ग्रामीण भेगमा सकसको दसैँ

काभ्रे । हिउँद लागे पनि लामोसमय अविरल वर्षाको कारण यसपाली काभ्रे जिल्लाको अधिकांश ग्रामीण भेगमा सकसका साथ दसैँ मनाउनुपर्ने बाध्यता भएको छ । जिल्लाका अधिकांश स्थानीय सरकारले सडकको ट्रयाक खोले पनि वर्षापछि स्तरोन्नति नगर्दा यस्तो वाध्यता आइपरेको हो ।

जिल्लाको विकट मानिँदै आएको महाभारत र खानीखोला गाउँपालिकाका बासिन्दा यस समस्याबाट गुज्रिरहेका छन् । दसैँका लागि सहर बजार निर्यात गर्नुपर्ने पशुचौपाय र अन्य सामग्रीहरू (कुचो, तरकारी, खुवा, दुध) तथा अन्य नगदे सामग्रीहरू पैदलबाटै पु¥याउनुपर्ने बाध्यता छ । त्यस्तै सहरबाट दसैँका लागि जोहो गर्नुपर्ने सामग्रीहरू (चामल, चिउरा) तथा अन्य दैनिक उपभोग्य सामग्रीहरू नौ घण्टासम्म पैदल हिँडेर ल्याउनुपर्ने बाध्यता रहेको खानीखोला गाउँपालिकाका स्थानीय बताउँछन् ।

खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुंगा जान मकवानपुरको भोर्लेनी र ललितपुरको हेलटारसम्म मात्रै सडक सुचारु भएकोे छ । तर, वर्षा अझै नरोकिँदा र हिलो र पहिरोको कारण ढुक्क भएर यात्रा गर्ने अवस्था भने अझै नदेखिएको उनीहरू बताउँछन् । खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले भने, ‘दसैँअघि नै केन्द्रसम्म चापागाउँबाट लाग्ने गाडि सुचारु गर्ने तयारी गरिँदै छ । सडकमा खसेको पहिरो पन्छाउने काम तीव्र गतिमा चलिरहेको छ । एकफेर सडक सुचारु गरिसकेको भए पनि फेरि झरी पर्दा कच्ची सडक बगाएर उस्तै बनाएपछि काम गर्न सकस भइरहेको छ ।’

नेपालीको महान चाड वडादसैँ सुरु भइसक्दा पनि काभ्रे जिल्लाको ग्रामीण भेगको यातायात सेवा अझै सुचारु हुन सकेको छैन । जिल्लाको विकट मानिने महाभारत र खानीखोला गाउँपालिकाको केन्द्र पुग्ने सडक अझै सुचारु हुन नसक्दा स्थानीयहरू पैदलबाटै आवागमन गर्न बाध्य भएका हुन् ।

त्यस्तै जिल्लाको चौरी देउराली गाउँपालिकाअन्तर्गत पर्ने कोसीपारी भेगको ट्रयाकसमेत मर्मत सम्भार नगर्दा चाडवाड मनाउन घर आउने यात्रुहरू जोखिम यात्रा गर्न वाध्य छन् । यात्रीको चाप पनि बाक्लो भएकै कारण उनीहरूले थप यातायातका साधन व्यवस्थापनको मागसमेत गरेका छन् । दसँैका लागि अत्यावश्यक पर्ने सामग्रीहरू ग्रामीण भेगको स्थानीयहरू घन्टौँ लगाएर बोकेर लैजानुपर्ने बाध्यता छ ।

जिल्लाका १३ वटै स्थानीयतहमा ट्रयाक मात्रै खोलिएका सडकका कारण वर्षातसँगै कच्ची सडक बगाउँदा यातायात अवरुद्ध भइरहेको छ । दाप्चा, तेमाल, भुम्लु, चौरी देउराली गाउँपालिकाका विभिन्न वडा, बेथानचोकको च्याम्राङबेँसी, मण्डनदेउपुरका विभिन्न वडालगायतका क्षेत्रमा सडकको अवस्था दयनीय भएकाले यात्रुहरू कष्टकर तरिकाले जोखिमपूर्ण यात्रागर्न बाध्य छन् ।

पछिल्लो केही वर्षअघि मात्रै नगरपालिका घोषणा भएका नमोबुद्ध, पाँचखाल, धुलिखेल, बनेपा, पनौती, मण्डनदेउपुरका भित्री र ग्रामीण सडकसमेत उत्तिकै जोखिमपूर्ण छन् । ग्रामीण भेगमा थोरै गाडी चल्ने भएकाले यात्रुको चाप बढी छ । वर्षाको समयमा झनै कम चल्ने भएकाले छतमा समेत यात्रागर्दा दुर्घटना बढ्ने संकेत देखिएको छ ।

जिल्ला प्रहरीले दसैँ लक्षित केही यात्राका यात्रुका सुरक्षाको विषयमा सावधानीका विभिन्न विषयहरू उठान गरे पनि सवारी साधन थप्न पहलकदमी भने नभएको यात्रुहरू बताउँछन् । जिल्ला प्रहरी र माताहतका प्रहरीले सुरक्षा सतर्कता अपनाइए पनि यात्रुको चापको, सीमित सवारी र सीमित प्रहरीका कारण यातायातको आवागमनमा हुने दुर्घटना बढ्ने खतरा देखिएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया