व्यक्तिगत लगानीमा कोतघर

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा एक परिवारले आफ्ना दिवङ्गत अभिभावकको स्मृतिमा ऐतिहासिक कोतघरको पुनःनिर्माण गरेका छन् । स्वर्गीय कुलप्रसाद, मणिमा र गर्भी घरब्जा छन्त्यालका छोरा, छोरी र बुहारीले व्यक्तिगत खर्चमा कोतघरको पुनःनिर्माण गरेका छन ।

छोरा भक्तबहादुर र किशोर, छोरी हरिकला, बुहारी चीजमाया र चन्द्रकुमारी घरब्जा छन्त्यालले कोतघर पुनःनिर्माणमा छ लाख पाँच हजार रुपैयाँ खर्च गर्नुभएको स्थानीय रबिन्स छन्त्यालले जानकारी दिए । कोतघरमा फुलपातिका दिनदेखि धार्मिक विधि अनुसार पूजाआजा शुरु गरिएको छ ।

बाइसे चौबिसे राज्यका पालामा छन्त्याल समुदायको राजाले सो कोतघर स्थापना गरेका थिए । कोतघरमा ऐतिहासिक महत्वका खुडा, तरबार, खुकुरी लगायत हतियार थिए । जीर्ण र असुरक्षित भवनभित्र रहेका ऐतिहासिक सामग्री संरक्षण अभावमा नष्ट हुने अवस्थामा पुगेका थिए । कोतघर बनेपछि ऐतिहासिक सम्पदाको संरक्षणका साथै धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छन्त्यालले जानकारी दिए ।

प्रतिक्रिया