लोकतन्त्र धरापमाः दोष कसको ?

मन्त्री भट्टराईले आफूले १५ मिनेट मात्रै डिले गराएको दाबी गरेका छन् । चाहे एक घण्टा होस् , चाहे १५ मिनेट आखिर डिले भएकै हो । पर्यटन मन्त्री भट्टराईले आफ्नो अधिकार दुरूपयोग गरेकै हुन् । उनले अधिकार दुरूपयोग गरेको मूल्य लोकतन्त्र तथा संविधानले चुकाइ सकेको छ । अभद्र व्यवाहर गर्ने ज्ञानेन्द्र शाही माथि छानबिन सुरु हुनु एउटा पाटो हो तर, मन्त्रीले आफ्नो पद दुरूपयोग गरेको विषयमा छानबिन भएन भने ज्ञानेन्द्र शाहीको लोकप्रियता अझ बढ्नेछ 

मुलुकका ७७ जिल्लामध्ये पूर्वराजा ज्ञानेन्द्र शाहको सबैभन्दा बलियो पकड भएको जिल्ला बाँके हो । जहाँ पूर्वराजा शाहले होटल व्यवसाय समेत चलाएका छन् । राजधानी काठमाडौं तथा विदेशपछि पूर्वराजा शाहले सबैभन्दा धेरै समय बिताउने स्थान बाँकेको नेपालगञ्ज नै हो । नेपालगञ्जलाई मुकाम बनाएर मुलुको पश्चिमी तथा सुदुरपश्चिमी क्षेत्रमा पूर्वराजा शाहले निकै राम्रो पकड बनाएका छन् । खासगरी त्यस भेकका राणा, ठकुरी तथा केही जिमिनदारहरूले पूर्वराजा शाहको पुनर्वाहालीका लागि मन फुकाएर गतिविधि गर्ने गरेका छन् । त्यस भेगका राणा तथा ठकुरीहरूसँग पूर्वराजा शाहको नाता सम्बन्धको सञ्जाल पनि निकै ठूलो छ ।

करिब ३५ प्रतिशत मुसलमान रहेको नेपालगन्ज उपमहानगर पालिकामा धवलशमशेर राणाले मेयर पदमा चुनाव जिते । हिन्दू अधिराज्यबादी एजेन्डा बोकेका उनले कुनै वेला सुशील कोइरालालाई समेत पराजित गरेका थिए । मुलुकका ७ सय ५३ वटा पालिकामध्ये हिन्दूहरूको सबै भन्दा कम पकड रहेको नेपालगञ्ज उपमहानगर पालिकामा हिन्दूअधिराज्यवादी पार्टीले चुनाव जित्नुको सिधा कारण हो–‘ पूर्वराजा ज्ञानेन्द्र शाहको पकड ।’

२०१७ सालको कु को घटनाको श्री गणेश गोरखा जिल्लामा काण्ड भच्चाएर गरिए जस्तै अबको कु को श्रीगणेशको केन्द्र नेपालगन्ज बनाउन खोजिएको पो हो कि ? भन्ने संकेत देखिएका छन् । यी संकेतका उदाहरण हुन् –‘गत शुक्रबार र शनिबार नेपालगन्जमा फरक प्रकृतिका दुई वटा घटना ।’ केही साताअघि भएको गौहत्या प्रकरणलाई पनि अब नयाँ सिराबाट छानबिन गर्नु जरुरी छ । यी घटना विकसित मुलुकमा घटित भएको भए निकै गम्भीर मानिन्थे , तर नेपालमा गम्भीर मानिएको छैन ।

यी दुवै घटनाको संकेत भने निकै गम्भीर छन् । मुलुकको लोकतन्त्र तथा संविधानको आयुसँग यी घटनालाई जोडेर विश्लेषण गरेनन् भने सत्तारूढ नेकपा , प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अरू लोकतन्त्रबादी शक्तिको गम्भीर गल्ती हुनेछ । यी दुई घटनामध्ये पहिलो हो–‘शुक्रबार नेपाली कांग्रेसको कार्यक्रममा सत्तारूढ नेकपाका कार्यकर्ताद्वारा भएको आक्रमण ।’ दोस्रो हो–‘ शनिबार पर्यटन मन्त्री योगेश भट्टराई माथि बुद्ध एयरको विमान भित्रै गरिएको हुल हुज्जत ।’ शुक्रबार नेपाली कांग्रेसको जागरण कार्यक्रममा सत्तारूढ दल नेकपाका कार्यकर्ताहरू प्रवेश गरेर एकाएक आक्रमण सुरु गरे ।

आक्रमणका क्रममा बाँके जिल्ला सभापति एवं महिला नेतृ किरण कोइरालाको हात भाँचियो । करिब एक दर्जन अन्य कार्यकर्ता घाइते भए । यो घटना नितान्त सुनियोजित थियो तर, कसको डिजाइनमा भएको थियो ? लोकतन्त्र तथा संविधानलाई कमजोर बनाउने डिजाइन अनुसार नै यो घटना भएको हो । प्रतिपक्षी नेपाली कांग्रेसलाई अझै निस्तेज बनाउने रणनीतिमा यदि सत्तारूढ पार्टी हो भने लोकतन्त्रका दिन गन्ती सुरु भए भनेर बुझ्दा हुन्छ ।

नेपाली कांग्रेसलाई कमजोर बनाएर लोकतन्त्र बलियो बनाउने सपना देख्नु भनेको कालिदासले रूखको हाँगोको टुप्पोमा बसेर फेद काटेको कथा जस्तै हो । नेकपाको केन्द्रको निर्देशन नभई स्थानीय नेता तथा कार्यकर्ताहरूको बुद्धि तथा तर्कले पनि यो काम गरेको हुन सक्छ । यदि त्यस्तो हो भने संविधान र लोकतन्त्र संरक्षण गर्ने महान अभिभारा नेकपाको काँधले थेग्न सक्दैन भन्ने बुझ्न सकिन्छ । अरू दल प्रति अत्यान्त असहिष्णु र लोकतन्त्रको मर्म नबुझेका कार्यकर्ताको झुण्ड बोकेर लोकतन्त्रको संरक्षण गर्न सकिन्न भन्ने कुरा नेकपाको नेतृत्वले बुझ्दा हुन्छ ।

त्यस्तो कुरा लोकतन्त्रका खम्बा मानिने दुई ठूला पार्टी नेकपा र नेपाली कांग्रेसलाई आपसी भौतिक भिडन्तमा उतारेर राजतन्त्र पुनर्वाहाली गर्ने डिजाइनअन्तर्गत पनि यो घटना भएको हुनु पर्छ । यो मामिलामा सरकार तथा सत्तारूढ नेकपा जति संवेदनशील हुनु पर्छ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि त्यतिकै संवेदनशील हुनु जरुरी छ । नेकपाका कार्यकर्ताहरू आफू विरुद्ध भौतिक आक्रमणमा उत्रेपछि आफ्नो बाहुल्यता भएको ठाउँमा नेपाली कांग्रेस पनि भौतिक भिडन्तमा उत्रन नसक्ने होइन ।

नेपाली कांग्रेस पनि एक पटक राणा विरुद्ध हतियार उठाएर राज्य सत्ता पल्टाएको पार्टी हो भने अर्को पटक पञ्चायती व्यवस्थाविरुद्ध हतियार उठाएर राजालाई तवाह तवाह पारेको पार्टी हो । तर, नेपालगन्जमा भएको त्यो अक्रमण नेकपाद्वारा आफू माथि गरिएको युद्धको आह्वान हो भनेर विश्लेषण गर्ने गल्ती नेपाली कांग्रेसले नगरोस् । नेकपाविरुद्ध नेपाली कांग्रेस प्रतिकारमा उत्र्यो भने संविधानले त थेग्न सक्दैन सक्दैन मुलुकले समेत थेग्न सक्दैन । सरकारले अपराधीहरूलाई पक्राउ गरी छानबिन सुरु गरिसकेकोकोले यो घटना अब मत्थर हुँदै जाने संकेत देखिएको छ । यी अपराधीहरू कसको निर्देशनमा परिचालित थिए ? भन्ने कुरा पत्ता लगाउनु जरुरी छ ।

एक वर्षअघि नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले विदाको दिनमा सरकारी गाडी चल्न नदिने अभियान चलायो । यही अभियानका क्रममा पोखारामा नेविसंघकै दुई जना कार्यकर्ताहरूले एउटा सरकारी गाडीमा आगजानी गर्यो । यो आगजानीपछि नेपाली कांग्रेसले तत्काल प्रेस विज्ञाप्ति निकाल्दै छानबिन तथा दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गर्यो । गाडी चलाउने दुई जना कार्यकर्ता तीन महिनासम्म थुनामा परे । नेपालगञ्जको यो घटनामा पनि नेकपाले विज्ञाप्ति निकालेर दोषी माथि छानबिन गरी कारबाहीको माग गरेको भए प्रमुखदलहरू भित्रैबाट पूर्वराजाको पक्षमा हरकत हुने संभावना कम हुन्थ्यो ।

