कोहलपुरमा कला

बाँके । दशैँको छेको पारेर ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी कला कार्यशाला गरिएको छ । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको कला विभागको आयोजनामा भएको उक्त कार्यशालामा दुई दर्जन कलाकार सहभागी भएका थिए ।

प्रतिष्ठानको नियमित कार्यक्रम ‘कोहलपुरमा कला’ को सातौँ शृंखलाको शुभारम्भ गर्दै वडा नम्बर १० का वडाध्यक्ष निरज चलाउनेले कला र संस्कृतिको विकासमा नगरपालिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कोहलपुर नगरपालिकाको चटारमा भएको कार्यशालाको सफलताको कामना गर्दै उनले भने, ‘कलामार्फत संस्कृतिको विकास र प्रवद्र्धन गर्न सबै एकजुट हुनुपर्छ । यस कार्यमा नगरपालिकाले सक्दो सहयोग प्रदान पनि गर्ने विश्वास दिलाउन चाहान्छु ।’

प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले कला र संस्कृतिको विकासबिना राज्य समृद्ध बन्न नसक्ने बताए । उनले कला कार्यशालामार्फत कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा पर्यटन वर्ष २०२० लाई सफल बनाउने लक्ष्य राखिएको धारणा व्यक्त गरे । उनले भने, ‘प्रतिष्ठानले कोहलपुरमा विगत दुई वर्षदेखि नियमित कलाका विविध कार्यक्रम गर्दै आएको छ । यसको मुख्य लक्ष्य कलालाई विकेन्द्रित बनाउनु र यसप्रति जागरण ल्याउनु पनि हो ।’

साहित्यकार कपिल अञ्जानले कला कार्यशालाले कोहलपुरमा काम गर्दै आएका कलाकारमा नयाँ ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानका कला विभाग प्रमुख विक्रम शिशिरले कलाकारलाई कलाका नयाँ नयाँ सीप र विधि सिकाउने कार्यशालाको मूल ध्येय रहेको जनाए । उनले पछिल्लो समय कोहलपुरमा कलाप्रति आमनागरिकको रुचि बढ्दै गएको बताउँदै भने, ‘प्रतिष्ठानले नियमितरूपमा गरिरहेको कला गतिविधिले यसप्रति रुचि बढ्दै गएको छ ।’

उक्त कार्यशालामा प्रमुख प्रशिक्षकको भूमिकामा कलाकार तथा कला लेखक देवेन्द्र थुम्केली रहेका थिए । त्यस्तै कलाकार डिबी भण्डारी तथा सुरज सुवेदीले समेत कार्यशालामा सहजीकरण गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया