घर भत्किँदा एकको मृत्यु

काठमाडौं । चाबहिलमा पुरानो घर भत्काउने क्रममा घाइते भएका २६ वर्षीय दीपक तामाङको मृत्यु भएको छ । चुच्चेपाटीतर्फ जाने मूल सडक छेउमा रहेको पुरानो घर भत्काउँदा उनी घाइते भएका थिए ।

बुधबार दिउँसो पुरानो घरलाई विस्तारै भत्काउँदा एक्कासी गर्लम्मै ढलेपछि उनी घाइते भएका थिए । उनी घर भत्काउने कामदार थिए । चाबहिलस्थित दीर्घायू अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी वृत्त गौशालाका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए । घर भत्किँदा घाइते भएका रामबहादुर कुँवरको अवस्था भने सामान्य रहेको सिंहले बताए ।

यसैबीच, तारकेश्वर नगरपालिका–३ जितपुरमा एक निजी विद्यालयको छानो भत्किँदा ३९ जना विद्यार्थी घाइते भएका छन् । जितपुरमा रहेको विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको छानो भत्किँदा कक्षा कोठाभित्र रहेका विद्यार्थी घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार घाइते सबैको उद्धार गरेर मेडिसिटी अस्पताल लगिएको छ । सबै घाइतेको अवस्था सामान्य रहेको एसएसपी सुवेदीले बताए । विद्यालयको ट्रसको छानो कमजोर भएकाले खसेको हुनसक्ने अनुमान प्रहरीको छ ।

प्रतिक्रिया