अस्मिता इंग्ल्यान्ड फुटबलको यु–१९ टोलीमा

काठमाडौं । नेपाली मुलका अस्मिता आलेमगर इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएकी छन् । अस्मिता युइएफए वुमन्स यु–१९ च्याम्पियनसिपको छनोटको पहिलो चरणको लागि टोलीमा समेटिएकी हुन् । इंग्लिस क्लब एस्टन भिल्लाकी डिफेन्डर अस्मिताले अब इंग्ल्यान्डको युथ समूहबाट प्रतिनिधित्व गर्दै साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछन् । अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएको उनको क्लब एस्टन भिल्लाले उल्लेख गरेको छ । पहिलो चरणको छनोट खेल सुरु भइसकेको छ ।

साइप्रसविरुद्ध ८–० को फराकिलो जित निकालेको खेलमा अस्मिता बेञ्चमै रहिन् । बेलायती पूर्वसेना अमृत आलेका १७ वर्षीया छोरी अस्मिताले इंग्ल्यान्डको यु–१६ टोलीबाट प्रतिनिधित्व गरिसकेकी छन् । अमृत क्विन्स गोरखाका सैनिक हुन् । उनीहरूको परिवार इंग्ल्यान्डमा रहँदै आएका छन् । पहिलो चरणको छनोटमा युरोपका ४८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । इंग्ल्यान्ड समूह ‘के’ मा रहेको छ । छनोटका खेलहरू २ देखि ८ अक्टोवरसम्म बेलारुमा आयोजना भइरहेको छ ।

हरेक समूहका शीर्ष दुई टोली र उत्कृष्ट हुने तेस्रोका चार टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ । दोस्रो राउन्ड नोभेम्वरमा हुनेछ । यसबाट छनोट हुने टोलीले जर्जियामा जुलाई २०२० मा हुने युइएर्फ वुमन्स यु–२० मा सहभागिताको अवसर पाउनेछ ।

प्रतिक्रिया