पर्यटकीय गतिविधि बढे

प्रदेशं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर संघ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरूको कार्यान्वयन सुरु गरेसँगै यहाँ पर्यटकीय गतिवधि बढेका हुन् । पर्यटकीय गतिविधिसँगै प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरूमा पर्यटकको संख्यासमेत वृद्धि भएको छ ।

प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष ०७६ सँगै नेपाल भ्रमण वर्ष २०२० को तयारीका लागि विभिन्न गतिविधिहरू सुरु भएका छन् । लुम्बिनी आउने पर्यटक २० लाख पु¥याउने लक्ष्यसहित सञ्चालन गरिएको लुम्बिनी भ्रमण वर्ष सफल पार्न प्रदेश सरकारले हरेक महिना यहाँका बौद्ध गन्तव्यहरूमा दीप प्रज्ज्वलन, सांस्कृतिक झाँकीहरूको प्रदर्शनीगायतका कार्यक्रमहरू गर्दै आएको छ । त्यसबाहेक लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राममा हरेक पूर्णिमाको साँझ पूर्णिमा उत्सवका कार्यक्रम गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।

लुम्बिनी भ्रमण वर्षको सन्दर्भ पारेर प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरू प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली, गुल्मीको रिडी र रेसुंगा, रोल्पाको जलजला र थवाङ, पाल्पाको रानीमहल, दाङको धारापानी र रिहार, बाँकेको बागेश्वरी र बर्दिया राष्ट्रिय निकुञ्जको प्रचारप्रसार तथा प्रवद्र्धनका कार्यक्रम बनाइएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताइन् ।

उनका अनुसार भ्रमण वर्षको सन्दर्भ पारेर लुम्बिनीसहितका बौद्ध गन्तव्यहरूको जानकारीका लागि ब्रोसर तथा प्रदेश ५ का सबै पर्यटकीय क्षेत्रहरूलाई समेटेर पर्यटन गाइड बुक प्रकाशन गरिएका छन् । त्यसबाहेक भ्रमण वर्ष अवधिभर १२ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरूमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना प्रदेश सरकारको छ । लुम्बिनी भ्रमण वर्षको घोषणासँगै लुम्बिनी र आसपासका बौद्ध गन्तव्यहरूमा पर्यटकहरूको चहलपहल बढेको लुम्बिनी विकास कोषले जनाएको छ ।

ईसापूर्व ६२३ मा यहाँको लुम्निीको पवित्र बगैँचामा मायादेवीको कोखबाट महामानव गौतमबुद्धको जन्म भएको हो । यो भूमि संसारभरिका बुद्धमार्गी र शान्तिप्रेमीहरूका लागि पवित्र गन्तव्य हो । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेसँगै लुम्बिनी आउने पर्यटकको संख्यामा वृद्धि भएको देखिएको छ । लुम्बिनी भ्रमण वर्ष घोषणापछि लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटकहरूकोे संख्या बढेको कोषको सूचना शाखाले जनाएको छ । कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार भ्रमण वर्ष घोषणा भएयताका चार महिनाको अवधिमा १ सय ६ मुलुकका पर्यटकहरू लुम्बिनी आएका छन् ।

पछिल्लो ४ महिनामा मात्र दुई लाख ६९ हजार ७ सय ४४ स्वदेशी, २३ हजार ७ सय ३२ विदेशी र ५८ हजार ८ सय ४४ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा एक लाख ५४ हजार ४ सय ९३ स्वदेशी, २६ हजार ८ सय १५ विदेशी र ४६ हजार ६ सय ८ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए जब कि यी ४ महिना लुम्बिनी घुम्नग अनुकूल मानिँदैन । अत्यधिक गर्मी र त्यसपछि वर्षात्का कारण जेठदेखि भदौसम्म लुम्बिनी आउने पर्यटकको संख्या हरेक वर्ष निकै कम हुने गरेको छ । कोषका अनुसार यस वर्ष बौद्ध राष्ट्रसहित युरोप र मुस्लिम राष्ट्रहरूबाट लुम्बिनी घुम्न आउने पर्यटकको संख्यासमेत बढेको छ ।

लुम्बिनी होटल एसोसियसनका अध्यक्ष मिथुनमान श्रेष्ठ विदेशी पर्यटकको संख्या वृद्धि भए पनि उनीहरूको बसाइ अवधि लम्ब्याउने चुनौती कायमै रहेको बताउँछन् । भ्रमण वर्षले विदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउन सहयोग गर्ने कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ ।

लुम्बिनीबाहेक बुटवलको फूलबारी, सिद्धबाबा, जितगढी किल्ला, हिलपार्क तथा बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी, पाल्पाको रानीमहल, अर्घाखाँचीको सुपा ददेउराली, गुल्मीको रिडी र रेसुंगामा पनि स्वदेशी पर्यटकहरूको संख्या बढेको छ ।

