जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति मुगाबेको निधन

एजेन्सी । जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए ।

उनले करिब चार दशक देशमा शासन गरेका थिए । केही समयदेखि बिरामी अवस्थामा रहेका उनको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । उनका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका छन् ।

सन् २०१७ को नोभेम्बरमा सेनाले उनलाई अपदस्थ गरी नजरबन्द गरेको थियो । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल परेका उनि मुद्दा नचलाई १० वर्षसम्म बन्दी जीवन बिताएका थिए । जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे देशको पहिलो प्रधानमन्त्री निवार्चित बनेका थिए । सन् १९८७ उनि राष्ट्रपति बनेका थिए ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई महत्व दिएर आफ्नो शासनकालको सुरुका वर्षमा उनि निकै लोकप्रिय भएका थिए । तर विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भएको उनिमाथि आरोप लागेको थियो ।

प्रतिक्रिया