शरद उत्सव दसैँ

आयु द्रोण सुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, ऐश्वर्य नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, बलं हलधरे
सत्यंच कुन्तीसुत, विज्ञानं विदुरे
भवन्तु भावतां कीर्तिश्चः नारायणे

(ऋषि द्रोणाचार्यका पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो शत्रुहरण क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो सान र मान होस्, सान्तनु महाराजको जस्तो बहादुरी होस्, बलरामको जस्तो बल होस्, सूर्यपुत्र कर्णझैँ दानी स्वभाव होस्, भीमसेनको जस्तो बल होस्, युधिष्ठिरको जस्तो सत्यवचन होस्, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस् ।) दसैँमा पुरुषलाई दिइने आशीर्वाद हो यो । महिलाका लागि भने देवी स्वरूप बन्नु भन्ने कामना गर्दै आर्शीवाद दिने चलन छ ।

जयन्ती मंगलाकाली
भद्रकाली कपालिनी
दुर्गा, क्षमा, शिवा, धात्री
स्वाहा, स्वधा नमोस्तुते ।
(संसारलाई नै जित्न सक्ने सामाथ्र्य राख्ने देवीझैँ जसले हरेक अन्धकारमा ज्योति छर्न सक्छिन्, हरेक दुःख निदान गर्ने समयभन्दा बलवान देवी जसले मानव खप्परको माला लगाउँछिन्, त्यस्ती देवीलाई नमन गर्दछु ।)

यस वर्ष असोज २१ गते मंगलबारदेखि कोजाग्रत पूर्णिमा २६ गते आइतबारसम्म तपाईंले मान्यजनबाट टीका र जमरासँगै यस्तो आर्शीवाद पाउनुहुनेछ ।

शरद ऋतुको रमणीय आगमन । उत्सवको माहोल छ यति वेला । यस वर्षको दसैँ सबैको घरपरिवारमा पुगिसकेको छ । गाउँघर सहरबजार सबैतिर दसैँको आगमनसँगै खुसीयाली छाएको छ । वैदेशिक रोजगारमा गएकाहरू पनि घर फर्कन थालेका छन् । अहिले बाह्य देशबाट नेपाल आउने र नेपालभित्रै पनि आफ्नो मूलघर फर्कनेको ताँती नै लागेको छ । जहाज र बसहरूको टिकट पाउन मुस्किल हुँदै गएको छ ।

दसैँका लागि बजारमा सामानहरू प्रशस्त नभए पनि किनमेल गर्नेहरूले सहरबजार गत सालजस्तो नभए पनि केही भिडभाड नै छ । वर्षदिनदेखि आम्दानी गर्न नसकेका व्यापारीहरू दसैँको मेलोमा मनग्य नाफा आर्जन गर्दैछन् । उपभोक्ताहरू पनि वर्षदिनपछि आउने दसैँमा नयाँ नानाको खोजीमा धाइरहेका छन् । बालबालिकाहरू पनि मलाई यो चाहिन्छ र त्यो चाहिन्छ भन्दै रुँदै हिँडेका छन् । आमा बाबा पनि आफ्ना बालबालिकाको आवश्यकता पूरा गर्न तल्लीन रहेका छन् ।

उनीहरूको आवश्यकता पूरा गर्न नसकिए पनि दसैँमा त उनीहरूको आवश्यकता पूरा गरौँ न त, अरु वेला भन्ने पक्षमा छन् । दसैँमा ऋण धन गरेर भए पनि बालबालिकाको आवश्यकता पूरा गर्नतिर अभिभावकहरू लागि परेका छन् । गाउँघरका व्यक्तिहरू पनि सहरबजारमा भएका नातेदारबाट केही आशा गरिरहेका छन् । कसैले नयाँ मोबाइलको माग गरिरहेका छन् भने कसैले नयाँ–नयाँ फेसनेबल लुगाको ।

के गरिब के धनी दसैँमा चाहिने आत्यावश्यक वस्तुको जोहो गर्न नै व्यस्त छन् । गरीबले ऋण गरेरै भए पनि दसैँ मनाउन कम्मर कसिरहेका छन् । यद्यपि दसैँ उनका लागि ‘आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बोकाई हुन पुग्ने निश्चित छ ।’ धनीहरूको देखासिकी गरिबहरूले पनि गर्न थालेका छन् । धनीहरू त्यसै पनि अरु समयमा पनि दसैँजस्तै मनाइरहेका छन् । अर्थात् हुने खानेहरूलाई सधैँ दसैँ छ हामीकहाँ ।

दसैँको समयमा जुवातास खेलेर मनोरञ्जन लिनेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । त्यसरी खेलेको जुवातासले कसैको घरवार नै गुमेको घटनाहरू पनि सुन्न पाइन्छ । समयको परिवर्तनसँगै दसैँ मनाउने संस्कृतिमा पनि परिवर्तन हुँदै आएको छ । दसैँमा जुवातास जस्ता विकृतिरूपी कार्य बढी हुन थालेका छन् । यसले गर्दा संस्कृतिले विकृत रूप लिँदैछ । दसैँको जस्तै विकृत रूप महिलाहरूको महान पर्व तीजमा पनि देखिएको छ । महिना दिनसम्म दर खाने परम्पराले गरीबीको रेखामुनि रहेका जनातहरूको झनै ढाड सेकेको छ ।

२÷३ दिन मात्र मनाइने तीज अहिले महिना दिनसम्म मनाउने गरिन्छ । यसैगरी न्यु इयर, क्रिसमस, भ्यालेन्टाइन डेलगायतकाले पनि समाजमा तहल्का नै पिट्दैछ । युवायुवतीहरू विदेशीहरूको नक्कल गर्दै भ्यालेन्टाइन डे मनाउन थालेका छन् । आफ्नो संस्कृतिलाई बचाई राख्नुपर्छ । समयअनुसार परिवर्तन पनि गर्दै जानुपर्छ । तर, संस्कृति रूपान्तरणको नाममा विकृति बनाउनु हुुँदैन ।

यति वेला वर्षात्का बादलहरू फाट्नेक्रममा छन् । मौसम क्रमशः सफा हुँदै गरेको छ र जसले आमन्त्रण गरिरहेको छ शरदकालीन पर्वहरू । नेपालीहरू को प्रमुख चाड दसैँ ०७६ संघारमा छ । यो पर्वलाई खासगरी असत्य माथि सत्यको जीतका रूपमा अंगीकार गरिँदै आएको छ । असत्यमाथि सत्यको जीत हुनै पर्दछ । यदि त्यसो हुन सकेन भने संसारको गति उँधोतर्फ ओरालो लाग्छ अराजकताको राज हुन्छ । मुठ्ठीभरका असत्यका धर्मीहरूले आफ्नो अधिपत्य जमाउनेछन् ।

त्यसो त सत्यको विजय खातिर यो युगमा पनि स्तुति स्तोत्र ध्यान पाठ–पूजा एवं बलिजस्तो तथा कथित ढुंगे मान्यताको ढोङमा रुमल्लि नै रहेको छ । हामीले सत्यको दुहाई दिँदै उत्सवपर्व चाड जति परापूर्वदेखि सफलीभूत गराउने चर्चा अनि महिमा गाए तापनि व्यवहारमा असत्यको जीत प्रारब्धदेखि नै गरिब, सर्वहारा, मजदुरको जीवन वृत्तमाथि परेको थियो र वर्तमानको समयमा पनि परिरहेको छ । वैभव÷ऐश्वर्य र विलासितामा परापूर्वदेखि नै सत्य हुनेखाने वर्गको गुलाम बनेको देखिन्छ । यति नै वेला संघारमा नै दसैँ आएर केही दिन वास बस्ने तर्खरमा लागिसकेको छ । युगौँदेखिको एउटा परम्परा दसैँं । यस वर्षको दसैँको सुअवसरमा दसैँ मनाउन लागिरहनुभएका सबैमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया