कांग्रेसको एकता महाधिवेशन र निधि-गच्छदार सम्बन्ध

नेपाली कांग्रेसले पहिलो जागरण अभियान सकेर दोस्रो १५ दिने जागरण अभियान सम्पन्न गर्दैछ । नेपाली कांग्रेसको एकता महाधिवेशन र निधि–गच्छदार सम्बन्धलाई लिएर अहिले कांग्रेसभित्र अर्को जागरण गर्ने कोशिस भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले विभिन्न गुट–उपगुटलाई मिलाएर एकता महाधिवेशन गर्नेतिर लाग्नुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहितका नेताहरू १४औं महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तरखरमा लागेको बताइन्छ ।

विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अवसर पारेर कांग्रेसले कम बोल्ने र जनगुनासो सुन्ने अवसर ठानी दोस्रो जागरण अभियान सुरु गरेको हो । वीपी कोइरालाको देनलाई लिएर शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला (जोष्ट) एकजुट भएर रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहितलाई लिएर कांग्रेस सभापतिमा सर्वसम्मत बनाउन खोजिए पनि त्यो सम्भव देखिन्न । तर, कांग्रेस एकजुट बन्नेतिर भने लाग्नै पर्दछ भन्ने आवाज घन्किन थालेको छ । वर्तमान उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार कांग्रेसलाई एकढिक्का बनाउनेतिर लागे भने सम्भवतः कांग्रेस एकजुट बन्न सक्नेछ र आगामी निर्वाचनमा बहुमत ल्याउन सम्भव देखिन्छ । कसरी कांग्रेस अघि बढ्छ ? केही समय हेर्नै पर्दछ ।

नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ असोज ३० गते विजयकुमार गच्छदारलाई कांग्रेस प्रवेश गराउँदै भनेका थिए– ‘नेपाली कांग्रेसमा एकताबद्ध हुन आउनुभएका विजयकुमार गच्छदारजीलाई हार्दिक स्वागत र बधाई छ । उहाँ हामै्र नेता हो । उहाँले पार्टीमा नेतृत्वदायी भूमिका खेल्नुहुन्छ । मेहनत गर्न सक्ने नेता भएकाले मेहनत गरेर बलियो पार्टी बनाउनमा सफल हुनुहुन्छ भन्ने विश्वास लिएको छु ।’ गिरिजा कोइरालादेखि नोना कोइरालाले माया गर्दै ‘बेटा’ भन्ने गरे पनि पार्टीमा अटाउने ठाउँ नदिएको भन्दै भावुक बनेका, ०६४ माघ १८ मा गच्छदारले कांग्रेसका शीर्ष नेताहरूबीच छलफल गर्दैगर्दा कांग्रेस छाड्नुपरेको सत्य सुनाउँदै आँशु नै बगाएका थिए ।

नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ असोज ३० गते विजयकुमार गच्छदारलाई कांग्रेस प्रवेश गराउँदै भनेका थिए– ‘नेपाली कांग्रेसमा एकताबद्ध हुन आउनुभएका विजयकुमार गच्छदारजीलाई हार्दिक स्वागत र बधाई छ । उहाँ हामै्र नेता हो । उहाँले पार्टीमा नेतृत्वदायी भूमिका खेल्नुहुन्छ । मेहनत गर्न सक्ने नेता भएकाले मेहनत गरेर बलियो पार्टी बनाउनमा सफल हुनुहुन्छ भन्ने विश्वास लिएको छु

विजयकुमार गच्छदारलाई कांग्रेसमा प्रवेश गराइँदा विमलेन्द्र निधि उपस्थित नहुँदा केही खल्लो अनुभव गरिए पनि कार्यक्रम सञ्चालनकै क्रममा निधि झुल्किए र गच्छदार बसेकै सोफामा बस्न पुगे । गच्छदारले भाषण सकाएर फर्किंदा निधिसँग अंकमाल गरे । कार्यक्रम सञ्चालक महेश आचार्यले दुई नेताको अंकमाललाई ‘मित्रताको क्षण’ भनिदिँदा हल हाँसो र तालीले गुुञ्जियो । त्यसपछि पनि गच्छदार र निधि भलाकुसारीमै व्यस्त देखिए । कांग्रेसभित्रको मिलन अहिले यसरी अगाडि बढिरहेको छ ।

विजयकुमार गच्छदार सुनसरीबाट नेपाली कांग्रेसको नेता भए, तर विमलेन्द्र निधिले धनुषा ३ बाट राजेन्द्र महतोसँग पराजय भोगे । यसको लगत्तै सभापति देउवाले गच्छदारलाई संसदीय दलको उपनेता बनाए । २०७५ वैशाख २१ मा सभापति देउवाले विमलेन्द्र निधिलाई उपसभापतिमा मनोनयन गरे भने त्यसको ६ महिनापछि कार्तिक २० गते गच्छदारलाई देउवाले केन्द्रिय समितिबाट उपसभापतिमा मनोनयन गरे । कांग्रेसमा पाँच पदाधिकारीमा तराई–मधेशबाटै दुई–दुई उपसभापति र एक कोषाध्यक्ष भए ।

विजयकुमार गच्छदार २०१० माघ १९ मा जन्मिएर ६६ वर्ष पुगे भने विमलेन्द्र निधि २०१३ असोज १३ मा जनकपुरमा जन्मिएर ६३ वर्ष पुगे । गच्छदार थारू समुदायका हुन् भने निधि कायस्थ–मधेस ब्राम्हण समुदायका हुन् । महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र र विजयकुमार राजनीतिक क्षेत्रमा कहिले उदाए, कहिले अस्ताए पनि तराई–मधेश कांग्रेसको बलियो आधार क्षेत्र भएकाले कांग्रेसमा स्थापित हुन तराई–मधेशमा बलियो हुनै पथ्र्यो । त्यसैले विजय केन्द्रीय सदस्यदेखि महामन्त्रीसम्म दुवै भए र अहिले दुवैजना उपसभापति रहेका छन् ।

पूर्वमेचीदेखि पश्चिमसम्म थारू समुदायमा राम्रो प्रभाव, निरन्तर चुनाव जित्ने, शक्तिमा रहिरहन जुनसुकै सरकारमा सहभागी हुने, शक्तिका लागि पार्टी छाड्ने, आफ्नै मूल पार्टी कांग्रेसमै फर्किनेजस्ता शक्ति सञ्चय र संगठित गतिविधिमा गच्छदार निकै प्रभावशाली ठानिए पनि छवि त्यति राम्रो छैन भने पटक–पटक मन्त्री भए पनि निधिको छविमा अहिलेसम्म दाग लागेको देखिँदैन ।

सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच सम्बन्ध बिग्रँदै र बन्दै गएको छ । विमलेन्द्र निधि र विजय गच्छदार सधंै शक्तिमा रहनुभएका नेता हुनुहुन्छ । तर, सत्तामा रहँदा, पार्टी संगठनमा काम गर्ने मौका पाए पनि दुवैले उल्लेखनीय काम गर्न सक्नुभएको छैन । दुवैले एक–अर्कालाई निधिजी र विजयजी भनेर सम्बोधन गर्छन् । यी दुईबीचमा बाहिर ठीकै, तर भित्रीरुपमा तराई–मधेशको प्रमुख नेता को भन्ने प्रतिस्पर्धा छ । यसलाई सभापति देउवाले जसरी पनि मिलाउनुपर्ने चुनौती देखिन्छ । विमलेन्द्र निधि गुदी र विजय गच्छदार शक्ति भएकाले देउवाले कसरी मिलाउँछन् ? त्यसैमा निर्भर छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन अझै करिब दुई वर्ष बाँकी रहेकाले सभापति शेरबहादुर देउवामाथि यी दुवै नेता निर्भर छन् । तर, बाजी कसले मार्छ ? त्यो पछि नै थाहा हुन्छ । कांग्रेसलाई अहिले एकजुट बनाउने जिम्मेवारी सभापति देउवामाथि रहेको सन्दर्भमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा.रामशरण महत, डा.प्रकाशशरण महत, महेश आचार्य, डा.मिनेन्द्र रिजाल, रमेश लेखक, मीन विश्वकर्मा, गगन थापालगायतका नेताहरूलाई समेट्न कांग्रेस कसरी अगाडि बढ्छ ? त्यसैमा आगामी दिन निर्भर छ । कोइराला परिवारलाई सभापति बनाउन पनि महाभारत देखिन्छ । तर, एकता भने सम्भव देखिंदैन । सभापति, दुई उपसभापति, दुई महामन्त्री र केन्द्रीय सदस्य उम्मेदवार मिलाएर उठाउन सके र कांग्रेस एकजुट बन्न सके नेपाली कांग्रेसको भविष्य छ, नत्र स्थिति त्यस्तै रहने आँकलन देखिन्छ ।

प्रतिक्रिया