‘डेंगुका लागि संकटकाल आवश्यक छैन’

काठमाडौं । सरकारले डेंगु रोग नियन्त्रणका लागि संकटकाल घोषणा गर्न आवश्यक नरहेको बताएको छ । संकटकाल घोषणा गरी डेंगु नियन्त्रण अभियान चलाउन संसदमा समेत माग उठेपछि स्वास्थ्य मन्त्रालयले आत्तिनुपर्ने अवस्था नआइसकेको प्रतिक्रिया दिएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले डेंगुको महामारीको अवस्था नरहेको र संकटकालको कुरा उठाएर जनतालाई त्रासमा नराख्न आग्रह गरेका हुन् । भूगोलका हिसाबले धेरै ठाउँमा डेंगु भेटिए पनि महामारीको अवस्था नरहेको सुनाए । उनले डेंगु रोग नियन्त्रणका लागि सरकारले सबै प्रयास गरिरहेको दाबी गरेका हुन् ।

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा डेंगुको संक्रमणले ६ जनाको मृत्यु भइसकेको छ भने सयौँ संक्रमित रहेका छन् । पहिले तराईका जिल्लाहरूमा मात्रै भेटिने डेंगुका बिरामी पहाडी जिल्ला हुँदै हिमाली जिल्लामासमेत भेटिएपछि त्रास बढेको हो ।

यता नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् । बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गौतमले मुलुक डेंगुले आतंकित र आक्रान्त भएकाले संकटकाल घोषणा गर्नसमेत माग गरेका हुन् । ‘झारा टार्ने र कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानलाई चरितार्थ गरेर मात्र पुग्दैन । त्यसैले म जोडदाररूपले स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु उनले भने ।’

सरकार मुकदर्शक बनेर बस्न नमिल्ने भन्दै उनले संकटकालको घोषणा गरेर अघि बढ्नुपर्ने बताए । उनले डेंगुको नियन्त्रणमा सरकार कुम्भकर्णको निद्रामा सुतेको आरोप लगाए । उनले थपे, ‘खालि रुलिङ गरेर हुन्छ, यत्तिको विरोध र आक्रोश देखिँदैन । स्वास्थ्यको जिम्मा लिएर बस्नुभएका मन्त्रीजी कहाँ हुनुहुन्छ ? प्रधानमन्त्री पनि स्वदेशमा आइसक्नुभयो । चुप लागेर बसेर, रुलिङ गरेर, टेबुल ठोकेर र सत्तापक्षका साथीहरूले विरोध जनाएर मात्रै पुग्दैन ।’

प्रतिनिधिसभा बैठकमा बिहीबार सभामुख कृष्णबहादुर महराले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिएका थिए । प्रतिनिधसभामा केही दिन अगाडिदेखि नै सांसदहरूले डेंगु प्रकोपको बारेमा सरकारको ध्यानाकर्षण गराएपछि महराले सरकारको नाममा विशेष रुलिङ गरेका हुन् । ‘संसद्को बैठकमा माननीयहरूले केही दिनयता नियमितजस्तै डेंगुको कुरा कुरा उठाउँदै आउनुभएको छ, यस रोगको प्रकोपको अवस्था र नियन्त्रणका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

शून्य पक्षमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सांसद कृष्णगोपाल श्रेष्ठले डेंगुबारे स्पष्ट जानकारी नदिएको भन्दै तत्काल यो विषय सदनलाई जानकारी गराउन माग गरेका थिए । उनले भने, ‘अझै कतिजना सांसदलाई डेंगु भएपछि सरकारको ध्यानाकर्षण हुने हो ? यस विषयमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्यो ।’

त्यस्तै नेकपाका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले डेंगु रोगको प्रकोप हो या महामारीकै रूप लिएको हो ? भन्दै प्रश्न गरेका थिए ।

सांसद जुलीकुमारी महतोले पनि यसको प्रकोपबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने भन्दै ठूला पूर्वाधारमा लगानी बढाउने, नीति तथा लगानीमैत्री वातावरण सिर्जना गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी थिइन् । नेपाली कांग्रेसकी उमा रेग्मीले यसको महामारी नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै हरेक वर्षजसो यस विषयमा हल्ला हँुदा पनि कीट प्रकोप नियन्त्रणका लागि ध्यान किन नदिएको भन्दै प्रश्न गरेकी थिइन् ।

अमेरिकाद्वारा ‘ट्राभल नोटिस’ जारी
अमेरिकाले डेंगु लगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै अमेरिकाले एसिया, अफ्रिका र मध्यपूर्वको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जारी डेंगुबाट बढी प्रभावित देशहरूको सूचीमा नाम समावेश नगरे पनि प्रभावित क्षेत्रहरूको नक्सामा भने नेपाल समेटिएको छ । दक्षिण एसियाका भारत, पाकिस्तानसँगै बर्मा, लाओस, कम्बोडिया, थाइल्यान्ड, मलेसियालगायत देशको नाम पनि डेंगु संक्रमणमा रहेको उल्लेख छ ।

सीडीसीले जारी गरेको सूचनामा फ्रेन्च पोलिनेसिया, फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको उल्लेख छ । यी क्षेत्रमा संक्रमण उच्च रहेकाले सतर्क रहन भनिएको छ । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ‘ट्राभल नोटिस’ जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको हो ।

कर्मचारीलाई यथास्थानमै रहन निर्देशन
स्वास्थ्य मन्त्रालयले डेंगु प्रभावित जिल्लामा कार्यरत समायोजन भएका कर्मचारीलाई यथास्थानमै रहेर काम गर्न निर्देशन दिएको छ । देशभर डेंगुको प्रकोप बढेपछि स्वास्थ्य मन्त्रालयले समायोजन भएका कर्मचारीलाई यथास्थानमै रहेर काम गर्न निर्देशन दिएको हो । मन्त्रालयको सचिवस्तरीय बैठकले डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई विदा नदिने निर्णयसमेत गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक एवं स्वास्थ्यर्मीहरुलाई प्रसूति, अध्ययन र किरियाबाहेकका विदासमेत नदिने जनाएको छ ।

प्रतिक्रिया