काठमाडौँ । नसर्ने रोग दिनप्रतिदिन बढ्दै गएकाले देशमा समयमैध्यान दिन विज्ञहरूले सुझाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपाल र द युनियनले आइतबार राजधानीमा आयोजित कार्यक्रममा विज्ञरूले समयमैध्यान दिनपर्ने र उक्त रोगविरुद्ध लड्न ‘एक्सन’ लिनुपर्ने पनि समय आएको बताए ।
रोग नियन्त्रणका लागि आयोजना गरिएको सो कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले विकसित मुलकहरूमा नसर्ने रोग कम हुँदै गएकोले नपालमा कामै सुरु हुन नसकेको बताए । सोही क्रममा क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले नसर्ने रोग धेरै बढिरहेकोले क्यान्सर रोग नियन्त्रण गर्न पनि आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले ‘साइलेन्ट किलर’को रुपमा रहेको मधुमेहले युवा अवस्थामै गाँज्न थालेकाले रोग नियन्त्रणमा सरकारी स्तरबाटै पहल हुनुपर्ने बताइन् । अब सुर्तीजन्य पदार्थमा मात्र होइन ‘सुगरी ड्रिक्स’मा पनि ट्याक्स बढाउनुपर्छ’, उनले भनिन्, ‘यसले मुटु, मिर्गौला जस्ता रोग बढाउन मद्दत गरिरहेको छ।’
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले अव्यवस्थित जीवनशैलीका कारण नसर्ने रोग बढेको भन्दै पहिले आफैलाई सुधार्नुपर्ने बताए। सबैले आफैबाट सुरु गरेदेखि यो कम हुने उनको भनाइ थियो ।कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नसर्ने रोग बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने सुर्तीजन्य पदार्थको बिक्रीमा कडाइ गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख महेन्द्र प्रसाद श्रेष्ठ, मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दिपेन्द्ररमण सिंह, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुन्जप्रसाद जोशी, राष्ट्रिय स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेल लगायतलेको सहभागिता थियो ।
प्रतिक्रिया