प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष आयोजनाले प्रदेशमा आन्तरिक पर्यटकहरूको संख्या बढेको नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट प्रदेश ५ का अध्यक्ष सागर अधिकारीले बताए । उनका अनुसार स्वर्गद्वारी, सुपा देउराली, रानीमहल र दाङको रिहार घुम्न आउने स्वदेशी तथा भारतीय पर्यटकको संख्या बढेको छ । भौतिक पूर्वाधार निर्माणका काम भने समयमा नसकिँदा पर्यटकहरूलाई सास्ती भएकाले प्रदेश सरकाले यसतर्फ ध्यान दिनुपर्ने उनको सुझाब छ । ‘भैरहवा–लुम्बिनी सडक निर्माणको क्रममा रहेकाले आवतजावत गर्न सा¥है समस्या छ,’ उनले भने ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पनि हरेक वर्ष पर्यटकको संख्या बढ्दै गएको छ । वैशाखयता अत्यधिक गर्मी र वर्षाका कारण पनि निकुञ्ज घुम्ने पर्यटकको संख्या धेरै देखिएको निकुञ्जका राजस्व फाँटका कर्मचारी सतिश चौधरीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा १३ हजार ५ सय ११ स्वदेशी र ६ हजार ८ सय ११ विदेशी पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकलन भ्रमण गरेका छन् । गत आर्थिक वर्षमा भने यो संख्या अझै बढेको देखिन्छ । गत आव ०७५÷७६ मा १६ हजार २ सय ९८ स्वदेशी पर्यटक र २४ हजार ५ सय ९८ विदेशी पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकलन भ्रमण गरेका छन् । यो वर्ष पर्यटन प्रवद्र्धनका गतिविधिहरू बढेका कारण संख्या अझै बढ्ने निकुञ्जको विश्वास छ ।

प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र विकास गर्न सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रसँग साझेदारी गर्ने र ग्रामीण पर्यटनमार्फत यस क्षेत्रका लाभलाई जनस्तरसम्म पु¥याउने रणनीति लिएको छ । मन्त्रालयले सबै मौसममा पर्यटकीय क्रियाकलापहरू सञ्चालन गर्न सकिने विभिन्न योजनासमेत बनाएको छ ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत टुकराज पाण्डेले भने, ‘अब लुम्बिनी घुम्ने सिजन र अफ सिजन नहोस्, सबै मौसममा घुम्न सकियोस् भन्नाका लागि योजनाहरू बनाइएका छन् ।’ पर्यटकलाई आकर्षण गर्न विभिन्न जिल्लाहरूमा होमस्टे र खुला रंगमञ्च निर्माण तथा थारु कल्चरल भिलेज र पार्क निर्माणका कामसमेत अगाडि बढाइएको छ ।

त्यस्तै, बर्दिया, दाङ, बाँके, पाल्पा र गुल्मीमा होमस्टे प्रवद्र्धनका कार्यहरू सञ्चालन भएका छन् । पाल्पाको तानसेन, दाङको घोरदौरा, रूपन्देहीको जितगढी र बर्दियाको ठाकुरद्वारामा सांस्कृतिक डबली, खुल्ला नाट्यघर निर्माणको काम सुरु भएको मन्त्रालयले जनाएको छ ।

पर्यटकीय पदमार्गको अध्ययन, धार्मिक तथा सांस्कृतिक पर्यटकीय केन्द्रको एकीकृत विकास आयोजना निर्माणका लागि अध्ययन थालिएको छ । विभिन्न धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलहरूमा पूर्वाधार निर्माणका कार्य सुरु भएका छन् । पछिल्लो समय प्युठानको स्वर्गद्वारी मन्दिर जाने दर्शनार्थीहरूको संख्या पनि अत्यधिक बढेको छ । आव ०७४÷७५ मा २ लाख ५० हजार र आव ०७५÷७६ मा ३ लाख स्वदेशी र विदेशी दर्शनार्थीले स्वर्गद्वारी मन्दिरको दर्शन गरेको स्वर्गद्वारीका प्रहरी इञ्चार्ज हरिबहादुर बस्नेतले जानकारी दिए । स्वर्गद्वारी मन्दिर आउनेमा सबैभन्दा बढी भारतीय पर्यटकहरू छन् । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष आयोजना गरेका कारण पनि यो वर्ष पर्यटकको संख्या अझै बढ्ने उनको अनुमान छ ।

प्राचीन कपिलवस्तु विकास आयोजना र तानसेन दरबारलाई ऐतिहासिक संग्रालयको रूपमा विकास गर्ने, तानसेनस्थित पाल्पा दरबारलाई प्रादेशिक संग्रालयको रूपमा विकास गर्ने कार्य भइरहेको पर्यटन प्रवद्र्धन महाशाखाले जनाएको छ । यस्तै, कपिलवस्तुको जगदीशपुर ताल क्षेत्रमा ‘आगन्तुक चरा अध्ययन केन्द्र’ स्थापनाका लागि तयारी थालिएको छ ।

प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रको प्रवद्र्धन, प्राकृतिक स्रोेतहरूको संरक्षण एवं दिगो व्यवस्थापनबाट समृद्धि हासिल गर्दै ‘समृद्ध प्रदेश, खुसी जनता’ प्रादेशिक लक्ष्य पूरा गर्न योगदान पु¥याउने दीर्घकालीन सोचका साथ विभिन्न योजना अगाडि सारिएको मन्त्रालयका अर्का अधिकृत गणेश घिमिरेले बताए ।

प्रतिक्रिया