संविधान दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान दिवसको अवसर पारेर दुई असोजका दिन मुलुकभरका सरकारी अस्पतालमा ओपिडीसेवा निःशुल्क दिने निर्णय गरेको छ । सरकारले तीन असोजमा पर्ने संविधान दिवसलाई राष्ट्रिय पर्वका रूपमा भव्यताका साथ मनाउने तयारी गरिरहँदा स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

नेपालमा पहिलो पटक वि.सं. २००४ मा लिखित संविधान लागू भएको थियो । त्यसयता सात दशकको अवधिमा मुलुकले सातओटै संविधान पाएको छ । चरम राजनीतिक अस्थिरताका कारण मुलुकमा सरकार मात्र नभई औसत प्रत्येक दशकजसो शासन व्यवस्था नै परिवर्तन हुने चगुँलमा देश फस्दा पटक–पटक संविधान असफल हुँदै आएका छन् । यसले मुलुकलाई विकासमा निकैपछि धकेलेको छ । विकासमा लाग्नुपर्ने समय राजनीतिक अधिकारका लागि लड्नमै खर्च हुँदा जनस्वास्थ्यको पाटो पनि निकै कमजोर अवस्थामै रहन पुगेको छ ।

पछिल्लोपटक भने मुलुकमा संघीय प्रणालीसहित गणतन्त्रको स्थापनासँगै पहिलोपटक जननिर्वाचित प्रतिनिधिको संविधानसभाले निर्माण गरेको संविधान देशले पाएको छ । लामो संघर्ष र बलिदानपछि प्राप्त जननिर्वाचित संविधानसभाबाट निर्मित संविधान भएकाले यसलाई चिरकालसम्म सफल तुल्याउनु मुलुकको विकासका लागि अति आवश्यक छ । त्यसैले सरकारले संविधान दिवसलाई विशेष महत्व र व्यापक जनसहभागिताका साथ राष्ट्रिय पर्वका रूपमा मनाउन लागेको हो । यसक्रममा स्वास्थ्य मन्त्रालयले संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा हर्षोल्लासपूर्वक मनाउने योजनाअनुसार यसपटक आम सर्वसाधारणलाई दुई गते ओपिडी सेवा निःशुल्क उपलब्ध गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सचिव खगराज बरालले आगामी दुई असोजका दिन संघअन्तर्रगत अस्पताल, प्रदेश स्तरका अस्पताल, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्रदेखि सबै स्वास्थ्य संस्थाले लिने ओपिडी शुल्क नलिन निर्देशन दिएको बताए ।

‘यसपटक सरकारले संविधान दिवसलाई विशेषरूपमा दुई, तीन र चार असोज गरी तीन दिन मनाउने निर्णय गरेको छ । सो अवसरमा हरेक मन्त्रालयले एउटा रचनात्मक काम पनि होस् भन्ने सरकारको चाहना थियो । सोहीअनुसार स्वास्थ्य मन्त्रालयले ओपिडी टिकटको शुल्क नलिने निर्णय गरेको हो,’ सचिव बरालले भने । उनले निजी अस्पताललाई यसरी छुट दिनका लागि अनिवार्य गर्न नमिल्ने भएकाले छुटका लागि आग्रह भने गरिएको बताए । यसअघिको संविधान दिवसको अवसरमा भने यस्तो सेवा सरकारले दिएको थिएन ।

प्रतिक्रिया