अस्पतालमा एपेन्डिसाइटिसका बिरामी बढे

दैलेख । नारायण नगरपालिका–३ खुर्सानीबारीका बलबहादुर नेपाली अचानक बेस्सरी पेट दुखेपछि दैलेख अस्पताल पुगे । उनका लागि दुःखाई सामान्य थिएन । भिडियो एक्स–रे लगायतका स्वास्थ्य परीक्षणबाट उनलाई एपेन्डिसाइटिस भएको खुल्यो ।

डाक्टरहरुको सल्लाहअनुसार शल्यक्रिया गर्ने तयारी भयो । तर, आर्थिक अवस्था कमजोर भएका कारण उनले घर फर्किने निधो गरे । थप उपचारका लागि बाहिर जाने अवस्था नै थिएन् । जब घर फर्कनलाई उनि अस्पतालको मुल गेट बाहिर निस्किए, पुनः बेस्सरी पेट दुख्न थाल्यो । घर नआई पुनः अस्पतालको बेडमा भर्ना भए ।

उनको आर्थिक अवस्था बुझेपछि दैलेख अस्पतालमै निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले बताए । शल्यक्रियापछि नेपालीले भनेका थिए ‘शल्यक्रिया गर्ने मेरो आर्थिक अवस्था भ्याउथेन, निःशुल्क उपचार पाएर दोस्रो जन्म पाएँ । चार सन्तान र पत्नीसहित ६ जनाको परिवार पाल्नै हम्मेहम्मे पर्छ’, उनले भने ।

एपेन्डिसाइटिसको समस्या लिएर दैलेख अस्पताल आउने मध्येका नेपाली उदाहरण मात्रै हुन् । पछिल्लो वर्ष दैलेख अस्पतालमा एपेन्डिसाइटिसका बिरामीको संख्या बढेको देखिएको छ । ‘एपेन्डिसाइटिस आन्द्रासँग सम्बन्धित पेटको रोग हो यसले बिरामीको ज्यान पनि लान सक्छ,’ अस्पतालका प्रमुख डा. पन्तले भने, ‘हरेक महिना दुईदेखि चार जना एपेन्डिसाइटिस बिरामी आउने गरेका छन् ।’

वार्षिक ३० देखि ३५ जनाको शल्यक्रिया गर्ने गरेको उनले जनाए । एपेन्डिसाइटिसका बिरामीको अवस्था जटिल रहेको खण्डमा बाहिर रिफर गर्ने गरेको उनको भनाइ छ । आर्थिक अवस्था न्यून भएका बिरामीको निःशुल्क उपचार गर्दै आएको डा. पन्तले बताए । दैलेख अस्पतालमा हाल हर्निया, हाइड्रोसिल लगायतका बिरामीहरूको शल्यक्रिया हुन गरेको छ ।

प्रतिक्रिया