न्याम्सको प्रवेश परीक्षा शनिबार

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्थगित गरेको एमडी-एमएस-एमडीएस तहको प्रवेश परीक्षा आगामी ९ कात्तिकमा हुनेभएको छ । न्याम्सले सोमबार सूचना प्रकाशित गर्दै शनिबार परीक्षा गर्ने जानकारी दिएको हो ।

न्याम्सले गत शनिबार (२ कात्तिक) का लागि तय भएको परीक्षा ठीक एक दिनअघि मात्रै स्थगित गरेको थियो । न्याम्सले स्वास्थ्य मन्त्रीको लिखित निर्देशन अनुसार परीक्षा स्थगित गरेको जनाएको थियो । स्रोतका अनुसार प्रवेश परीक्षाको फारम भरी विदेश भ्रमणमा निस्किएका एक जना विद्यार्थीको परीक्षा छुट्ने भएपछि परीक्षा रोकिएको थियो । उक्त परीक्षार्थी मन्त्रीका आफ्ना मान्छे रहेको खुलेको छ ।

उक्त परीक्षार्थी पुनः नेपाल फर्किने निश्चत् भएपछि परीक्षाको नयाँ मिति सार्वजनिक भएको स्रोतले जनाएको छ । स्वास्थ्य मन्त्रालयले न्याम्सलाई पठाएको चिठीमा २ कात्तिकमा परीक्षा भए धेरै जना चिकित्सक उपस्थित हुन नसक्ने भएकाले सार्न भनिएको थियो । तर, एक दिन अघिसम्म डिन कार्यालयमा एक जना पनि परीक्षार्थीले उपस्थित हुन नसक्ने भनेर सूचीत गरेको पाइएन ।

यसअघि हुने परीक्षामा पनि फारम भर्ने सबै परीक्षार्थीलाई परीक्षाको बारेमा एसएमएस गरिन्छ । उक्त समयमा कसैले पनि अप्ठेरो भएको भनेर खबर गरेका थिएनन् । परीक्षार्थीहरू सबै केन्द्रीय राजधानी काठमाडौंमा आएका थिए । परीक्षा स्थगित हुनुमा सहकुलपति रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उपकुलपति डिएन साहलाई निर्देशन दिएका कारण दुवै जनाको गल्ती देखिएको स्रोतले बताएको छ । तर, परीक्षा सार्नेसमयमा उपकुलपति साह देश बाहिर रहेका थिए ।

न्याम्सले परीक्षा सार्ने सुचना जारी गर्नासाथ सबै परीक्षार्थीहरू स्वास्थ्य मन्त्रालय घेराउ गर्न गएका थिए । देशका विभिन्न भागबाट परीक्षार्थी परीक्षास्थल आइपुगिसकेको अवस्थामा विनाकारण परीक्षा स्थगित गरिएको भन्दै परीक्षार्थीले आक्रोश व्यक्त गरेका हुन् । न्याम्सले सरकारी चिकित्सकका लागि मात्र पिजी अध्ययनका लागि सिट छुट्याएको भन्दै गैरसरकारी चिकित्सक संघले भने आवेदन मागदेखि नै विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया