यो अवार्ड अरूभन्दा भिन्न छ

‘सातौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड’ कार्यक्रम ७ असोजमा राजधानीमा हुँदैछ । नेपाली सांगीतिक क्षेत्रमा योगदान दिने स्रष्टा तथा व्यक्तित्वलाई प्रदान गर्दै आएको यो अवार्डका बारेमा आयोजक संस्था राप्ती समाज काठमाडौंका महासचिव रामु खड्कासँग गरिएको छोटो कुराकानीः

रापती म्युजिक अवार्डको तयारी कस्तो हुँदैछ ?
‘सातौं राप्ती म्युजिक अवार्ड २०७५’ यही असोज ७ गते राष्ट्रिय नाचघर जमलस्थित सत्यमोहन जोशी प्रेक्षालयमा हुँदैछ । अवार्ड कार्यक्रमको प्राइम टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछ । अन्य मिडियाले पनि साथ सहयोग गरिरहेका छन् । हामीले ४६ विधामा अवार्ड प्रदान गर्ने तयारी गरिरहेका छौं । अन्य अवार्डभन्दा राप्ती म्युजिक अवार्ड फरक हुनेछ । राप्ती समाज काठमाडौं २०६३ सालमा स्थापना भएको संस्था भएकाले यो अवार्डप्रति कलाकारको विश्वास र भरोसा छ ।

यस संस्थाको इतिहास लामो छ । करिब १६÷१७ वर्षको समयावधिमा यसले विभिन्न सांगीतिक तथा अवार्ड कार्यक्रम गरिसकेको छ । यो सातौँ अवार्डसम्म आइपुग्दा संस्थाले पाएको आड र भरोसाले हामीलाई फरक परिचय दिन सकेको छ । यस अवधिमा हामीले धेरै कुरा सिकेका पनि छौँ । साथै, समाजले विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएको छ । जस्तै, देशमा आइपर्ने समस्याहरू ०७२ सालको भूकम्प, बाढीपहिरो, आगलागी आदिमा सहयोग गरेका छौँ ।

अवार्डको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
रापती म्युजिक अवार्ड भनेपछि धेरैलाई यो राम्रो अवार्ड हो भन्ने विश्वास छ । यो पुरानो अवार्ड पनि हो । पुुरानो संस्थाले आयोजना गरेको भनेर पनि थुप्रै दर्शक आउनुहुन्छ । आर्थिक हिसाबले यो अवार्ड संस्थाले गर्ने हो । आर्थिक आयव्यय सम्पूर्ण संस्थाले हेरेको हुन्छ । विज्ञहरूसँग परामर्श गरी संस्थाले कार्यक्रमलाई भव्य बनाउने तयारी गरिरहेको छ ।

अवार्ड सम्पन्न गर्नका चुनौती के छन् ?
अवार्ड वार्षिक रूपमै खटेर गर्ने कार्ययोजना हो । हामीले वर्षभरी विभिन्न तयारीका लागि खटिन्छाँै । विशेषगरी १÷२ महिना अघिदेखि हामीले व्यवस्थित रूपले कार्य विभाजन गरी तयारीमा जुट्छौँ । वास्तवमा कार्यक्रम सम्पन्न गर्न निकै चुनौती हाम्रा सामु खडा छन् । पहिलाको भन्दा अहिले मान्छेको हेर्ने दृष्टिकोण पनि फरक छ । तर यसमा हामीले त्रुटि हुन नदिई काम गर्ने कोसिस गरेका छौँ । अन्य संस्थाले गर्ने अवार्डभन्दा फरक होस् भन्ने उद्देश्य राखेर काम गरिरहेका छाँै । यसमा सबैको साथ र सहयोगको आवश्यकता छ ।

कस्ता व्यक्ति सहभागी हुँदैछन् ?
सबभन्दा पहिला त गीत संगीतसँग सम्बन्धितबाहेक सम्पूर्ण कला, साहित्य, लोक संस्कृतिलाई माया गर्ने, दर्शक श्रोताहरू नै हुनुहुन्छ । यो समाज विभिन्न क्षेत्रसँग आबद्ध रहेकाले राजनीतिक, सामाजिक तथा सिर्जनात्मक क्षेत्रमा काम गर्ने सबै व्यक्तित्वलाई आमन्त्रित गरेका छाैँ ।

यसअघि नोमिनेसन गर्दा कलाकारको प्रतिक्रिया कस्तो पाइन्थ्यो ?
अन्य अवार्डमा धेरै साथीहरूले अब्जेक्सन देखाए पनि हाम्रो अवार्डमा अहिलेसम्म त्यस्तो भएको छैन । अवार्डमा जर्ज कमिटीलाई राखेर कार्यसमितिका साथीहरूले राम्रो डिसिजन लिएर जुन काम गरिरहेका छौँ । वास्तवमा कुनै स्रष्टाप्रति आग्रह नराखी सिर्जनाको आधारमा हामीले मूल्यांकन गर्ने परिपाटी बसालेकाले खासै प्रतिक्रिया आएको पाएका छैनौ ।

अन्त्यमा….।
सांगीतिक क्षेत्रमा यो ऐतिहासिक अवार्ड हो । साथै यो कार्यक्रम सम्पन्न गर्न सम्पूर्ण समितिका पदाधिकारीले सहयोग गर्नुभएको छ । उहाँहरूप्रति आभार प्रकट गर्दछौँ । त्यस्तै, हामीलाई प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघ–संस्था तथा सञ्चारमाध्यमप्रति विशेष धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया