पाल्पाको रामपुरमा कानको उपचार सेवा

बेझाड । पाल्पाको रामपुरमा सञ्चालित कालीगण्डकी आँखा उपचार केन्द्रले कानको उपचार सेवा सुरु गरेको छ । आँखा उपचार सेवा दिँदै आइरहेको केन्द्रले मङ्गलबारबाट कानको उपचार सेवा थप गरेको हो । सेवाको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले शुभारम्भ गरिन् ।

उनले यस क्षेत्रको लागि यो सेवा अति आवश्यक रहेकाले नगरपालिकाले पनि कान उपचार सेवालाई प्राथमिकतामा राखेर सहयोग गर्ने बताइन् । कान उपचारको लागि छुट्टै सेवा रामपुरमा नहुँदा सदरमुकाम तानसेनलगायत अन्यत्र ठाउँमा बिरामी जानुपर्ने अवस्था छ ।

रामपुरमै सहजरुपमा आँखा जाँचसँगै कानको उपचार सेवा दिने उद्देश्यले थप सेवा विस्तार गरेको केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताए । दैनिक आँखा जाँच तथा उपचार, मासिक शल्यक्रिया हुँदै आएकोमा अब कानको अप्रेशन बाहेक अन्य उपचार थप भएको उपचार केन्द्रका प्रमुख सुन्दर रानाले जानकारी दिए ।

झोलाबाट सुरु भएको आँखा उपचार केन्द्रले अहिले आफ्नै सुविधा सम्पन्न भवनबाट आँखा जाँच सेवासँगै कानको उपचार सेवा सुरु गरेको हो । केन्द्रले कालीगण्डकी बेसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका नागरिकलाई सेवा दिँदै आएको छ । यही शल्यक्रियासहितको आँखा जाँच तथा कानको उपचार सेवा पाइने हुँदा नागरिकलाई ठूलो राहत पुगेको स्थानीय लक्ष्मी पौडेलले बताइन् ।

प्रतिक्रिया