प्रजनन् स्वास्थ्यसम्बन्धी दुई दिने छलफल

काठमाडौँ । काठमाडौँमा स्वास्थ्यसम्बन्धी दुई दिने छलफल सम्पन्न भएको छ । आइतबार र सोमबार भएको छलफलमा प्रजनन् स्वास्थ्य गर्भपतनसम्बन्धी ऐन र मौलिक अधिकारको विषयमा युवा तथा सरकारी संयन्त्रसँग छलफल भएको हो । युथ एक्सन नेपालको आयोजनामा भएको सो छलफलमा आइतबार ३० भन्दा बढी युवाहरुको सहभागिता थियो ।

त्यस्तै सोमबार ५० भन्दा बढी संघसंस्था तथा सरकारी निकायका पदाधिकारीसँग पनि छलफल भएको छ । कार्यक्रममा एफडब्लुएलडीका नविन श्रेष्ठले सुरक्षित गर्भपतन गर्नको लागि सबै युवाहरुले जनचेतना फैलाउनुपर्ने बताए । उक्त कार्यक्रममा युथ एक्सन नेपालकी रुपा उप्रेतीले गर्भपतनको कुरा गर्दै यसको गोपनियतालाई बिशेष ध्यान दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘गर्भपतन गरेको सबै रजिष्टार देखाउन मिल्दैन, तर स्वास्थ्य संस्थामा यति जनाले सेवा लिए भनेर तथ्यांक दिन मिल्छ ।’ कार्यक्रममा हालसम्म नेपालमा लिंगको पहिचान गरेर गर्भपतन गरेको एउटा पनि मुद्दा नपरेको जानकारी दिइएको छ । ऐन बनेपनि नियमावली नहुँदा धेरै समस्या भएको कार्यक्रममा उपस्थित वकिलहरुले जानकारी दिए । सो कार्यक्रममा एक वक्ताले गर्भपतनलाई समाजमा खुलेर कुरा गर्ने अवस्था नभएको बताए ।

यसको कार्यान्वयनका लागि स्थानीय तहमा अबको लविङ त्यतातिर हुनुपर्ने कार्यक्रममा उपस्थितिहरुको धारणा रहेको थियो । त्यस्तै आर्थिक स्थिति कम र अशिक्षितमा गरेको अध्ययनअनुसार गर्भवतिहरु ५२ प्रतिशलाई सुरक्षित गर्भपतनको सेवा कहाँ पाइन्छ भन्ने थाहा नै नभएको तथ्यांक रहेको छ ।

यसको समस्या युवामा कस्तो–कस्तो छ ? अब के गर्नुपर्छ ? अपांगमैत्रीको लागि कस्तो समस्या छ यि र यस्तै विषयमा पनि छलफल भएको थियो । ऐन, प्राधानमा के छ ? कसरी एड्भोकेसी गर्ने ? कसरी स्थानीय स्तरमा लान सकिन्छ ? भन्ने विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा यौनिकता शिक्षाको विषयलाई अनिवार्य बनाइनुपर्ने युवाहरुको धारणा थियो ।

सेनेटरी प्याडलाई सबै स्थानीय तहमा निःशुल्क पाउने कुरा सकारात्मक भएको बताए । कार्यक्रममा मुलुकी अपराध संहितामा जहिलेसुकै गर्भपतन गर्न सक्ने भन्ने रहेको भन्दै ऐनमा बाझिएको जनाइएको थियो । त्यस्तै पितृसतात्मक सोच भएकाले मानसिक रुपमा नै परिवर्तन गर्नुपर्ने सबैको धारणा थियो ।

प्रतिक्रिया