भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । यस आर्थिक वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम कात्तिक २ र ३ गते गर्ने भएको हो ।

पहिलो चरणअन्तर्गत सात सय ५३ वटै पालिकाको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई भिटामिन ए र एकदेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । साथै शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन लागू भएका जिल्लाहरूमा पाँच वर्ष मुनिका बालबालिकालाई ‘एमयुएसी’ टेपबाट पोषण स्थिति लेखाजोखा एवं ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण गर्ने कार्यक्रम मन्त्रालयले गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय निकायसँग मिलेर यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीका अनुसार पहिलो चरणअन्तर्गत सात सय ५३ वटै पालिकाको ६ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकाहरूलाई भिटामिन ए र एकदेखि पाँच वर्षसम्मका २४ लाख बालबालिकाहरूलाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाउने कार्यक्रम रहेको छ ।

सोही दिन महिला स्वास्थ्य स्वयंसेविकाहरूले ६ महिना देखि पाँच वर्ष सम्मका २७ लाख बालबालिकाहरूको पोषणस्थिति जाँच गर्न ‘एमयुएस’ टेपबाट पाखुराको नाप लिँदैछन् । त्यसैगरी छ महिना देखि दुई वर्षसम्मका बालबालिकाहरूलाई बालभिटा ट्यावलेट बाँढ्ने योजना समेत बनाइएको छ । बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ । पराजुलीका अनुसार यो कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजार बढी महिला स्वास्थ्य स्वयंसेविकाले योगदान गर्ने छन् ।

दुई दिने यो कार्यक्रमका लागि विभागले भने प्रतिदिन चार सयका दरले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ताको समेत व्यवस्था मिलाएको जनाएको छ । मन्त्रालयले पत्रमा स्थानीय तहबाट सहयोग समन्वय तथा प्रचारप्रसार तथा आवश्यक सहजीकरणको लागि अनुरोध समेत गरेको छ । साथै समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गरेको छ ।

कार्यक्रमअन्तर्गत जन्मेको छ महिनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ । मन्त्रालयले पछिल्लो समय यस कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । संघीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए ।

मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । यसका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखाले जनाएको छ । बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । हाल पाँच वर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन् ।

प्रतिक्रिया