सिएमसीमा भएको घटनाप्रति आपत्ति

काठमाडौं । नेपाली चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमएले) चितवन मेडिकल कलेजमाथि आइतबार भएको आक्रमणको घटनाको निन्दा गरेको छ । उपचारका क्रममा भएको मृत्युको विषयलाई लिएर अस्पताल तथा स्वास्थ्यकर्मीमाथि अप्रत्याशित रूपमा भएको हिंसात्मक घटनाबाट संघ स्तब्ध भएको महासचिव लोचन कार्कीद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

घटनालाई अतिरञ्जित गर्दै आपराधिक मानसिकता बोकेका व्यक्तिहरूबाट स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रवाहकहरूमाथि हातपात, तोडफोडलगायत अत्यन्त अमानवीय गतिविधि घटाइनुले शान्तिपूर्ण वातावरणमा उपचार गर्ने–गराउने वातावरण धमिलिएको एनएमएको ठहर छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लखेटी–लखेटी हातपात गर्ने तथा स्वास्थ्यसंस्थामा निर्मम ढंगले तोडफोड गर्ने आपराधिक समूहका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवाप्रवाह गर्ने वातावरण नभएको ठहर गर्दै एनएमएले यसबाट उत्पन्न हुन सक्ने कहालीलाग्दो परिस्थितिप्रति संघ र स्वास्थ्यकर्मीहरू जिम्मेवार हुन नसक्ने जनाएको छ ।

घटनामा संलग्न आपराधिक समूहलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही नगरिए देशभर आन्दोलनका कार्यक्रम लिएर उत्रने चेतावनी एनएमएको छ । एनएमएले संघको चितवन जिल्ला शाखाले ल्याउने विरोधका कार्यक्रमलाई सशक्त बनाउन र सिएमसीका स्वास्थ्यकर्मीलाई नडराई डटेर परिस्थितिको सामना गर्नसमेत आह्वान गरेको छ ।

प्रतिक्रिया