नेकपाका कार्यकर्ताद्वारा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि आक्रमण गरिएको भोलिपल्ट शनिबार पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराई माथि राजावादी समूहद्वारा हुल हुज्जत गरियो । अरू ठाउँमा गरिएको भए त्यति गम्भीर मानिदैनथ्यो होला तर उडिरहेको विमान भित्रै गरियो । सौभाग्यवस विमान दुर्घटना हुन पाएन । अरू विकसित मुलुकमा भएको भए यो धेरै नै गम्भीर प्रकृतिको घटना मानिन्थ्यो ।

दोषीमाथि कारबाही गर्न सर्वसाधरण नागरिकहरूले समेत सडकमा उत्रेर सरकारमाथि दबाव दिन थाल्थे, तर, यतिवेला समाजिक सञ्जाल हेर्ने हो भने मुख्य दोषी ज्ञानेन्द्र शाहीको पक्षमा मौहोल बढेको देखिन्छ । पर्यटन मन्त्री भट्टराईको निर्देशनमा बुद्ध एयरको विमान एक घण्टा डिले गराइएका कारण जनताले प्रतिकार गरेको दाबी ज्ञानेन्द्र शाहीको पक्षबाट गरिएको छ भने मन्त्री भट्टराईले आफूले १५ मिनेट मात्रै डिले गरेको दाबी गरेका छन् ।

चाहे एक घण्टा होस् , चाहे १५ मिनेट आखिर डिले भएकै हो । पर्यटन मन्त्री भट्टराईले आफ्नो अधिकार दुरूपयोग गरेकै हुन् । उनले अधिकार दुरूपयोग गरेको मुल्य लोकतन्त्र तथा संविधानले चुकाइ सकेको छ । अभद्र व्यवाहर गर्ने ज्ञानेन्द्र शाहीमाथि छानबिन सुरु हुनु एउटा पाटो हो तर, मन्त्रीले आफ्नो पद दुरूपयोग गरेको विषयमा छानबिन भएन भने ज्ञानेन्द्र शाहीको लोकप्रियता अझ बढ्नेछ । नेकपाका कार्यकर्ताहरूले यो घटनालाई आफ्ना युवा नेता भट्टराई प्रति आस्थाको आँखाले मात्रै हेरको देखिएको छ । तर, राजनीतिक आँखाले हेर्नु जरुरी छ ।

हामीलाई युरोप अमेरिका र जापानको विकासले लोभ्याउँछ । संसद्मा ३ मिनेट ढिला पुग्दा क्षमा याचना सहित राजीनामा दिने जापानी मन्त्रीका कथा पढेर दंग पर्छौं । आफ्ना कारणले जहाजको अरू उडानलाई असर हुन पुग्दा राजीनामा गर्ने मेक्सिकन मन्त्रीलाई वाह वाही गर्छौं । हाम्रो नजिकैका ईमरान खानको गुणगान र प्रशंसामा अनेकौँ शब्द खर्चिन्छौँ । तर, जब हाम्रा ‘नेता’ तेस्ता देखिँदैनन्, त्यसको विपरीत चल्न थाल्छन्, हाम्रो समाज पक्ष विपक्षमा उत्रिन्छ । गालि गलौजमा रमाउँछ ।

हामी समय, सत्य र अनुशासनको परिभाषालाई पनि शाश्वत, सार्वकालीक, सर्वव्यापी देख्न–मान्न सक्दैनाैँ । कारण, हामीहरू राजनीतिक दलका ‘सिपाही’ भन्दा फरक छैनाैँ । तब हामी नेपालकै जस्तो विकासमा बाँच्न विवश हुन्छौँ । मन्त्री भट्टराईले नैतिकताको आधारमा राजीनामा दिनु नै यो प्रकरणको उचित निकास हो । तर, यो सुझाव सुन्ने समेत धैर्यता नेकपाका कार्यकर्ताहरूमा देखिँदैन । अब दोष कसको ?

प्रतिक्रिया