बिपीको अवधारणा आत्मसात् गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले बिपी कोइराला समाजवादका प्रवत्र्तक रहेको धारणा व्यक्त गरे । उनले कोइरालाको जन्मजयन्ती सन्दर्भलाई जोड्दै पूँजीवादी व्यवस्थाको नक्कल गरेर ठूलाठूला विमानस्थल, रेल र पानीजहाज सञ्चालन गर्दैमा मुलुकमा समाजवाद नआउने बताए ।

उनले भने, ‘पुष्पलाल, मनमोहन अधिकारी र कोइरालाले कल्पना गरेको समाजवादमा जनतालाई केन्द्रविन्दुमा राखेर योजना बनाइन्थ्यो भने अहिलेको सरकार पश्चिमा तथा अमेरिका एवं पूँजीवादलाई केन्द्रविन्दुमा राखेर योजना बनाउँछ जसले गर्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको छ ।’

नेता गिरीले समाजमा दिनदिनै हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, अनियमितता र गाउँगाउँमा बेरोजगारी, अर्ध बेरोजगारी र गुप्त बेरोजगारी बढ्दै जानु, युवा वर्ग विदेशिनु, जमीन बाँझिदै जानु र आयात बढ्दै जानुले मुलुक समाजवादतर्फ नभई उपभोगवादतर्फ उन्मुख भएको बताए । उनले बिपीको समाजवादको अवधारणालाई आत्मसात् गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया