बेनिलिमा ५५ प्रतियोगी

काठमाडौं । ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’ को अन्तिम प्रतिस्पर्धा आगामी शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजामा हुँदैछ । मोडलिङसम्बन्धी यो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

उनका अनुसार प्रतियोगितामा देशभरबाट ५५ जना युवायुवती भिड्दै छन् । प्रतिस्पर्धामा सहभागीले साउनको पहिलो सातादेखि प्रशिक्षणसहित विभिन्न तयारीमा जुटेका थिए । व्यक्तित्व विकास, फोटोसुट, भिडियो प्रोफाइल, सामाजिक सञ्जाल व्यवस्थापन, ट्राफिक रुल अवेरनेस, नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनको सहयोगमा ब्रेस्ट क्यान्सर अवेरनेस, फ्ल्यास मोभ लगायतका विषयमा प्रशिक्षण चलिरहेको छ । त्यस्तै, उनीहरूलाई सेल्फ मार्केटिङ र सेल्फ मेकअपलगायतको समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

प्रशिक्षण तथा मोटिभेसनल कार्यक्रममा अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, थेन्डुप शेर्पा, वनिसा मुल्मी श्रेष्ठ, निश्चल श्रेष्ठलगायतले प्रतियोगीलाई व्यक्तित्व विकासका साथै विविध विषयमा जानकारी दिएका थिए । रोजिन शाक्य प्रतियोगिताको मुख्य प्रशिक्षक रहेका छन् । प्रतियोगिताकै लागि भनेर भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोर आइतबार नै नेपाल आइसकेका छन् । कार्यक्रममा मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले ¥याम्पमा उत्रने जनाइएको छ ।

प्रतिस्पर्धामा सहभागी युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकासलगायत उद्देश्यले कार्यक्रम आयोजना हुँदै आएको नेक्स्टका अध्यक्ष धमलाले बताए । उनका अनुसार नेक्स्ट नेपालमा व्यवसायिक मोडल उत्पादन गर्ने सौन्दर्य प्रतियोगिता हो ।

विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा एक महिला र एक पुरुष शीर्ष बिजेता छानिने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रतिक्रिया