत र सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग सम्बन्धित सात आयोजनाको अनुगमन गरिएको थियो । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, सिक्टा सिँचाइ आयोजना, भेरी बबइ बहुद्देश्यीय आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र रानीजमरा सिँचाइ आयोजनाको निरीक्षण गरे । निरीक्षणपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्य प्रगति पनि गौरवपूर्ण हुनपर्नेमा जोड दिए । भिडियो कन्फरेनस मार्फत नै ती परियोजनामा विभिन्न ठाउँहरूमा भइरहेका निर्माण कार्यको पनि अवलोकन गरे ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, सचिव र परियोजना प्रमुखहरूलाई समयमै काम सक्न निर्देशन दिए । ‘कामले गति त लिएको छ तर, समय सीमाभित्र सक्नलाई अझै धेरै गति दिनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘कामलाई गति दिन एक मन्त्रालय र अर्को मन्त्रालयबीचको समन्वयको आवश्यकता देखिन्छ । त्यसमा विशेष ध्यान दिनुहोस् ।’ प्रधानमन्त्री ओलीले सरोकारबालाहरूलाई परियोजना स्थलको नियमित स्थलगत अवलोकन गर्न, सुक्ष्म रूपले अध्ययन गर्न, त्यहाँका समस्या सुन्न, सुझाव दिन र तत्काल समाधान गर्न पनि निर्देशन दिएका छन् ।

‘परियोजनामा सहज रूपले कामअघि बढाउन कुनै संघीय कानुन, प्रादेशिक कानुन वा मन्त्रिपरिषद्को निर्णयको कारणले विलम्ब भएको छ भने त्यसमा सजग हुनुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी स्थलगत अनुगमनमा गएपछि परियोजनामा केही न केही सकारात्मक परिवर्तन हुनुपर्दछ ।’

प्रधानमन्त्रीसहित अनगुमन हेरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले असोजसम्मको कामको प्रगति हेर्दा राम्रो भइरहेको र उल्लेख्य प्रगति रहेको पाइएको बताए । ‘अझै पनि गौरव गर्न लायक ढंगले काम गर्न र निर्धारित समयमा नभई त्यो भन्दाअघि नै सकाउने गरी प्रधानमन्त्रीबाट मन्त्री, सचिव र आयोजना प्रमुखलाई निर्देशन भएको छ,’ मन्त्री पुनले भने,‘अरू आयोजना जस्तो नभई निर्धारित समयभन्दाअघि नै सक्न निर्देशन दिनु भएको छ ।’

मन्त्री पुनका अनुसार प्रधानमन्त्री ओलीले गौरव गर्न लायक हुने गरी काम गर्न र कार्यशैली बदलेर तीव्रता दिई तोकिएको समयभन्दा अगावै काम सक्न निर्देशन दिएको समेत बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालू आर्थिक वर्षको अघिल्लो तीन महिनाको प्रगति र ती आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गरेको थियो । सातै आयोजनाका प्रमुखले प्रधानमन्त्रीलगायतको टोलीसँग भिडियो कन्फ्रेसबाट सबै स्थलगत दृश्यसहित सम्पूर्ण जानकारी गराएको थियो ।

प्रतिक्रिया