तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडौं । पूर्वराजदूत केशव झाको हत्यामा संलग्नको आरोपमा पक्राउ परेका उनका सहयोगी सानुकान्छा तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत काठमाडौंले तामाङलाई थुनामा पठाउने आदेश गरेको हो ।

प्रहरीले तामाङलाई नै झाको हत्याका मुख्य अभियुक्त भएको बताउँदै आएको छ । प्रहरीका अनुसार ५० हजार रुपैयाँको लेनदेनका विषयमा कुरा नमिलेपछि हत्या गरेको दाबी गरेको छ । बुधबार जिल्ला अदालतले सो मुद्दामा यस्तो आदेश गरेको हो । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला अदालत काठमाडाँैमा उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो ।

झाको बबरमहलस्थित आफ्नै निवासको एकान्त कोठामा रहस्यमय तरिकाले हत्या गरेको आशंकामा प्रहरीले तामाङलाई दोस्रो पटक पक्राउ गरेको थियो । परिवारले तामाङविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई काभ्रेबाट पक्राउ गरेको थियो । एकवर्षअघि भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो । झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा चार र घाँटी छेउमा दुई पटक प्रहार गरेर हत्या गरिएको विवरण प्रहरी मुचुल्कामा उल्लेख छ ।

मध्यराति घरभित्र सुतिरहेको अवस्थामा झाको हत्या भएपछि अनुसन्धानमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले टोलीले झाकै घरमा पाले बसेकासँगै भान्छेको काम गर्दै आएका तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङलाई पक्राउ गरेको थियो । झा हत्या आरोपमा पक्राउ परेका उनीहरू भदौ २९ गते ८÷८ हजार रुपैयाँ धरौटीमा छुटेका थिए । महाशाखाले तीनैजनाको पोलिग्राफ परीक्षण गरेको थियो । जसमा आइतसिंह र जयबहादुरले झुटो नबोलको पत्ता लागेको थियो भने सानुकान्छाले झुटो बोलेको त्यसबेलै पत्ता लागको थियो । पोलिग्राफपछि प्रहरीले सानुकान्छाको नार्को परीक्षणसमेत गरेको थियो ।

नार्को परीक्षण भनेको औषधी खुवाएर अर्धचेत बनाई मनोविज्ञले प्रश्न सोध्ने विधिको नाम हो । त्यसमासमेत कुनै ‘क्लु’ फेला परेको थिएन । फिंगर प्रिन्टमासमेत केही नदेखिएपछि अन्ततः सानुकान्छा प्रहरीबाट छुटेका थिए । साउन ३१ गते पुनः उनलाई पक्राउ गरी अदालतमा पेस गरिएको थियो ।

प्रतिक्रिया